|

विराटनगर : विराटनगर महानगरपालिकाले सिटी रिक्साको उचित व्यवस्थापन र सडकको मर्मतमा चासो नदिँदा विराटनगरका सबैजसो सडक अस्तव्यस्त बनेका छन्। कसैले खाल्डा पुर्छन्, कसैले खाल्डा खन्छन्। पटक-पटकको पुर्ने र खन्ने कार्यले नगर धुलाम्मे छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदभार ग्रहण गर्दैगर्दा सय दिनमा खाल्डाखुल्डी पुर्ने तथा हिलो र धुलोको समस्या समाधान गर्ने भनेर गरेको घोषणा कागजमै सीमित बनेको छ।

महानगरका प्रमुख र उपप्रमुखको घर भएको क्षेत्र तिनपैनी उत्तरका सडक निर्माण भइरहे पनि त्यसदेखि दक्षिण क्षेत्रका हाइवेदेखि साना तथा मेनरोडमा समस्यै समस्या छ। खाल्डाखुल्डी र धुलाम्ये सडकमा सिटी रिक्साको थेगिनसक्नु चापले पैदलयात्री र  अन्य सवारी साधनका चालकलाई पनि समस्या छ। त्यसमाथि अव्यवस्थित पार्किङ र अस्तव्यस्त राखिएका निर्माण सामाग्रीले साइकलसमेत राम्ररी कुदाउन नसक्ने अवस्था छ।

सडकको अव्यवस्थित ट्राफिकलाई हटाउन ट्राफिक प्रहरी कार्यालयले पनि केही गर्न सकेको छैन। ‘हामीले कति गर्न खोज्दा पनि सम्भव देखिएको छैन, सडक खाल्डा छन्, कसैले खन्छन् कसैले पुर्छन्, मोरङका ट्राफिक प्रहरी प्रमुख मदन गिरीले भने, ‘सिटी सफारीको समस्या अब पनि समाधान नभए केही समयपछि विराटनगरका सडकमा सफारीबाहेक अरु नदेखिने अवस्था छ।’

महानगरलाई सिटी सफारी टाउको दुखाइ

विराटनगर महानगरपालिकाको सडकको अवस्था र सिटी सफारीको चाप अहिले सबैको टाउको दुखाइ बनेको छ। स्वयं सिटी सफारी चालक संगठनहरु पनि सिटीको किनबेच रोक्नुपर्ने र नम्बर प्लेट दिने कार्य बन्द गर्नुपर्ने बताउँछन्।

‘नगरपालिकाको २०७३ साल जेठ १३ गतेको सर्वदलीय बैठकले सिटी सफारीको दर्ता बन्द गर्ने निर्णय गरेको थियो,’ इ-रिक्सा मजदुर संघ राजपा मोरङका अध्यक्ष विनोद रौनियारले भने, ‘तर अहिले यातायात कार्यालयले सफारिलाई त्यहीँबाट नम्बर प्लेट उपलब्ध गराउँदा समस्या सिर्जना हुँदै गएको छ।’

‘एकातिर रुट तोकिएको छ अर्कातिर कुदाउँछन्,’ ट्राफिक प्रमुख गिरीले भने, ‘कुटौं, सम्झाऔं या जरिमाना गरेर सकिने अवस्था छैन, जरिमाना लिँदा पनि दिनमा ५ सय कमाउन नसक्नेले कसरी तिर्ला धेरै समस्या भएको छ।’ गिरीले नियमनकारी निकाय महानगरपालिका तथा सर्वपक्षीय छलफल बसेर तत्कालै निकास ननिकाले विराटनगरको ट्राफिक व्यवस्थापनमा अझै ठूलो समस्या आउने बताए। सडक निर्माणमा तदारुकता नहुँदा पनि यस्तो समस्या आएको उनको दाबी छ।

ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार हाल विराटनगरमा मात्रै २ हजार ८ सयको हाराहारीमा सिटी सफारी रहेका छन्। तर, यो तथ्यांक गलत रहेको र ५ हजारको हाराहारीमा सिटी सफारी विराटनगरमा कुद्ने गरेको रिक्सा चालकहरुको संगठनको दाबी छ।

यही हिसाबले सिटी रिक्सा थपिने हो भने सवारीधनी पनि मर्ने र सहर पनि अव्यवस्थित हुने देखिन्छ। विराटनगर महानगरपालिकाले सफारी व्यवस्थापनका लागि आवश्यक छलफल भइरहेको बताए पनि ठोस योजना निर्माण गर्न सकेको छैन।

एकातिर धूलोले निसास्सिएका विराटनगरबासी ट्राफिक जाम र सिटी सफारीको मनपरिले वाक्क छन्। ‘सफारीलाई यातायातले किन अनुमति दिइरहेको छ, मलाई थाहा छैन, यहाँको सवारी व्यवस्थापनमा यातायातको कारण समस्या भयो,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘नम्बर दिएको विषयमा सोधपुछका लागि यातायातलाई बोलाएका छौं।’

पराजुलीले ६ लेनको सडक कालोपत्रे गर्ने विषयमा पनि सडक डिभिजन कार्यालयसँग छलफल भइरहेको र तत्कालै काम सुरु हुने बताए। व्यवस्थित पार्किङको लागि पनि जग्गाको खोजी गरिरहेको उनको भनाइ छ।

सिटी सफारी ‘घाटैघाटा

विराटनगर–१५ का धनकुमार लामाले सिटी सफारी खरिद गर्ने र भाडामा लगाएर पैसा कमाउने सपनाले ६ वटा सिटी सफारी किने। जब काममा खटिँदै गए सफारीले फाइदा होइन उल्टो गतिको आम्दानी भयो। उनी अहिले सिटी रिक्सा थन्क्याएर थाप्लोमा हात लगाएर बसेका छन्।

विराटनगर १५ का सञ्जीवकुमार राजवंशीले पनि सिटी सफारीले आम्दानी गर्ने सोचेर किने। तर, हातलाग्यो शून्य। उनले सफारी किनेको ऋण तिर्न नसकेर समस्यामा छन्। अहिले सफारी थन्क्याएर हाट बजारमा कपडाको व्यापार गरिरहेका छन्। सफारीबाट आम्दानी हुनुको सट्टा ऋण तिर्न नसकेपछि दरैयाका हिरालाल श्रीवास्तव र विराटनगर रानीका शिवकुमार दास पनि विदेश हान्निएका छन्।

उनीहरु प्रतिनिधि पात्र हुन्। विदेशमा कमाएको या स्वदेशमा जम्मा गरेको पैसाबाट आम्दानी गर्ने सोचले सिटी सफारी किन्न लागेकाले सोच्ने वेला भएको छ। २ लाख ५० हजार लगानीमा किनेको सफारीले किस्ता तिर्नुको साटो

६ महिना कट्दा नकट्दै ६० हजारको ब्याट्री फेर्नुपर्ने बाध्यता, नयाँमा हेर्दा चिटिक्क देखिए पनि पुरानो हुँदै गएपछिको कुरुप र छिनछिनमा टुटफुट हुने हुँदा आफू हैरान भएको सफारीधनी धनकुमार लामाको भनाइ छ। ‘हुलासले फसायो, आम्दानी मनग्ये हुन्छ भन्यो किनेर चलाएको अहिले फसें,’ लामाले भने, ‘कोही कसैले पनि सफारी चलाएर आम्दानी गर्ने नसोचे हुन्छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.