|

  • गोपाल झापाली-

दमकः काठमाडौंका दर्शकको माया बटुलिसकेको नाटक ‘लाटीको छोरो’ले झापाका दर्शकको पनि साथ पाएको छ। कात्तिक २४ देखि २९ गतेसम्मका लागि झापाको विर्तामोडमा मञ्चनको तय गरिएको नाटकको निर्माण टोली दर्शकको बढ्दो उपस्थितिका कारण केही दिन समय बढाउने तयारीमा पुगेको छ। 

सुन्दर बजारको कुरूप चित्र
‘अब्बा’ कथासंग्रहमा रहेको श्याम शाहको कथालाई सुलक्षण भारतीले नाटकमा उतारेर निर्देशन गरेका हुन्। यसमा समाजमा कायम विभेद, अन्याय, निमुखाप्रतिको शोषणको प्रतिबिम्ब उतारिएको छ। 

एउटी बोल्न नसक्ने किशोरीमाथिको यौन शोषण, उनीमाथि खनिएको प्रहरी प्रशासन, सामाजिक अगुवा, व्यवसायी, धार्मिक अगुवा, राजनीतिज्ञहरूको मिलेमतोले समाजमा पारेको भ्रम अनि सामाजिक न्याय प्रणालीको कुरूप चित्र नाटकमा प्रस्तुत छ। 

कथामा एउटा सुन्दर बजारको पृष्ठभूमिमा नाटक विकसित भएको छ। तर समाजका प्रभावशाली सबैले यौन शोषण गरेको अनि ती ‘लाटी’ गर्भवती भएपछि त्यसको दोष भने एउटा निमुखा सुर्जा डोममाथि खन्याइएको छ। सुर्जा डोमको भेषमा कलाकार कुन्दन थारू अन्याय र विभेदको घानमा पिसिएका आम नेपालीको प्रतिनिधिका रूपमा नाटकमा प्रस्तुत भएका छन्। 

कलाकार र भूमिका
नाटकमा लाटीको भूमिका निर्वाह गरेकी केनिपा सिंहले नायकत्व प्रदान गरेकी छन्। डेढ घण्टाको नाटक उनकै सेरोफेरो बगेको छ। एक त महिला अनि बोल्न नसक्ने हुनु, यस्ता पात्रहरूमाथिको आम शोषणको प्रतीक उनी बनेकी छन्। 

व्यसायको धाकमा समाजको न्याय प्रणाली खरिद गर्ने सीताराम अग्रवालको भेषमा रंगमञ्च डेव्यू गरेका राजन काफ्ले छन्। समाजको मार्गदर्शक बन्नुपर्ने तर यौन प्यासले बाटो बिराएको शिक्षक बनेका छन्, सन्देश लामिछाने। समाजका प्रभावशाली पात्रका प्रवृत्तिबारे सबै थाहा पाएको तर निरीह नेपालीको भूमिका मिठाइलाल यादव बनेर आयन खड्का नाटकमा खेलेका छन्। 

व्यभिचारी प्रहरी सहायक निरीक्षक रियर राई बन्दा उनको चाटुकार प्रहरी बच्चु हवल्दारको भूमिकामा प्रकाश दाहाल छन्। पुनीत अग्रवालको भूमिकामा सुदीप खतिवडा देखिएको नाटकमा उनकै शोषणको जाँतोमा पिसिएकी पात्र हो, पवित्रताको प्रतीक पवित्रा बनेकी पशुपति राई। यस्तै सपन चौधरी, अर्चना पन्थी, रोशन सुवेदीलगायतका कलाकारहरू रहेको नाटकमा खलनायकत्वको शिखर व्यक्तित्व बनेका छन्, नेपाली रजतपटमा खुंखार खलनायकको भूमिका बनाएका टीका पहाडी।

छोटो भूमिकामा लाटीको छोरो बनेर उभिएका बाल कलाकार रियान भण्डारीको निधारमा एउटा कोठी छ, जुन कोठी सबैलाई भ्रमका तन्नामा सुकाएर आफ्नो खलधन्दा चलाउने बिषनाथ जी अर्थात टीका पहाडीको दुरुस्तै। त्यसैले विना संवाद बुझिन्छ कि तिनै बिषनाथको बिष नाटकका सबै पात्रमा पुगेको छ। तर उनको बिनमा सर्प नाचेझै सिंगो सुन्दर बजार नाचिरहँदा लाटी र लाटीका छोराहरू अन्यायको घानमा परेका छन्। 

शव्दबिहीनताको शक्ति
नाटक अवधिभरि सबैभन्दा बढी देखाइएको तर शब्दको कहीँ प्रयोग नभएको शक्तिशाली पात्र हो, नाटकको बोल्न नसक्ने पात्र ‘लाटो।’ त्यो भूमिकामा छन्, कलाकार मिलन कार्की। उनले सुन्दर बजारको हरेक दृश्य देखेका छन्। हरेक पात्रको प्रवृत्ति बुझेका छन्। लाटीलाई स्नेह प्रदान गर्ने अग्रवालजीको छोराको प्रेम अनि उसको बाबुलगायत समाजका प्रभावशाली सबैले लाटीलाई गरेको यौन शोषणको एक मात्र साँची पात्र हो। तर, ऊ निशब्द छ। 

