|

काठमाडौं : काठमाडौं ७ मा वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका रामवीर मानन्धर उम्मेदवार छन्। उनका प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेससँगको तालमेलमा राप्रपाका नेता विक्रमबहादुर थापा छन्।

रामवीरले २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं ७ बाट तत्कालीन माओवादी नेतृ (अहिले नयाँशक्ति पार्टी नेपाल) हिसिला यमीलाई पराजित गरेका थिए। उनी २०६४ को निर्वाचनमा भने यमीसँग पराजित भएका थिए। १० वर्ष काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष रहेका रामवीर थाहाखबरसँगको भेटमा प्रतिनिधिसभा सदस्य हुनेमा ढुक्क देखिए।

असनबाट शुरु भएर नुवाकोटको सीमानासम्म पुगेको यो निर्वाचन क्षेत्रमा आफूले विकासका मुद्दालाई चुनावी एजेन्डा बनाएको उनले बताए। रोजगारीको विषयलाई उद्योगधन्दा सञ्चालनसँग जोडेका उनले यही क्षेत्रमा पर्ने काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलाई सक्रिय पार्ने योजना पनि बनाएका छन्। वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टे र पर्यटकका लागि आकर्षणको केन्द्र शिवपुरी वन्यजन्तु आरक्षलाई लिएर पनि समृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिने उनको दावी छ। 

जनता भन्छन्: लुगा छिनमै मैलो नभइदेओस्

भोट माग्न घरदैलोमा जादा रामवीर समक्ष मतदाताको गुनासो हुन्छ, 'धुलोले बसिनसक्नुभयो।' अधिकांश मतदाताले यो गुनासोसँगै प्रश्न गर्छन्, 'पानी नभएर काकाकुल भयो काठमाडौं, यसको व्यवस्थापन गर्नुपर्दैन?'

धुलो र धुँवाले काठमाडौंका सडकमा यात्रा गरिनसक्नुभएको अवस्थामा मतदातालाई यतिबेला 'देश विकास गर्छौं', भनेर भोट माग्ने नेतालाई मतदाताले 'धुलो सफा गरे र पानीको उपलब्धता गरे हुन्छ', भन्ने जवाफ फर्काउँछन्। मतदाताले भन्ने गरेको रामवीर सम्झिन्छन्, 'मतदाताको भनाइ यही छ कि 'लागाएको लुगा त छिनमै मैलो नभइदेओस् न।' यसैले मेरो पहिलो प्राथमिकता धुलो नउड्ने बनाउने हो र पानीको व्यवस्थापन हो।'

अब देशमा स्थायी सरकार आउने र त्यसले स्थानीय तहसम्म गर्नुपर्ने विकास निर्माणका काममा ध्यान दिने रामवीरको विश्वास छ। झन्डै दुई दशकपछि स्थानीय सरकार आएको र लामो समय अब्यवस्थित रहेको सहरलाई ब्यवस्थित बनाउन समय लाग्ने उनको भनाइ छ। उनी भन्छन्, 'विकासका लागि स्थायित्व चाहिने रहेछ, त्यो भएन।'

चुनावी एजेन्डा : उद्योग, आयुर्वेददेखि चलचित्र पर्यटनसम्म

औद्योगिक क्षेत्रका उम्मेदवार रामवीर नेपालमा नै ठूला उद्योग सञ्चालन गर्नुपर्ने भनाइ राख्छन्। उद्योग स्थापना गरिए एकातर्फ देशको पूँजी विदेश जानबाट रोकिने र अर्कोतर्फ देशमा रोजगार स्थापना हुनेछ। रामवीर भन्छन्, 'अब हाम्रो ध्यान उद्योग स्थापनामा हुनेछ। त्यसले, पूँजी पलायन रोक्न र स्थानीयलाई रोजगारी दिने भएकोले दुईओटा समस्या समाधान हुन्छ।'

नेपालमा पर्यटन उद्योग नै सबैभन्दा उत्तम भएको रामवीरको भनाइ छ। नेपालमा रहेका हिमाल, पहाड र तराईको भूभागको विविधताले नै पर्यटकलाई लोभ्याउने उनको भनाइ छ। यसका लागि होटल खोल्ने, पर्यटकलाई बसोबास र हिड्डुलका लागि व्यवस्था गरेमात्र हजारौंलाई रोजगारी दिन सकिने र लाखौं पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।

नेपाली चलचित्र क्षेत्रमा समेत संलग्न रामवीर चलचित्र उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने दावी गर्छन्। उनी भन्छन्, 'रोजगारीसँग जोडिएका धेरैवटा कम्पोनेन्टहरुमध्ये चलचित्र पनि जोड्नुपर्छ। यो चलचित्र उद्योगसँग पर्यटन उद्योगलाई जोड्ने हो भने नेपालको अर्थतन्त्रको महत्वपूर्ण अंश यसले नै धान्छ।'

चलचित्र उद्योगमा बेच्नलाई नेपालसँग प्राकृतिक सौन्दर्यता नै काफी भएको उनले बताए। यहाँका प्राकृतिक सौन्दर्यताका दृश्यलाई विश्व फिल्म क्षेत्रदलाई बिक्री गर्ने सके नेपालले ठूलो आम्दानी गर्नसक्ने उनको दावी छ। चुनावी एजेन्डामा चलचित्र क्षेत्रलाई पनि समेटेका मानन्धरले भने, 'एउटा सिनेमाका लागि बलिउड र हलिउडमा सयौं करोडमा स्टुडियो बनाउँछन्। हामीकहाँ त देशै प्राकृतिक स्टुडियो छ। त्यसका लागि हामीले प्रचारप्रसार गर्ने हो।'

