|

काठमाडौं : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ। प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो। त्यसका लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्ट्याएको छ।

उम्मेदवारी मनोनयन दर्ता गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु जिल्ला जाँदैछन्। यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवा पार्टीको टिकट वितरण अझै नसकिएकाले डडेल्धुरा नजाने उनको सचिवालयले जनाएको छ। देउवाले मनोनयन दर्ताका लागि वारेसनामा पठाइसकेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली उम्मेदवारी दर्ताका लागि गृहजिल्ला झापा जाँदैछन्। ओलीले दिउँसो १ बजे झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उम्मेदवारी दर्ता गरेलगत्तै साढे १ बजे ओलीले चन्द्रगढीमा आयोजित वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ताका लागि बिहानै चितवन पुगेका छन्। चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा रहेका दाहालले दिउँसो मनोनयन दर्ता गराउने उनका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए।

राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिँदैछन्। कांग्रेससँगको तालमेलमा उम्मेदवार बनेका थापा उम्मेदवारी दर्ता गराउन बुधबार नै गृहजिल्ला पुगिसकेका छन्। उनले दिउँसो साढे १२ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने राप्रपा मकवानपुरले जनाएको छ।

कांग्रेस युवा नेता गगन थापाले बिहान ११ बजे नक्सालको नारायणचौरमा भेला भएर र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.