|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन छलफल गर्नुपर्ने माग सहित संसद सचिवालयमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव तुहिएको छ। प्रस्तावक गगन थापा स्वास्थ्य मन्त्री भएपछि महाअभियोग लगाउने विषय समेटेर दर्ता गरिएको प्रस्ताव खारेज भएको हो।

प्रस्ताव खारेज भएपछि समर्थक धनराज गुरुङले दुःख व्यक्त गरेका छन्। उनले आइतबार फेसबुकमा मुलुकमा व्याप्त बेथितिबारे संसदमा छलफलका लागि दर्ता गराएको प्रस्ताव खारेज भएकाले दुःखी भएको उल्लेख गरेका छन्।

'प्रिय भाइ गगन मन्त्री भएकोमा म अत्यन्त खुसी छु तर मुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुःखी छु,' उनले फेसबुकमा लेखेका छन्।

गत साउन ६ गते धनराज गुरुङ र श्याम श्रेष्ठको समर्थनमा गगन थापाले संसद सचिवालयमा गोविन्द केसीको जीवन रक्षाको पहल सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

प्रस्तावमा अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने विषय समेत समेटिएको थियो।

सार्वजनिक महत्वका विषयका प्रस्तावक मन्त्री भएपछि प्रस्ताव खारेज हुनेबारे संसदको कार्यसञ्चालन नियमावली माैन छ। यद्यपि प्रस्तावक कार्यपालिकामा प्रवेश गरेपछि अर्को प्रस्ताव दर्ता गराउनुपर्ने स‌ंसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए। 'प्रस्तावक नै मन्त्री भएपछि सो प्रस्ताव छलफल हुन सक्दैन। त्यस विषयमा छलफल अघि बढाउनुपर्ने भए नयाँ प्रस्तावकले दर्ता गराउनुपर्छ,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.