त्यस्तै, नेपालमा हजारौं किसिमका जडिबुटी पाइने र त्यसलाई प्रशोधन गर्नेमा अब राज्यको ध्यान जाने रामवीरको चुनावी एजेन्डा छ। आयुर्वेदमा धनी नेपालले आफै प्रशोधन केन्द्र खोल्ने र औषधी उत्पादन गर्ने उनले बताए। भने, 'आयुर्वेदमा हामी धनी छौं, त्यसलाई प्रशोधनका लागि उद्योग बनायौं भने हामीले हाम्रो ठाउँबाट बहुमूल्य आयुर्वेदिक कच्चा पदार्थ लिएर हामीलाई रामदेवले बिक्री गर्ने औषधी प्रयोग गर्न आवश्यक हुँदैन र हामीसँग रोजगारी पनि सिर्जना हुन्छ।'

सहयोगी माओवादी

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले र माओवादी वाम गठबन्धन गरेर चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्र बाँडफाँटमा काठमाडौं क्षेत्र नम्बर ७ नेकपा एमालेको भागमा पर्‍यो। जहाँका स्वभाविक उम्मेदवार थिए सोही क्षेत्रका पूर्व सांसद रामवीर मानन्धर। यो क्षेत्रका दुई प्रदेशसभा सदस्य उम्मेदवार पनि एमालेको भागमा परेको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेबाट नै हुँदा पनि माओवादीले सहयोगी रहेको रामवीरले बताए।

'गठबन्धनको सवालमा उहाँहरु निकै सहज रुपमा प्रस्तुत हुनुभएको छ' आफ्नो क्षेत्रमा गठबन्धनमा सहभागी माओवादीको सक्रियताबारे रामवीरले भने, 'उहाँहरुको सोच जसरी पनि गठबन्धन जिताउने हो भन्ने छ।' चुनाव परिचालनमा माओवादीलाई दोस्रो पद दिइएको उनले जानकारी दिए। जसमा एमालेका न्हूंच्छेकाजी महर्जन संयोजक र माओवादीका अमररत्न बज्राचार्य सहसंयोजक छन्।

कांग्रेस मतदाताले गणतन्त्रका पक्षमा मतदान गर्नेछन्

काठमाडौं क्षेत्र नम्बर ७ मा रामवीर मानन्धरका प्रतिस्पर्धीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रम थापा छन्। थापालाई नेपाली कांग्रेसले साथ दिएको छ। तर यो क्षेत्रका कांग्रेस कार्यकर्ताले थापालाई भन्दा आफूलाई रोज्नेमा ढुक्क देखिए रामवीर।

नेपाली राजनीतिका अनुभवी खेलाडी भए पनि विक्रम थापा राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भनेर घोषणापत्रमा नै उल्लेख गरेको राप्रपाका नेता हुनु नै आफ्नो जीत भएको मानन्धरको भनाइ छ। रामवीर गणतन्त्र स्थापनाका लागि सँगै हिँडेका नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफूलाई भोट दिने दावी गर्छन्। 'गणतन्त्रको चुनावमा प्रतिस्पर्धीका रुपमा 'राजतन्त्र ल्याउनुपर्छ' भन्ने मान्छे ल्याएर खडा गरिदिएपछि मलाई यति सहज भयो कि हिजो गणतन्त्र ल्याउनका लागि आन्दोलनमा गएका, घाइते भएका, जेल हालिएका, घरबारविहीन भएका कांग्रेसका मतदाताले समेत मलाई भोट हाल्छन्', उनी प्रश्न गर्छन्, 'फेरि त्यो राजतन्त्रलाई भोट देलान् त?'

नेपाली कांग्रेका कार्यकर्ताले राजतन्त्र फर्काउनुपर्छ भन्ने उम्मेदवारलाई भोट नदिने उनको भनाइ छ। उनी दावी गर्छन्, 'कांग्रेसले हन्ड्रेड पर्सेन्ट मलाई भोट दिन्छन्।' त्यस्तै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार गर्न नसक्ने उनले बताए। राजधानीका जनतासँग राजतन्त्र ल्याउनुपर्छ भन्ने पार्टीका उम्मेदवारलाई भोट माग्न प्रधानमन्त्री देउवालाई गाह्रो भएको उनले बताए।

लिङ्देनका लागि अध्यक्ष ओलीले भोट माग्न हुँदैनथ्यो

राजतन्त्र पुनःस्थापना लगायतका एजेन्डा लिएर भोट मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन नेपाली कांग्रेसले मात्रै होइन वाम गठबन्धनले पनि गरिरहेको छ। झापा क्षेत्र नम्बर ३ मा एमाले र माओवादीको वाम गठबन्धनका उम्मेदवार बनेका छन् राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन। उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट नेपालमा गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार छन्।

लिङ्देनका पक्षमा झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोट मागिरहेका छन्। यसलाई राजधानी बाहिरको विषय भन्दै बोल्न नचाहेका रामवीरले अन्ततः गर्न नहुने कामको संज्ञा दिए। उनले भने, 'गठबन्धनको सवालमा यो कुरा गर्न हुँदैनथ्यो। घोषणापत्रमा नै (राजतन्त्र फर्काउने) उल्लेख गरिसकेपछि त्यो मान्छेसँग गठबन्धन गर्न हुँदैनथ्यो भन्ने मेरो सोचाइ हो।' उनले कांग्रेसलाई चुनावमा पराजित गर्ने नाममा लोकतन्त्र विपरित जान नहुने भाव व्यक्त गरे।

यो पनि पढ्नुहोस्: काठमाडौं क्षेत्र नम्बर ७ : कांग्रेसको काँधमा विजयको बाटो खोज्दै विक्रम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.