|

काठमाडौं : मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दलहरुले उम्मेदवार चयन गरेर म माग्न थालिसकेका छन्। नेकपा एमाले र माओवादी सम्मिलित वाम गठबन्धनले यी जिल्लामा दुई पार्टीको संयुक्त चुनाव प्रचार टोली गठन गरी मत माग्न गइसकेका छन्। 

पहिलो चरणमा चुनाव हुने ३७ प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १६ जना उम्मेदवार पाएको छ। त्यस्तै ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३२ वटामा आफ्नो उम्मेदवार उठाउको छ भने अन्य क्षेत्रमा एमाले उम्मेदवारलाई सघाउनुपर्नेछ।

पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले केही ठूला नेताहरुलाई पनि उम्मेदवार बनाएको छ। यसरी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनेमा पूर्वसभासददेखि पूर्वमन्त्रीसम्म छन्। पार्टीका तर्फबाट कुलप्रसाद केसी, शालिकराम जम्मकट्टेल, महेन्द्रबहादुर शाही, टंक आङबुहाङ लिम्बु, नरेश भण्डारी र राधिका तामाङ, तेजबहादुर ओली, अमर तमू लगायतका नेताले प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। 

सभासद र मन्त्रीसमेत भइसकेका नेताले प्रदेशसभामा उम्मेदवारी दिनुलाई महत्वका साथ हेरिएको छ। तीमध्ये केहीलाई माओवादीले मुख्यमन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि चलेको छ। कतिपय ठाउँमा भने एमालेसँगको गठबन्धनका कारण भागबण्डा मिलाउन पनि प्रभावशाली नेतालाई प्रदेशमा उठाइएको पार्टीभित्र चर्चा छ। प्रदेशसभामा उम्मेदवार बनेका केही शीर्ष नेताहरु यी हुन्।

१. कुलप्रसाद केसी

केसी नेकपा माओवादी केन्द्रका कार्यालय समिति सदस्य हुन्। उनी मंसिर १० मा हुने पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ निर्वाचनमा उम्मेदवार छन्। उनी पार्टीका प्रभावशाली युवा नेताका रुपमा चिनिन्छन्। उनी माओवादीको तत्कालिन जनयुद्धमा जनमुक्ति सेनाको कमिसारका रुपमा काम गरेका थिए। शन्ति प्रक्रियामा आएपछि उनी पार्टीको युवा दस्ता वाईसीएलको इञ्चार्ज समेत भए।

माओवादी पार्टी विभाजन हुँदा मोहन वैद्य किरणसँगै नेकपा-माओवादीमा गएका उनी गत वर्ष पार्टी एकीकरण हुँदा रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्रमा फर्किएका हुन्। सोनामले आफू प्रदेशको नेतृत्व गर्नका लागि प्रदेशसभमा उम्मेदवारी दिएको बताए। पार्टीको तर्फबाट ५ नम्बर प्रदेशको  मुख्यमन्त्री दावेदार आफू पनि रहेको बताए। थाहाखबरसंग उनले भने,‘रोल्पा, रुकुम भनेको हाम्रो आधार इलाका हो। सहकार्य हुँदाहुँदै पनि यहाँ (मुख्यमन्त्रीमा) मेरो दावी रहन्छ।’ 

२. शालिकराम जम्कट्टेल

मजदूर राजनीतिबाट चर्चामा आएका जम्कट्टेल माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष एवम् माओवादी धादिङका इञ्चार्ज हुन्। उनी प्रदेशसभा सदस्यका लागि धादिङ क्षेत्र नम्बर १ को २ बाट प्रत्यक्षतर्फ वाम गठबन्धनका साझा उम्मेदवार हुन्।

जम्कट्टेलले २०६४ को संविधानसभा निर्वाचनमा साविकको धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएका थिए। यद्यपी २०७० मा भने उनी पाण्डेसँगै पराजित भए। साविक ३ नम्बर क्षेत्र अहिले धादिङको निर्वाचन क्षेत्र नं. १ हो।

