|

बैतडी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी भवगती मन्दिरमा कार्तिक जात्रा सम्पन्न भएको छ। शनिवार मन्दिरमा विशेष पूजाआजा गरिएसँगै राँगा तथा बोकाको बली चढाएर जात्रा सम्पन्न गरिएको हो।  

स्थानीय भाषामा रणसैनीको नामले प्रसिद्ध त्रिपुरा मन्दिरको दर्शन गर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र छिमेकी भारतको उत्तराखण्ड राज्यका विभिन्न ठाउँबाट पनि भक्तजन आउने गर्छन्। गत वर्षभन्दा यो वर्ष दर्शनार्थीको चाप बढी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

मन्दिरमा विभिन्न ठाउँबाट स्थानीयले त्रिपुरा भगवतीको जयजयकार गर्दै बाजागाजासहित जात्रा बोकेर ल्याउने गर्छन्। यस्तै मन्दिरमा रहेका सुनका गरगहना भगवतीको प्रतिमामा चढाएर मन्दिर परिक्रमा गर्ने चलन छ। पुजारी र धामीझाँक्रीहरुले सुनका गरगहना प्रदर्शन गर्छन्। यो क्रममा दर्शनाथीले फूल अक्षताले पुज्ने गर्छन्। 

त्रिपुरा भगवतीको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। कार्तिक शुक्ल नवमी यो जात्रामा यसपटक ६८ राँगा र एक सयभन्दा बढी बोकाको बलि दिइएको  छ। सुदूरपश्चिमका सात भगवतीमध्ये रणसैनी भगवती एक हुन्। 

जिल्लाका रौलाकेदार, सिगास धुरा, राताशिला, शिवनाथ, महारुद्र मन्दिर, ईश्वरी गंगाधाम, तल्लादेही, मल्लादेही भिटाकेदार मन्दिर, सुरपालमन्दिर लगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा पूजाआजा तथा जात्रा हुने गरेको छ। कार्तिक शुक्ल अष्टमीका दिन धेरै मन्दिरमा पूजाआजा तथा जात्रा हुने गरेको छ। केही मन्दिरमा कार्तिक शुक्ल पूर्णिमामा विशेष पूजा हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.