|

बाँकेः बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म ३२ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टे बढेपछि उक्त क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी दिए। उनले राप्ती–सोनारी गाउँपालिकाका वडा नंं. २, ३, ४ र ५ का नरैनापुर, डुडुवा र बैजनाथ गाउँपालिकामा मलेरियाको संक्रमण देखिएको बताए। ‘अन्य ठाउँका मानिसमा पनि मलेरियाको संक्रमण देखिएको छ, तर बाढी प्रभावित क्षेत्रमा यसको संक्रमण बढी देखिएको छ’, शर्माले भने। 

उनले दसैँ, तिहारका बेला मानिसको आवतजावत र ओहोरदोहोर धेरै हुने भएकाले मलेरियाको संक्रमण फैलिने गरेको बताए। उनले बाढी प्रभावित क्षेत्रमा लामखुट्टे वृद्धि भएकाले साविकका कचनापुर, बैजापुर, बिनौना, होलिया, गंगापुर गाविसमा मलेरियाको संक्रमण देखिएको बताए। ‘बाढीपछि बढेको फोहोर र पानीका कारण लामखुट्टे पैmलिएर मलेरियाको संक्रमण बढाएका हुन्’, उनले भने। 

मलेरिया लागेकालाई खोज्दै जनस्वास्थ्य
मलेरियाको संक्रमण देखिएकाहरूको नेपालगन्जस्थित भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ। मलेरियाको संक्रमण भएकाहरूको खोजी गरी अस्पतालमा पु¥याउने र शंका लागेका ब्यक्तिको रगत परीक्षणमा जिल्ला जनस्वास्थ्यले सघाउँदै आएको भेक्टर कन्ट्रोल सहायक शर्माले बताए।

उनले मलेरियाको शंका लागेका बिरामीको स्थानीय स्वास्थ्य चौकीमा रगत परीक्षण गरिनुका साथै कडा खालका बिरामीलाई नेपालगन्जमा ल्याएर उपचारमा सहयोग गरिरहेको बताए। ‘सिकिस्त बिरामीको उपचार र शंका लागेका बिरामीको रगत परीक्षण तथा नयाँ बिरामीको खोजी कार्य जारी छ’, उनले भने। 

मलेरिया नियन्त्रणका लागि कीटनाशक औषधि स्प्रे
बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोगबाट बढी प्रभावित राप्ती–सोनारी गाउँपालिकाका विभिन्न वडामा मलेरिया र कालाजार रोग नियन्त्रणका लागि कीटनाशक विषादी छर्किने अभियान थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काका अनुसार राप्ती–सोनारी गाउँपालिका वडा नंं. २, ३ ४ र ५ का १२ हजार जनसंख्याका दुई हजार १०० घर र दुई हजार १०० गोठमा कीटनाशक बिषादी छर्किने कार्य जारी रहेको छ। 

कीटनाशक बिषादी छर्किने (स्प्रे) कार्य असोज १३ गतेबाट सुरु भएको हो। ‘अन्यत्र बाढी पसे पनि मलेरियाको संभावना यी क्षेत्रमा भएकाले यतातिर बिषादी छर्किएका हौँ’, उनले भने। उनले अहिलेलाई कीटनाशक बिषादी छर्किने कार्य सकिन लागे पनि आवश्यक परे अन्यत्र पनि बिषादी छर्किने जानकारी दिए। एक पटक छर्केको बिषादीले तीन महिनासम्म काम गर्ने खड्काले बताए। 

हालसम्म एक हजार ७५३ घर र एक हजार ७५६ गोठमा बिषादी छर्किने कार्य सम्पन्न भइसकेको खड्काले जानकारी दिए। उनले कात्तिक ९ गतेभित्र बिषादी छर्केर सकिने बताए। ‘हालसम्म लक्ष्यको ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ, दुई दिनभित्र तोकिएका सबै घर र गोठमा बिषादी छर्केर सकिन्छ’, उनले भने, ‘तोकिएको भन्दा धेरै घर र गोठ फेलापरेपछि बिषादी छर्किन समय लाग्यो।’ 