यहाँ साविकको २ नम्बर क्षेत्रका केही भू–भागसमेत समेटिएको छ। जम्कट्टेल प्रतिनिधिसभा सदस्यका लागि नै उम्मेदवार बन्ने तयारीमा थिए। तर, केन्द्रबाटै भएको एमाले–माओवादी तालमेलमा धादिङका दुवै क्षेत्र एमालेको भागमा परेपछि उनी प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।

यसपटक रोचक त के भएको छ भने उनीसँग २ पटक प्रतिस्पर्धा गरेका एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डे धादिङ १ (क) बाट प्रदेशसभा सदस्यका लागि नै उम्मेदवार छन्।

३. महेन्द्रबहादुर शाही

वर्तमान सरकारमा पहिले उर्जा मन्त्रालयको जिम्मेवारीमा रहेका शाही हाल विना विभागीय मन्त्री छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्तावका प्रस्तावकको रुपमा उनी चर्चित बनेका थिए। 

कालिकोट जिल्लाबाट २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका उनी यसपटक भने प्रदेशको मुख्यमन्त्री बन्ने योजनासाथ प्रदेशसभामा उम्मेदवार बनेका छन्। मंसिरमा हुने निर्वाचनमा उनले कालिकोट–१ को २ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। 

कालिकोटबाट उनको नाम प्रतिनिधिसभाकै लागि सिफारिस भएको थियो। तर वाम गठबन्धनबाट कालिकोटमा एमालेका कुर्मराज शाही प्रतिनिधिसभा उम्मेदवार बनेपछि उनले प्रदेशसभामा उम्मेदवारी दिए। माओवादी सेनाको पूर्वलडाकु कमान्डर समेत रहेका शाही पार्टी नेता जनार्दन शर्माका विश्वास पात्र मानिन्छन्।

४. नरेश भण्डारी

भण्डारी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीको तर्फबाट जुम्लाबाट प्रत्यक्ष निर्वाचित सभासद हुन्। उनी मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनमा जुम्ला क्षेन नम्बर १ को १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्दैछन्।

उनी पार्टी निकट बुद्धिजीवि संगठनको अध्यक्ष समेत हुन्। उनले कर्णलीको विकास गर्न प्रदेशसभामा उम्मेदवारी दिएको बताए। भण्डारीले भने,‘विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि रोग, भोक र गरिबीका कारण अहिले पनि विकासबाटपछि परेको छ। यस क्षेत्रको विकास गर्न पनि म प्रदेशसभाको निर्वाचन तर्फ अकर्षित भएको हुुँ।’

भण्डारीले २०६४ पछि सभासद रहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अधिकार सम्पन्न प्रदेशसभाबाट कर्णालीको विकास गर्न सकिने उनले बताए।  

५. टंक आङबुहाङ लिम्बु

आङबुहाङ माओवादी केन्द्रका युवा नेता हुन्। उनी मंसिरमा हुने पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनतर्फ ताप्लेजुङ–१ को २ बाट प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। उनी नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष हुन्। आर्थिक अनियमितताको आरोपमा उनी क्यानबाट निलम्बनमा परेका थिए।

लिम्बुलाई पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को विश्वास पात्रको रुपमा लिइन्छ। उनी २०६४ को निर्वाचनमा पार्टीको तर्फबाट ताप्लेजुङका समानुपातिक सांसद हुन्। उनले प्रदेशमा नै बसेर विकट जिल्ला ताप्लेजुङको विकास गर्ने बताए। ‘ताप्लेजुङ भारत र चीनसंग सीमा जोडिएको जिल्ला हो। यो अहिले पनि विकट जिल्लाको रुपमा रहेको छ। त्यसकारण प्रदेशमा रहेरै जिल्लाको विकास गर्न प्रदेशमा उम्मेदवारी दिएको हुँ’,उनले भने। लिम्बुले प्रदेशको मुख्यमन्त्रीका लागि दाबी रहने बताए। लिम्बुले भने,‘सिनियरिटीको आधारमा मेरो पनि प्रदेशको मुख्य मन्त्रीको दावी रहनु स्वभाविक हुन्छ।’

