|

काठमाडौं: आगामी मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले १३ नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले गोरखा- २ र सिन्धुपाल्चोक- २ बाहेक ३५ वटा क्षेत्रमा प्रतिनिधिसभातर्फ दलका उम्मेदवारहरू अघि सारेको छ।

पहिलो चरणमा हुने निर्वाचनमा कांग्रेसले एक नम्बर प्रदेशको ताप्लेजुङ र भोजपुरमा नयाँ अनुहारलाई प्रतिष्पर्धामा उतारेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा कांग्रेसले केशवप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ। गत स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिकाको प्रमुखमा उम्मेदवार भएका दाहाल प्रतिनिधिसभाको निर्वाचनमा एमाले केन्द्रीय सचिव योगेश भट्टराईसँग प्रतिष्पर्धा गर्दै छन्। दाहाल स्थानीय तहमा उम्मेदवार भएर पुन: प्रतिनिधिसभामा उम्मेदवार हुन पाउने संभवत: एक मात्र कांग्रेसका उम्मेदवार हुन्।

कांग्रेसले स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा वा प्रदेशसभाको उम्मेदवार नबनाउने निर्णय गरेको थियो। तर दाहालको हकमा कांग्रेसको सो निर्णय कार्यान्वयन भएन। प्रतिनिधिसभामा उम्मेदवार हुन अन्यले चाहना नगरेपछि दाहाल आफैँ निर्वाचनमा उठ्न बाध्य भएका हुन्।

नेपाल विद्यार्थी संघको महामन्त्रीसम्म भएका उमेशजंग रायामाझी भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवार हुँदै छन्। संसदीय निर्वाचनमा यो रायामाझीको पहिलो प्रतिष्पर्धा हो। विगतमा लामो समयसम्म कांग्रेसले यहाँबाट संसदीय निर्वाचनमा उम्मेदवार बनाउँदै आएका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी- २ बाट उम्मेदवार हुने भएपछि रायामाझीले यो अवसर पाएका हुन्।

तीन नम्बर प्रदेशको रामेछापबाट प्रतिनिधिसभामा प्रतिष्पर्धामा उत्रिएका कान्छाराम तामाङ पनि नयाँ अनुहार हुन्। निर्माण व्यवसायमा संलग्न तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। रामेछाप क्षेत्र नं.- १ बाट अघिल्लो संविधासभा निर्वाचनमा आङटावा शेर्पा कांग्रेसबाट आकांक्षी नभएपछि तामाङले कांग्रेसबाट टिकट पाएका हुन्।

दोलखाबाट समेत कांग्रेसले नयाँ अनुहारलाई प्रतिनिधिसभामा प्रत्यासीको रूपमा अघि सारेको छ। कांग्रेस दोलखाका सभापतिसमेत रहेका रुद्रबहादुर खड्कालाई कांग्रेसले उम्मेदवार बनाएको हो। एक दशक लामो अमेरिका बसाइपछि नेपाल फर्किएका खड्का निर्माण व्यवसायी हुन्।

रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार भएका मोहन आचार्य पनि नयाँ अनुहार हुन्। ‘क’ वर्गको रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्य कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। धादिङ क्षेत्र नम्बर- १ बाट कांग्रेसले महाधिवेशन प्रतिनिधि विश्व अर्याललाई नयाँ अनुसारको रूपमा चुनावी मैदानमा उतारेको छ। कांग्रेसको म्याग्दी सभापति खमबहादुर खर्बुजा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन्।

कांग्रेसले पूर्वी रुकुममा प्रतिनिधिसभामा उम्मेदवार बनाएको हरिशंकर घर्तीमगर पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा उठ्दै छन्। कांग्रेसले देवेन्द्र शाहीलाई नयाँ अनुहारको रूपमा जुम्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउँदै छ। शाही पार्टीको जिल्ला सभापति हुन्।

हुम्लाबाट कांग्रेसको महाविधेशन प्रतिनिधि चुनिएका मंगल शाही यो पटक प्रतिनिधिसभा निर्वाचनमा अन्य दलका उम्मेदवारसँग प्रतिष्पर्धा गर्दै छन्। दार्चुलाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका पार्टीका पूर्व जिल्ला सभापति विक्रमसिंह धामी पहिलो पटक संसदीय निर्वाचनको प्रतिष्पर्धामा उत्रिएका छन्।

कांग्रेस बाजुराका सभापति कविराज पण्डित पनि सो जिल्लाबाट प्रतिनिधिसभामा पहिलो पटक प्रतिष्पर्धामा उत्रँदै छन्। पण्डितले पहिलो पटक संसदीय निर्वाचनमा पार्टी केन्द्रीय सदस्य तथा यूवा नेता बद्री पाण्डेलाई पछि पार्दै टिकट हात पार्न सफल भएका हुन्। डोल्पाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार भएका अंगद बुढा भने अहिलेका उम्मेदवारमा सबैभन्दा नयाँ हुन्।

उनले गत संविधानसभा निर्वाचनमा एमालेको उम्मेदवार भएर पराजय भोगका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा पराजित हुनेवित्तिकै नेपाली कांग्रेसमा प्रवेश गरेका अंगद शाही पार्टी विधानविपरीत जिल्ला सभापति हुन पाउने थोरै भाग्यमानीमध्ये एक हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.