बिषादी छर्केपछि सर्वसाधारणलाई राहत
जिल्ला जनस्वास्थ्यले कीटनाशक बिषादी छर्केपछि लामखुट्टे कम भएको राप्ती–सोनारी गाउँपालिका– २, टिकुलीपुरका हरिभक्त पौडेलले बताए। उनले बिषादी छर्केपछि झुल नलगाई पनि सुत्न सकिने अवस्था रहेको बताए। 

उनले बिषादी छर्केपछि राहत मिलेको बताउँदै साउन, भदौमा बिषादी छर्केको भए अझ उत्तम हुने बताए। ‘पहिलेको जस्तो लामखुट्टे लाग्दैनन्, अहिले लामखुट्टे नै छैनन् भने पनि हुन्छ’, उनले भने।

कीटनाशक औषधि नछर्केको ठाउँमा झुल वितरण
कीटनाशक औषधि नछर्किएको ठाउँमा झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा करिव २० हजार झुल वितरण गरिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सहायक शर्माले जानकारी दिए। 

उनले नियमित कार्यक्रमअन्तर्गत फत्तेपुर, बिनौना, बैजापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा २० हजार कीटनाशक झुल वितरण गरेको बताए। बाढीले झुल बगाएको ठाउँमा थप करिव एक हजार थान झुल वितरण गरिएको शर्माले बताए। ‘मलेरिया र कालाजारबाट जोगाउन बाढी प्रभावित क्षेत्रमा झुल वितरणसमेत भएको छ’, उनले भने। 

मलेरिया रोगबारे सर्वसाधारण अनभिज्ञ
जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया र कालाजारविरुद्ध बाढी प्रभावित क्षेत्रमा बिषादी छर्किरहेको बेला बाढी प्रभावित अधिकांशलाई मलेरिया रोगको बारेमा जानकारी नै छैन। मलेरिया रोग रसर्ने माध्यमको बारेमा आफूलाई जानकारी नभएको राप्ती–सोनारी गाउँपालिका– २, शम्शेरगन्जकी रूपा थारूले बताइन्। 

उनी जस्तै राप्ती–सोनारी गाउँपालिका– २ टिकुलीपुरकी देविका जैसीले पनि मलेरिया रोग र सर्ने माध्यमको बारेमा आफूलाई जानकारी नभएको बताइन्। लामखुट्टेबाट जोगिन झुल लगाए पनि मलेरिया कसरी सर्छ भन्ने जानकारी नभएको उनले बताइन्। ‘मच्छडले टोकेमा मलेरिया रोग लाग्छ भन्ने पहिलो पटक सुन्दै छु’, उनले भनिन्।

उनी बाढी प्रभावित हुन्। बाढीले घरबास उठिबास बनाएपछि उनले सिद्ध साई कुमारी सामुदायिक वनमा आश्रय लिएकी छन्। उनीसँगै सोही ठाउँकी मन्जु विकले पनि सामुदायिक वनमा छाप्रो बनाएर बसेकी छन्। मन्जुले पनि मलेरिया रोग लाग्ने माध्यमको बारेमा आफू जस्तै धेरैलाई जानकारी नभएको बताइन्।

उनले मलेरिया रोगबाट बच्ने उपाय र सर्ने माध्यमको बारेमा सचेतना आवश्यक भएको बताइन्। सचेतना नभएका कारण कतिपयले झुल नलगाएर सुत्ने गरेको उनले सुनाइन्। ‘मच्छडको विगविगी छ, मच्छडले टोक्दा मलेरिया र कालाजार सर्छ भन्ने जानकारी छैन, जानकारी नभएका कारण यसको संक्रमण अझ बढ्न सक्छ’, उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.