|

काठमाडौं : पछिल्लो समय नेपाली फिल्मले आफ्नो बजार विस्तार गर्दै गएको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा पनि नेपाली फिल्मप्रतिको चासो बढ्दै गएको देखिन्छ। बलिउड तथा हलिउड फिल्मप्रति लालायित हुने युवा पुस्तामा पनि नेपाली फिल्मको मोह झल्किन थालेको छ। राम्रो कथावस्तु, राम्रो प्रस्तुति अनि राम्रा कलाकार भएको फिल्मको व्यापार पनि राम्रै देखिन्छ।

अहिले फिल्ममा अभिनय गरिरहेका केही कलाकारहरू फिल्म निर्माण तथा निर्देशनमा हात हाल्न थालेका छन्। एउटै क्षेत्र अनि उस्तै काम। उनीहरूलाई काम गर्न पनि सजिलो हुने देखिन्छ। लामो समयको अभिनय यत्राबाट सिकेका कुराहरूलाई उनीहरूले त्यहाँ प्रयोग गर्न पाउँछन्। उनीहरू आफूले लामो समय अभिनय गरेको अनुभवलाई सर्टिफिकेट मान्दै फिल्म निर्माण तथा निर्देशनतिर पाइला चाल्न थाल्छन्।

फिल्म निर्माणमा दरिलो कलाकार हुन् भुवन केसी। उनले 'नेपाली बाबु', 'म तिमीविना मरिहाल्छु', 'साथी म तिम्रो', 'ड्रिम्स' जस्ता फिल्म निर्माण गरिसकेका छन्। 'ड्रिम्स'लाई त उनी आफैँले निर्देशनसमेत गरेका थिए। छोरा अनमोल केसी र नवनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर उनले फिल्म 'ड्रिम्स' तयार गरेका थिए। उक्त फिल्म सफल पनि भयो। अभिनयसँगै निर्माणमा सफल कहलिएको नाम निर्देशनमा पनि सफल बन्यो।

उनी अहिले पुन: फिल्म 'कृ' निर्माणमा व्यस्त छन्। 'कृ'मा पनि अनमोलकै मुख्य भूमिका रहेको छ। सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन्। यस फिल्मको यतिबेला छायांकन भइरहेको छ।

नायिका रेखा थापा पनि फिल्म निर्माणको अग्रपंक्तिमा आउने नाम हो। फिल्म 'हिरो'बाट आफ्नो करियर सुरु गरेकी उनले करियरको सुरुवातमै निर्माता छविराज ओझासँग विवाह गरिन्। त्यसपश्चात उनको नाम तथा व्यानरबाट धेरै फिल्म निर्माण भए। तर, लगानी भने छविको थियो। उनीहरूको सम्बन्ध लामो समय टिकेन। उनीहरू छुट्टिन पुगे। तर रेखाले फिल्म निर्माण छोडिनन्। छविसँग छुट्टिएपछि 'हिम्मतवाली', 'रामप्यारी' निर्माण गरिन्। अहिले उनले निर्माण गरेको अर्को फिल्म 'रुद्रप्रिया' प्रदर्शनमा छ।   रेखा अभिनेत्री र निर्माता मात्र नभएर निर्देशक पनि बनिसेकेकी छन्। 'हिम्मतवली' उनी आफैँले निर्देशन गरेकी थिइन्। फिल्मको लगभग आधा छायांकन श्याम भट्टराईको निर्देशनमा सकिएको थियो तर रेखा र श्यामबीच कुरा नमिलेपछि रेखाले श्यामलाई फिल्मबाट आउट गरिन् र आफैँले निर्देशन गरिन्।

त्यस्तै, नायक निखिल उप्रेती पनि फिल्म निर्माणमा सक्रिय देखिन्छन्। उनले 'निशाना', 'भैरव', 'रुद्र' जस्ता फिल्म निर्माण गरिसकेका छन्। निखिल निर्देशक पनि हुन्। उनले फिल्म 'भैरव' निर्देशन गरेका छन्। नायिका संचिता लुइटेलसँग विवाह बन्धनमा बाँधिएर करिव ५ वर्ष नेपाली फिल्म क्षेत्रबाट हराएका उनी आफ्नो कमव्याक फिल्म 'भैरव'लाई नै निर्देशन गरे। उक्त फिल्म सफल पनि भयो।अहिले निखिल नयाँ फिल्म 'कमिटमेन्ट : सिक्स्टी आवर्स'मा व्यस्त छन्। 'कमिटमेन्ट : सिक्स्टी आवर्स'लाई निखिल आफैँले निर्माण तथा निर्देशन गर्न लागेका हुन्। यस फिल्मको अहिले छायांकन भइरहेको छ।

