|

धनकुटा : धनकुटाको हिलेको विषेशता नै सदावहार चिसो। अझ कात्तिक महिना सुरु भएसंगै हिलेमा जाडो छिप्पिसकेको छ। तर सोमबार राति अबेरसम्म यो ठाउँलाई सांगीतिक कार्यक्रमले तताउनु ततायो। दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको हाउजी बिङ्गो खेल र सांस्कृतिक कार्यक्रममा गायिका इन्दिरा जोशीले आफ्नो प्रस्तुती दिइन्। स्थानीय हिले मावि परिसरमा आयोजित कन्सर्टमा अधिकांश दर्शक टिनएजर्स थिए।

इन्दिराले आफ्ना गीत प्रस्तुत गर्दै गर्दा दर्शकले भने तालिसंगै गीत गाएर साथ दिए। त्यहाँको चिसोलाई छिचोल्दै युवा दर्शक जमात त असिनपसिन भएका देखिन्थे। धनकुटामा आधुनिक, लोक तथा पप सांगीतिक प्रस्तुति नियमित हुँदै आएको छ। तर, त्यस्ता खाले प्रस्तुती युवा पुस्ताले खासै मन पराउँदैनन्। 

गायिका जोशीले युवा पुस्ताले रुचाएका ‘चौबन्दी चोली अनि रातो घाँगर..’, ‘उध्रेको चोली छ है..’ लगायत चर्चित आधा दर्जन गीत प्रस्तुत गरिन्। हिलेमा बन्दै गरेको कवड हल निर्माणका लागि सहयोग गर्न हिले ब्याडमिन्टन क्लबले आयोजना गरेको कार्यक्रममा गायिका जोशीसंगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो। यसैबीच हाउजी बिङ्गो खेलको बिजेताले यमाहाको स्कुटर पाउने छन्। 

आगामी कात्तिक २३ देखि २५ गतेसम्म हिलेमा हुने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि समेत सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एक लाखभन्दा बढी रकम संकलन भएको आयोजक हिले ब्याडमिन्टन क्लबका अध्यक्ष राम गोङ्वाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.