घुँडामा घाउ, शरीरमा झुत्रो कपडा अनि आधा कप चियाका भरमा हजाम पेसा। जब बिषनाथको शक्तिको आडमा लाटी, सुर्जा डोम अनि जन्मिदै नजन्मिएको लाटीको छोरोमाथि अन्यायको साङ्लो बुनेको उसले थाहा पाउँछ, बस डाको छोडेर रोइदिन्छ। हलभरिका सयौँ दर्शक स्तब्ध बन्छन्। अभिनयसँगै मिसिएर आउने किसन श्रेष्ठ र सम्यक महर्जनको संगीतले नाटकलाई आँखामा मात्र होइन, हृदयसम्म पुर्‍याउँछ। 

पहाडीको पुनर्जन्म
सवा सय नेपाली चलचित्रमा अभिनय गरेर बलशाली छवि बनाएका टीका पहाडीको रंगमञ्चीय पुनर्जन्म गराएको छ नाटक– लाटीको छोराले। ३६ वर्षअघिसम्म भारतको बम्बैमा ‘एक और दोर्णाचार्य’ जस्ता त्यस बेलाका सफल नाटकको शीर्ष चरित्र निर्वाह गरेका उनले नेपालमा नाटक गर्न पाएकै थिएनन्। तर ओम पुरी, शशि कपुर जस्ता कलाकारका कारण रंगमञ्चको अम्मलमा परेका उनको त्यो तलतल उनले ३६ वर्षपछि मेटिएको छ। आफूलाई सधैँ रंगमञ्चमा काम गर्ने चाहना भए पनि चलचित्रमा व्यस्त अनि राजधानी कम बसाइका कारण उपयुक्त समय नजुरेको उनले बताए। तर यस पटक स्क्रिप्ट र भूमिकाले आफूलाई नाटकमा पुनर्जन्म गराएको उनी बताउँछन्। 

१२५ भन्दा बढी चलचित्रमा काम गरेको भन्दा पनि एउटै नाटकले आफूलाई सन्तुष्टि मिलेको उनको प्रतिक्रिया छ। तर नाटकमा चलचित्रमा भन्दा बढी समय दिनुपर्ने भएकाले समय व्यवस्थापन मुख्य चुनौती हो। सबैभन्दा बढी फाइदाचाहिँ नयाँ पुस्ताको जोशसँग काम गर्न पाएको र आँखै अगाडि आफ्नो अभिनयको प्रतिक्रिया पाएकोमा आनन्द मिलेको उनले बताए। 

नाट्य संस्कृतिको अभाव
काठमाडौंदेखि झापासम्म आएको नाटक ‘लाटीको छोरो’ युनिटले भोगको सबैभन्दा ठूलो समस्या भनेको नाट्य संस्कृतिको अभाव हो। एक त नाटकघर नै छैनन्, अन्य सभागृहहरूलाई थिएटरको रूप दिएर नाटक प्रस्तुत गर्न नै सबैभन्दा कठिन ठान्छन् कलाकार। यससँगै नाटक हेर्ने दर्शकहरूमा नाट्य संस्कार नहुँदा हैरान पनि हुने गरेको नाटकमा डेव्यु गरेका सञ्चारकर्मी राजन काफ्ले बताउँछन्। 

दर्शकहरूले नाट्य घरभित्र गर्ने गफ, मोवाइलको प्रयोग, ओहोरदोहोर जस्ता कारणले पनि नाटकको प्रस्तुतीकरणमा समस्या पार्ने गरेको छ। नाटक गरिरहँदा दर्शकहरू आउने जाने गर्ने, मोवाइलमा रिङटोन बज्ने, गफ गर्नेजस्ता समस्या बढी भोग्नुपरेको उनको अनुभव छ। 

अनुभवी कलाकार पहाडी भने यस्ता कुराहरू नियमित नाटकको प्रस्तुतिसँगै हराएर जाने बताउँछन्। बम्बईमा झण्डै एक दर्जन नाटक प्रस्तुत गरेको करिव चार दशकअघिको तुलनामा प्रविधिले धेरै साथ दिएको बताउने उनले समाजको विकासका लागि भाषा, कला, साहित्य, संस्कृति जस्ता पक्षहरूको विकास जरुरी रहेकोमा जोडसमेत दिए। सिर्जनशीलतालाई जीवनशैली र संस्कृतिको अंग बनायो भने सामाजिक सद्भाव पनि बलियो हुने उनको धारणा छ।

दर्शकको प्रतिक्रिया
स्तरीय नाटक हेर्न पाएकोमा झापाका दर्शकहरूले पनि राम्रो प्रतिक्रिया दिएका छन्। झापाको परिवर्तन थिएटरकी निर्देशक कविता नेपाल यस प्रकारका नाटकहरूले दर्शकलाई समाज बुझ्न र रंगमञ्चको महत्त्व बुझाउन सहयोग पुर्‍याउने बताउँछिन्। यसअघि विभिन्न स्थानमा नाटकहरू प्रस्तुत गर्दै आएकी उनी पछिल्ला वर्षहरूमा नाटकप्रति दर्शकहरूको रुचिसमेत बढ्दै गएकाले यसको फाइदा मोफसलले पनि लिन सक्नुपर्ने बताउँछिन्। 

यस्तै नाटक हेर्नकै लागि दमकबाट विर्तामोड पुगेकी सुजन केसी ‘लाटीको छोरो’ नाटकले समाजको कुरूप र महिलामाथिको चरम हिंसाको पाटो उजागर गराएको प्रतिक्रिया दिन्छिन्। तर नाटकले दर्शकको ध्यान खिचे पनि जसका कारण समाजमा यस्ता अवस्था सिर्जना भइरहेका छन्, उनीहरूको पनि ध्यान खिचिन सक्नुपर्ने बताउँछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.