राधिका तामाङ

तामाङले प्रदेशसभाका लागि नुवाकोट क्षेत्र नम्बर १ को १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छन्। उनी पूर्वकृषि राज्यमन्त्री हुन्। तामाङ समुदायबाट पहिलो महिला मन्त्रीको रुपमा उनले परिचय बनाएकी छन्। उनले पार्टीमा प्रभावशाली नेतृको पहिचान बनाएकी छन्। 

यी हुन् मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभातर्फ वाम गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार

  1. टंक आङ्बुहाङ लिम्बु ताप्लेजुङ प्रदेश क्षेत्र नम्बर २
  2. इन्द्रबहादुर आङ्बो पाँचथर प्रदेश क्षेत्र नम्बर २
  3. पूर्णप्रसाद राई संखुवासभा प्रदेश क्षेत्र नम्बर १
  4. रामकुमार राई खोटाङ प्रदेश क्षेत्र नम्बर २
  5. मोहनकुमार खड्का ओखलढुंगा प्रदेश क्षेत्र नम्बर २
  6. विशाल खड्का दोलखा, प्रदेश क्षेत्र नम्बर १
  7. इन्द्रप्रसाद गोतामे रसुवा प्रदेश क्षेत्र नम्बर २
  8. शालिकराम जम्मकट्टेल धादिङ प्रदेश क्षेत्र नम्बर २
  9. जगतबहादुर शिंखडा धादिङ प्रदेश क्षेत्र नम्बर ४
  10. राधिका तामाङ नुवाकोट प्रदेश क्षेत्र नम्बर १
  11. हिरानाथ खतिवडा नुवाकोट प्रदेश क्षेत्र नम्बर ४
  12. युवराज दुलाल सिन्धुपाल्चोक प्रदेश क्षेत्र नम्बर ३
  13. दावा तामाङ सिन्धुपाल्चोक प्रदेश क्षेत्र नम्बर ४
  14. लेखबहादुर थापा गोरखा प्रदेश क्षेत्र नम्बर १
  15. कमला नहर्की गोरखा प्रदेश क्षेत्र नम्बर ३
  16. अम्बरबहादुर गुरुङ गोरखा प्रदेश क्षेत्र नम्बर ४
  17. विनोद  केसी म्याग्दी प्रदेश क्षेत्र नम्बर १
  18. चन्द्रबहादुर बुढा बाग्लुङ प्रदेश क्षेत्र नम्बर ३
  19. तेजबहादुर ओली रुकम पूर्व प्रदेश क्षेत्र नम्बर १
  20. पूर्णबहादुर घर्तीमगर रुकुम पूर्व प्रदेश क्षेत्र नम्बर २
  21. कुलप्रसाद केसी रोल्पा प्रदेश क्षेत्र नम्बर १
  22. दिपेन्द्रकुमार पुन मगर रोल्पा प्रदेश क्षेत्र नम्बर २
  23. वीरबहादुर शाही डोल्पा प्रदेश क्षेत्र नम्बर २
  24. नरेश भण्डारी जुम्ला प्रदेश क्षेत्र नम्बर १
  25. महेन्द्रबहादुर शाही कालिकोट प्रदेश क्षेत्र नम्बर २
  26. विजय भण्डारी हुम्ला प्रदेश क्षेत्र नम्बर २
  27. गणेशप्रसाद सिंह जाजरकोट प्रदेश क्षेत्र नम्बर १
  28. देवकी मल्ल थापा बझाङ प्रदेश क्षेत्र नम्बर २
  29. मानबहादुर धामी दार्चुला प्रदेश क्षेत्र नम्बर २
  30. प्रेमप्रकाश भट्ट बैतडी प्रदेश क्षेत्र नम्बर १  
  31. रातो कामी रुकुम पश्चिम प्रदेश क्षेत्र नम्बर १
  32. गोपाल शर्मा रुकुम पश्चिम प्रदेश क्षेत्र नम्बर २  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.