|
फोटो साभार : Pahilopost.com

दार्चुला : निर्वाचन आयोगले व्यासबासीका लागि अस्थायी मतदान केन्द्रको अनुमति दिन नसकेपछि उक्त क्षेत्रका मतदाताहरु मतदानबाट बञ्चित हुने अवस्था सिर्जना भएको छ।

विगतका आम चुनावमा खलंगामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्दै आएका व्यासबासीका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान गर्न अस्थायी मतदान केन्द्र राख्न नसकिने जनाएपछि उनीहरु वञ्चित हुने अवस्था आएको हो।

व्यास क्षेत्रमा हिउँ पर्न थालेको छ। हिउँ परेसँगै त्यहाँका बासिन्दा सदरमुकाम झर्छन्। छ महिना व्यास र छ महिना खलंगा बस्ने यहाँका वासिन्दाको खलंगा झर्ने समय र मतदानको समय सँगै पर्न गएको छ। चिसो बढेसँगै व्यासमा बस्न नसिक्ने भएपछि मतदाताहरु खलंगा झर्न सुरु गरेका हुन्। अहिलेसम्म व्यासमा रहेका मतदाता पनि खलंगा झर्ने तयारीमा छन्। दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० गते हुदैछ।

भारतीय अनुमति थप समस्या

चिसोमा खलंगा झर्नुपर्ने र खलंगामा अस्थायी मतदान केन्द्र नहुँदा मात्रै नभएर भारतीय अनुमति पत्रका कारण पनि व्याँसी समुदाय मतदानबाट बञ्चित हुने अवस्थामा पुगेका छन्।

मंसिर १० अर्थात नोभेम्बर २६ तारिकका दिन व्यासमा मतदान गरेर खलंगा झर्न व्यासबासीलाई भारतीय अनुमति पत्रले समस्या थपेको हो। व्यासबासीले खलंगाबाट व्यास पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्छ। भारतीय बाटो प्रयोग गर्दा भारतीय प्रशासनबाट अनुमति पत्र लिनुपर्ने तथा उक्त अनुमति पत्रको म्याद नोभेम्बर ३० सम्म मात्रै हुन्छ। नोभेम्बर २६ मा मतदान गरेर कुञ्चा सार्ने तयारी गर्नुपर्ने र भारतीय बाटोमा गाइवस्तुसँग हिँड्दा झण्डै ५ दिन लाग्ने हुन्छ। यस्तो अवस्थामा बहुयात्रा अनुमति पत्रको म्याद सकिनेछ र नागरिकले थप समस्या झेल्नुपर्ने एमाले नेता जहेन्द्र ऐतवाल बताउँछन्।

बहुयात्रा (गाईवस्तुसहित) अनुमति पत्रको म्याद सकियो भने भारतीय सुरक्षाकर्मीले भारतीय बाटो प्रयोग गर्न दिदैन। यसले मतदान गर्न व्यासमै बस्ने मतदाताहरुलाई थप समस्या पर्ने र आधा जसो मतदाता खलंगा झरिसकेकाले ब्यासीमा बसोबास गर्ने सौका समुदायका नेताहरुले निर्वाचन कार्यालयसँग अस्थायी मतदान केन्द्र तोक्न यसअघि नै अनुरोध गरेका थिए। तर निर्वाचन कार्यालयले अहिलेसम्म अस्थायी मतदान राख्ने नराख्ने सम्बन्धमा कुनै जानकारी नदिएको वीरेन्द्र तिंकरीको भनाइ छ।

आफूहरुले दार्चुलाको वस्तुस्थिति निर्वाचन आयोगलाई लेखि पठाएको र निर्वाचन आयोगले मतदान केन्द्र सार्ने अनुमति दिन नसिकिने जवाफ दिएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिए। 'सामान्य अवस्थामा निर्वाचन आयोगले मतदान केन्द्र सार्न देला जस्तो छैन, राजनीतिक पहल गर्न सकियो भने आयोगले पुनर्विचार गर्न सक्छ' उनले भने।

यसअघिको अवस्था

स्थानीय तहमा व्यासकै दुई मतदान केन्द्रमा स्थानीयले मतदान गरेको भए पनि बहुदलीय व्यवस्थाको पुनर्स्थापनादेखि २०७० सालसम्म भएको निर्वाचनहरुमा व्यासबासीले खलंगाकै अस्थायी मतदान केन्द्रमा मतदान गर्ने गर्दथे।

२०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन, २०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचन तथा २०७० को दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा समेत खलंगामा रहेको कैलाशपति निमावि छाङ्रुमा व्यासबासीहरुले मतदान गरेका थिए।

'हरेक राष्ट्रिय निर्वाचनमा हामीले खलंगामा रहेको मतदान केन्द्रमा मतदान गरेका थियौं तर यो पटक आयोगले किन स्वीकृति दिएको छैन? बुझ्न नसकिएको छैन' एमाले नेता जहेन्द्र ऐतवालले भने। अस्थायी मतदान केन्द्र स्थापना गर्न नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहरासहित व्यासी समुदायका नेताहरुले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा मूख्य निर्वाचन अधिकृतको कार्यालयसँग छलफल गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.