|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन बनाएर आफूहरुले कांग्रेसलाई गुन लगाएको बताएका छन्। पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठबन्धन बनेपछि कांग्रेसभित्रको झगडा सबै मिलेको र नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता समेत भएकाले कांग्रेसलाई गुन लगाएको बताएका हुन्।

'बाम लोकतान्त्रिक गठबन्धन बनाएर कांग्रेसलाई पनि गुन लगाएका छौं। कांग्रेसभित्र अराजकताजस्तो, अस्तव्यस्त जस्तो थियो। कांग्रेसभित्रको झगडा सबै मिलेको छ। वाम गठबन्धन  बनेपछि विजय गच्छदारहरु कांग्रेसमै फर्किनुभयो' उनले भने 'कांग्रेस चिन्तित हुने होइन खुशी हुनुपर्छ।'

वाम गठबन्धन बनाएकोमा कांग्रेस त धन्यवाद दिनुपर्ने प्रचण्डले बताए। 'कांग्रेसले त हामीलाई धन्यवाद दिनुपर्छ। फुटेर गएकालाई पनि फिर्ता बोलाइदियौं' उनले भने। वाम गठबन्धनबारे अनेक भ्रम छरिए पनि आफूहरु लोकतन्त्र र संविधान भन्दा बाहिर जाने कल्पना पनि नगर्न उनले आग्रह गरे। वाम गठबन्धनका कारण अब देशमा बहुमतको निर्वाचित सरकार बन्ने सम्भावना प्रबल भएको पनि प्रचण्डले बताए।

पहिलो चरणमा वाम गठबन्धन शत प्रतिसत सफल भएको पनि उनले बताए। 'केही ठाउँमा नाम फिर्ता लिने अवस्था बने पनि पहिलो चरणमा गठबन्धन शत प्रतिशत नै सफल भएको छ' उनले भने ' दोस्रो चरणको पनि ९० प्रतिशत काम सफलतापूर्वक सम्पन्न भएको छ। बाँकी १० प्रतिशत आज बेलुका र भोलि बिहान टुंग्याउँदैछौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.