|

काठमाडौं: ललितपुर क्षेत्र नम्बर- ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल मनोनयन दर्ता गरेको तीन दिनपछि भेट्दा खुसी देखिइन्। २०३६ सालदेखि बसोबास गर्दै आएको र २०६४ सालको चुनावमा विजयी भएकै क्षेत्रबाट उम्मेदवार बन्न पाएकोमा उनी जितप्रति ढुक्क पनि देखिइन्। ‘पहिला पनि यस क्षेत्रमा मैले चुनाव जितेकै हो। यस पटक पनि जित्नेमा ढुक्क छु, कति मत ल्याउँछु भन्नेमात्रै हो। धेरै मत तान्नका लागि आन्तरिक तयारीमा पनि जुटेकी छु’ उनले भनिन्। 

२०६४ सालमा नेकपा माओवादीबाट एक्लै जितेकी पंफा ढुक्क हुनुको सबैभन्दा बलियो आधार उनी नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट साझा उम्मेदवार हुन्। ‘पहिला हाम्रो पार्टीबाट एक्लै त जितेको हुँ। अझ अहिले त एमालेको पनि साथ छ।’ २०६४ सालमा निर्वाचन जित्दा आफूले ललितपुरको विकास निर्माणमा धेरै योगदान गरेको उनी बताउँछिन्।

त्यतिमात्र होइन, आफूले जिल्लाको विकास निर्माणमा पनि धेरै योगदान दिएकाे भुसालको दावी छ। ‘ललितपुरको विकासमा मैले धेरैनै योगदान गरेको छु। यहाँको बाटो, सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माणमा मैले तीन पटक मन्त्रालय सम्हाल्दा पनि योगदान गरेकी छु’उनले भनिन्,‘जनताले भने जस्तो सबै विकास गर्न त कसैले पनि सकिदैन तर सुरुवात गरेँ।' 

भुसालले ललितपुरको ग्रामीण क्षेत्रमा सडक विस्तार, साँघुरा सडक फराकिलो बनाउने, विद्यालयलाई सहयोग गर्ने लगायतका काम गरेको बताउँछिन्।  ‘ग्रामीण क्षेत्रको विद्यालय भवन निर्माणमा होस् या सडकको निर्माणमा होस् म त्यसबेला पनि लागिरहेँ। यहाँ सडकहरु साह्रै साँघुरा थिए। यसलाई फराकिला बनाउन पनि योगदान गरेकी छु’ उनले भनिन्, ‘मैले दोस्रो संविधानसभा बहिस्कार गर्दा पनि यहाँका जनताले मलाई मिस गर्नुभयो।’ २०७० सालको दोस्रो संविधानसभा निर्वाचन भने भुसालले बहिस्कार गरिन्। उनी त्यतिबेला मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीमा थिइन्। 

अब के छ योजना?

२०६४ सालमा पंफाले चुनाव जित्दाको अवस्थाभन्दा अहिलेको अवस्था धेरै फरक छ। पहिला उनले भौतिक संरचना निर्माणमा धेरै चासो देखाएकी थिइन्। तर यस पटक भने उनले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेकी छन्। ललितपुर जिल्ला कला संस्कृतिले भरिपूर्ण जिल्ला हो। आफू निर्वाचित भएमा यस जिल्लाको पर्यटन प्रवर्द्धन गरी विकसित जिल्लाका रुपमा परिचित बनाउने उनको योजना छ। उनी भन्छिन्,‘ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण सहर छ। केही सम्पदामा भूकम्पले क्षति पुर्‍याएको छ। यसको पुनर्निर्माण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मेरो पहिलो उद्देश्य छ।’

यो जिल्लामा संस्कृति संरक्षणसँगै पर्यटनमार्फत आर्थिक संमृद्धिमा सहयोग गर्ने उनको योजना छ। यहाँको काष्ठकला, चित्रकालालाई उद्योगको रुपमा विकास गर्ने उनको लक्ष्य छ। यी विषयलाई उनले आफ्नो घोषणापत्रमा समेत समावेश गरेकी छन्। ललितपुरमा चुनाव जित्नेमा उनी ढुक्क छिन्। तर ढुक्क भएर चुप लागेप बसेकी पनि छैनन्। उनी भन्छिन्,‘निर्विकल्प भन्ने कुरा त केही हुन्न झन् म त द्वन्द्ववादी हो। सबै कुरा सापेक्ष हुन्छ। यदि मैले चुनाव हारे भनेँ पनि म जनताको सेवामा नै लाग्छु। यतिन्जेल राजनीतिक परिर्वतनको आन्दोलन गर्‍यौं', अब आर्थिक विकास र समृद्धिको राजनीतिमा लाग्नुपर्छ। जीवनको चार दशक राजनीतिमा लागेँ, अब बाँकी जीवन राजनीति मार्फत जनताको सेवामा लाग्छु।’

