|
मृत्युको केहीअघि श्रद्धाञ्जलि सभामा गीत गाउँदै पाख्रिन/तस्वीर: कोमल भगतको फेसबुक

चितवनः नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन भएको छ।

संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको अपराह्न उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो।

चिकित्सकका अनुसार हृदयाघातका कारण उनको निधन भएको हो। ‘गठबन्धनको कार्यक्रम सुरु हुनु केहीअघि उहाँले एउटा गीत गाउनुभयो, एकैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो’, पाख्रिनका ज्वाइँ प्रताप गुरुङले भने, ‘तत्कालै अस्पताल पुर्‍याइए पनि केही समयपछि नै चिकित्सकले मृत घोषणा गरे।’

उनका अनुसार अस्पतालले पाँच प्रतिशत मात्रै आशा छ भनेर उपचार सुरु गरेको १५/२० मिनेटपछि नै मृत्यु घोषणा गरिएको थियो।

यसअघि सोही अस्पतालमा पाख्रिनले प्रेसर र सुगरको नियमित उपचार गराउँदै आएका थिए। पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उनलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो। 

चितवनको भरतपुर महानगरपालिका– १९ रामपुर घर भएका पाख्रिनको जन्म २००९ सालमा भएको हो। ६५ वर्षका पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। एक छोरा भने द्वन्द्वकालमा शहीद भएका थिए। 

पाख्रिनको शवलाई उनकै निवास रामपुर लगिएको छ। उनको पार्थिव शरीरलाई बुधबा बिहान ८ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिसभाका लागि राखिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए। 

सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.