रुपन्देही : आगामी मसिंर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाका लागि बिहीबार रुपन्देहीमा २ सय ५० भन्दा बढीले मनोनयन दर्ता गरेका छन्। पाँच प्रतिनिधि सभा र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि मन्त्री, पूर्व मन्त्री तथा पार्टीका प्रभावशाली नेताहरुको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ३ बाट राप्रपाका वरिष्ठ नेता एवं स्वास्थ्य मन्त्री दिपक बोहोरा, १ बाट कांग्रेस नेता एवं खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन्।
त्यस्तै क्षेत्र नं २ बाट एमालेका प्रभावशाली नेता तथा पूर्व मन्त्री बिष्णु पौडेलको उम्मेदवारी परेको छ। ३ बाट उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी दिएका छन्। क्षेत्र ४ बाट राजपाका बरीष्ठ नेता एवं पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला र ५ बाट नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री भरत कुमार साहको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट एमाले पोलिटव्यूरो सदस्य छविलाल विश्वकर्माले क्षेत्र १ मा उम्मेदवारी दर्ता गरेका छन्।
उक्त क्षेत्रमा यसअघि सविधानसभा निर्वाचनमा पनि कांग्रेसका रज्जाक र एमालेका विश्वकर्माबीच प्रतिस्पर्धा भएको थियो। एकको प्रदेश सभा (१) मा एमाले डा. कृष्ण न्यौपाने र (२) मा माओवादीमा दधीराम न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा राप्रपाका ताहिर अलि र प्रदेशसभा २ काग्रेसका हरि न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट प्रदेश सभा १ र २ मा एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका लागि कांग्रेसका महासमिति सदस्य युवराज गिरीले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभा १ मा काजिमान श्रेष्ठ र प्रदेशसभा २ महेशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट प्रदेश सभा १ मा माओवादी केन्द्रका विश्वास बराल र २ मा एमालेका तुलसीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।
चौधरी विरुद्ध एमालेका प्रदेश कमिटि सदस्य भवानी शंकर सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा १ मा कांग्रेसका देवी चौधरी र २ मा हरिध्वज मल्लले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नं. ३ प्रदेश सभा १ मा कांग्रेस असन्तुष्ट जिल्ला सदस्य ओम श्रेष्ठले चौधरीविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका छन्। यहाँ प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट केन्द्रिय समस्य सूर्यकुमार सारु मगरले उम्मेदवारी दिएका छन्।
संघीय समाजवादी फोरमबाट प्रतिनिधि सभाका लागि जिल्ला अध्यक्ष महेन्द्र यादव र प्रदेश सभा १ का लागि सन्तोष पाण्डेले उम्मेदवारी दिएका छन्। विवेकसिल साझा पार्टीबाट प्रतिनिधि सभाका लागि पार्थिवेन्द्र उपाध्याय र प्रदेश सभा १ का लागि अमित गुप्ताले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. ४ मा प्रतिनिधि सभाका लागि वाम गठबन्धनको तर्फबाट एमाले नेता ओमप्रकाश यादव गुल्जारीले उम्मेदवारी दिएका छन्। प्रदेश सभा १ मा एमालेकी पल्लवी शुक्ला र २ मा सहबुद्धिन देवानले उम्मेदवारी दिएका छन्।
लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले उम्मेदवारी दिएका छन्, भने प्रदेशसभा १ मा अष्ठभुजा पाठक र प्रदेशसभा २ मा बसिउद्धिन खानले उम्मेदवारी दिएका छन्। यहाँ प्रदेश सभा २ मा खाँनको विरुद्ध कांग्रेसका क्षेत्रीय सभापति विरेन्द्र जैसवालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. ५ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका नेता डिलाराम आचार्यले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ मा एमालेका भुमिश्वर ढकाल र २ मा हजरत अलीले उम्मेदवारी दिएका छन्।
यहाँ ढकाल विरुद्ध एमालेका जिल्ला सदस्य मिनप्रसाद घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा १ मा विष्णु पोखरेल र प्रदेशसभा २ मा फकरुदिन खांले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले बताए।
जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन्। निर्वाचन सहज बनाउन २ सय ८ मतदानस्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ अन्तर्गत ४५ मतदानस्थलमा १ सय २७ मतदान केन्द्र छन् भने १ लाख १२ हजार १ सय ३० मतदाता छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।