नायिका झरना थापको नाम पनि धेरै फिल्मको निर्मातामा आउँछ। श्रीमान सुनिलकुमार थापाले निर्माण गर्ने प्राय: फिल्ममा उनको नाम जोडिएर आउने गर्छ। झरनाले सुनिलकुमारले निर्माण गरेको फिल्म 'ए मेरो हजुर २'को निर्देशनसमेत गरेकी छन्। उक्त फिल्म सफल भयो। फिल्मको सफलताले झरनाको निर्देशकीय बाटोलाई झन सहज बनाइदियो। 'ए मेरो हजुर २'मा उनले गरेको कामको खुबै प्रशंसा पनि भयो। अहिले झरना अर्को फिल्म निर्देशनको तयारीमा छन्।

हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्म 'छ एकान छ', 'वडा नं: छ', छक्का पञ्जा', 'छक्का पञ्जा २' निर्माण गरिसकेका छन्। उनीहरूको टिममा थुप्रै हास्यकलाकारको संलग्नता रहेको छ। केदार घिमिरे 'माग्ने बुढा', जितु नेपाल पनि उनीहरूकै टिममा छन्।

दीपाले त फिल्म 'छक्का पञ्जा' र 'छक्का पञ्जा २' निर्देशनसमेत गरिन्। 'छक्का पञ्जा' अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको छ। यस फिल्मले १७ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो। त्यस्तै 'छक्का पञ्जा २' पनि हाल प्रदर्शनमा छ। यस फिल्मको व्यापार पनि राम्रै छ।

नायिका करिश्मा मानन्धर पनि फिल्म निर्मात्री हुन्। उनले फिल्म 'फागु' निर्माण गरेकी छन्। तर यो फिल्म फ्लप भयो। अहिले करिश्मा फिल्म निर्माणभन्दा पनि राजनीतिमा बढी सक्रिय देखेन्छिन्। उनी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालमा आबद्ध छन्।

नायिका ऋचा शर्माले पहिला 'भिजा गर्ल'मा सहायक निर्मात्रीको रूपमा केही लगानी गरेकी थिइन्। यसै वर्षको जेठमा उनी निर्मित अर्को फिल्म 'आधा लभ' प्रदर्शनमा आयो। यस फिल्ममा भने ऋचाको लगानी राम्रै थियो। तर फिल्मले राम्रो व्यापार गर्न सकेन। अहिले ऋचा फेरि अर्को फिल्म निर्माणमा लागेकी छन्।

नायिका निशा अधिकारीले पनि फिल्म 'झ्यानाकुटी' निर्माण गरेकी छन्। निशाको लगानीमा निर्माण भएको फिल्म 'झ्यानाकुटी' मंसिर १ गतेबाट प्रदर्शनमा आउँदै छ। त्यस्तै 'कोहिनूर'की सहायक निर्मात्री श्वेता खड्काले पनि फिल्म 'कान्छी' बनाउँदै छन्। 'कान्छी'को छायांकन भने सकिइसकेको छ। यस फिल्ममा श्वेता र दयाहांङ राई मुख्य भूमिकामा देखिँदै छन्। यो फिल्म माघको २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
नायक रमेश उप्रेतीले पनि फिल्म 'ऐश्वर्य' निर्माण गरेका छन्। उनको फिल्म यही कात्तिक ९ गतेदेखि प्रदर्शनमा आउँदै छ। त्यस्तै, नायिका केकी अधिकारीले पनि फिल्म निर्माण गर्न लागेकी छन्। उनले निर्माण गर्ने फिल्मको नाम 'कोहलपुर एक्सप्रेस' राखिएको छ। यस फिल्मको छायांकन कात्तिकको दोस्रो हप्ताबाट सुरु हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.