अब आर्थिक समृद्धिको राजनीति

२०७० को दोस्रो संविधानसभा निर्वाचनका क्रममा उनी मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा थिइन्। उनका अनुसार त्यतिबेला पार्टीले संविधानसभाबाट संविधान लेख्न कुनै विरोध गरेको थिएन। तर संविधान लेख्ने प्रक्रिया गलत भएकाले आफूहरुले विरोध गरेको भुसाल बताउँछिन्। उनी भन्छिन्,‘त्यसबेला हामीले गोलमेच सम्मेलनमार्फत संविधान लेख्न माग गरेका थियौं, तर देशले संविधान पाएपछि अब आर्थिक समृद्धिमा लाग्दै देशको विकासतर्फ लाग्नुपर्छ भनेर हामी फेरि पार्टीमा आएका हौं।’

पंफाको घरमा पाँच दिदीबहिनी थिए। त्यसबेला छोरीले पढ्न हुन्न भन्ने सोचाइ थियो, छोरीले स्कुल जाँदा पनि समाजमा कुरा काटिन्थ्यो। तर उनी त्यही सोचको अन्त्य गर्न आन्दोलनमा लागिन्। अर्घाखाँचीको जनज्योति माविमा पढ्दा विद्यालयका शिक्षकहरु पनि धेरै जसो वामपन्थी विचारका थिए। उनलाई वर्गीय आन्दोलनमा लाग्न शिक्षकहरुबाटै हौसला मिल्यो। ‘त्यस बेला दलित, महिला तथा गरिबलाई गरिने ब्यवहार देख्दा मलाई आन्दोलन गर्नुपर्छ जस्तो लाग्थ्यो। म आन्दोलनमा पनि होमिएँ’ उनले झण्डै चार दशकअघिका दिन सम्झिइन्।

२०३६ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि पंफा ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भर्ना भइन्। गाउँबाट काठमाडौं आएर महिलालाई पढ्न धेरै गाह्रो थियो। २०३३ सालमा ८ कक्षामा पढ्दा नै भूमिगत संगठन अखिलको सदस्य भएकाले उनलाई कम्युनिस्ट नेताहरुसंग भेट्न समस्या थिएन। उनी २०३८ सालमा १८ वर्षको उमेरमा पहिलो पटक जेल परिन्। महिलाले पढ्न हुन्न भन्ने समाज, त्यहीमाथि जेल पर्दा उनको घरमा समेत असजिलो भयो। गाउँघरमा छोरीलाई पढाउदा यस्तो भएकोसम्म भने। 

अहिले पनि महिलालाई अवसर पाउन गाह्रो भएको उनी बताउँछिन्। ‘अहिले पनि महिलालाई अवसर पाउन त्यति सजिले छैन। त्यसमा पुरुषको मात्र गल्ती छैन। महिला पनि अघि बढ्न चाहदैनन्’,भुसालले भनिन्। चुनावमा खर्च गर्नका डरले पनि महिलाले कम अवसर पाएको उनी बताउँछिन्। भुसाल भन्छिन्,‘अहिलेको चुनाव त धेरै खर्चिलो भएका कारण महिलाहरु लड्नै चाहदैनन्। चुनाव लड्न चाहेको ठाउँ र जित्न सक्ने ठाउँमा पनि पुरुषले ओभरटेक गर्छन्। केही केही त पितृसत्तात्मक सोचका कारण पनि यस्तो भएको हो।’ 

वाम गठबन्धनले जित्नेमा ढुक्क

अहिले देशमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै गठबन्धन बनाएर चुनावमा सहभागी भएका छन्। अब जनताले विकास चाहेकाले स्थायी सरकारका लागि वाम गठबन्धलाई नै जिताउने भुसालको विश्वास छ। ‘जनताले विकास चाहेका छन्’ भुसालले भनिन्,‘विकासका लागि स्थायी सरकार आवश्यक छ। यसका लागि वाम गठबन्धनलाई जनताले जिताउने छन्।’ नेपालमा ६५ प्रतिशत जनता कम्युनिष्ट विचारधारा राख्ने भएकाले ती सबैले एउटै कम्युनिस्ट पार्टीमा भोट हाल्ने वातावरण बनेको उनी बताउँछिन्। 

भुसाल भन्छिन्,‘६५ प्रतिशत जनताले कम्युनिस्ट पार्टीमा भोट हाल्छन्। दुई पार्टीमा भोट हाल्नु भन्दा एउटै पार्टीमा भोट हाल्ने र शक्तिशाली बनाउने उहाँहरुको चाहना हो। त्यसैले गठबन्धन गरेका हौं। चुनाव लगत्तै पार्टी एकता हुन्छ। यो नेताको मात्र होइन जनताको चाहना पनि हो। पार्टी एकता हुनु भनेको माओवादी एमालेमा जानु होइन र एमाले पनि माओवादीमा आउनु होइन। यो त नयाँ पार्टी बनाउने प्रक्रिया हो।’

ललितपुर क्षेत्र नम्बर ३ मा पंफाका प्रतिस्पर्धी छन् नेपाली कांग्रेसका नेता मदनबहादुर अमात्य, जो २०७० सालको संविधानसभा निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। यसपटक पंफाको चुनौती पनि उनै हुन्। तर पंफा भने प्रतिस्पर्धामा आफू अघि रहेको दावी गर्छिन्। ‘म व्यक्तिको आलोचना गर्दिन। तर उहाँलाई जनताले एक पटक अवसर दिनुभएको हो। तर त्यत्रो विकास गरेजस्तो मलाइ लाग्दैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.