|

धनकुटा :  धनकुटामामा मात्र बसोबास गर्दै आएका आठपहरिया राईहरु अाफ्नो प्रमुख चाड वाडाङ्मी मनाउन व्यस्त छन्। कात्तिक पूर्णिमामा सुरु भएको यो चाड औंसीसम्म मनाइन्छ। आठपहरिया राईहरुको समुदायमा वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उतार्ने यो एक मात्र पर्व हो। 

वर्षभरिमा मृत्यु हुनेका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री  खाैरेर भगवान् बराहको दर्शन गरी बरखी फुकाउने चलन छ। यो चाडमा बुबा अामाको दु:ख बोक्नेले कपाल काटेर 'दसि' सहित केश बगाउने र छोराछोरी मर्नेका बुबा आमा आएर पनि ती छोराछोरीको नाममा 'दसि' बगाउने प्रचलन रहेको  स्थानीय डेगबहादुर राईले बताए। 

तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्ने चलन छ। अरुले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाइन्छ। 

बरखी सम्पन्न गरी चौथो दिन घर फकिएर नाचगान गरेर यो चाड मनाउने चलन छ। भक्ति गाउने, ढोल, मारुनी, डल्लो नाच नाच्ने यो चाडको विशेषता हो। राँगाको मासु, कुभिण्डो र फिलुगें अचारलगायत याे चाडका परिकार हुन्। 

अन्य जातजातिको भन्दा फरक कलासंस्कृति भए पनि यसको प्रचारप्रसार तथा संरक्षणमा सरकारले चासो नदेखाउँदा आठपहरीया राई जाति चिन्तित छन्। यसको प्रचारप्रसार र संरक्षणमा सबै सरोकारवाला निकाय र सरकारी पक्षले चासो लिनुपर्नेमा अहिलेसम्म केही नगरेको डम्बर राईले दुखेसो गरे। 

यो पर्वमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको आठपहरिया राई समुदायको गुनासो छ। धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.