|

काठमाडौं : तीजको अघिल्लो दिन घरमा दिदीबहिनी जम्मा भएर खीर, फलफूल, सेलरोटी जस्ता परिकार दरका रुपमा खाने चलन अहिले फेरिँदैछ। हिजोआज होटल, पार्टी प्यालेसमा दर खाने चलन छ। जहाँ खानेकुरा आफूले बनाउनु पर्दैन, टेबुलमा तयारी अवस्थामा हुन्छ। तयारी अवस्थामा राखिएका परिकार बढी चिल्लो, पिरो र मसलेदार हुने गर्छन्।

पोषणविद् प्रा. डा. उमा कोइराला यस्ता खानाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने थाहा हुँदाहुँदै महिलाहरूले वेवास्ता गर्ने गरेको बताउँछिन्। यस्ता खानाले कस्तो असर गर्छ र त्यसबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा सचेत हुनुपर्ने उनी बताउँछिन्। तीजमा दर खाँदा के-कस्ता कुरामा ध्यान दिनुपर्छ? प्रा. डा. कोइरालाका सुझाव यस्ता छन् : 

बाहिरका रेडिमेट खानेकुरा भन्दा घरमानै बनाएको सादा खानेकुरा खाने

अहिले हामीले बजारमा पाइने धेरै कलर गरेका खानेकुरा खाने चलन छ। तर, घर बाहिरको खानाभन्दा आफ्नै घरको बनाएको सादा खानेकुरानै दरको रुपमा खाने गरौँ, जसले घर भित्रको वातावरण पनि रमाइलो बनाउँछ। बजारको खानेकुराभन्दा हाम्रो घरभित्र नै बनाइने खानेकुरा स्वस्थकर हुन्छ। बजारमा पाइने रेडिमेट खानेकुरामा धेरैमात्रामा अखाद्‍य मिसावट हुनुका साथै धेरै रंग मिसाइएका हुन्छन्। जसले हाम्रो स्वास्थ्यको लागि हानी पुर्‍याउँछ।

चिल्लो, पिरो, अमिलो र धेरै गुलियो खानेकुरा कम खाने

धेरै दिन अगाडि देखिनै दिदीबहिनी जम्मा भएर दर खाने चलन छ। तर, नियमित रुपमा अत्याधिक गुलियो, अमिलो, पिरो, चिल्लो खानेकुरा खाँदा ग्यास्ट्रिक हुनुका साथै कोलेस्टोरेल बढ्ने, हृदयघातको सम्भावना समेत बढ्ने, कब्जियत हुने,अल्सर हुने जस्ता समस्या देखापर्न सक्छ। शहरी क्षेत्रमा शारीरिक परिश्रम पनि कम हुने हुँदा चिल्लो, पिरो र मसलेदार खानेकुराले पाचनप्रक्रियामा समेत समस्या देखिनुका साथै रक्तचाप समेत असन्तुलित हुने गर्छ। त्यसैले जिब्रोको स्वादको लागि भन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा खानुपर्छ। 

माछामासु कम खाने

दर खाने भन्ने बित्तिकै माछामासुनै खानु पर्छ भन्ने बानी बसेको छ। धेरै माछामासु खानाले स्वस्थ मानिसलाइ झन् अस्वस्थ बनाउँछ। त्यसैले, माछामासुभन्दा पनि फलफूल, सलाद, दही, दूध र चिल्लो, पिरो कम भएको गेडागुडी खाने गरौँ। जसले स्वास्थ्यलाई हानी पनि गर्दैन रमाइलो पनि घटाउँदैन। माछामासुनै खाने हो भने पनि उसिनेर मात्र खाने गरौँ।

एकै पटक धेरै खानेकुरा नखाने

हामी कहिले लामो समयसम्म भोकै बस्छौँ भने कहिले शरीरलाई आवश्यकताभन्दा धेरै खाने बानी छ। यो बानीले हाम्रो शरिरलाई नै असर गर्छ।  एकै पटक धेरै खानेभन्दा पनि पटक-पटक खाइरहनु राम्रो हुन्छ। दरको रुपमा एकै पटक धेरै खानेकुरा खाने र तीजको ब्रतको दिन पानी पनि नखाई बस्ने चलनले पनि हाम्रो शरीरलाई फाइदा गर्दैन। कम्तीमा दुई घन्टामा केही न केही खानेकुरा खाइरहनु पर्छ। त्यसैले पानी पनि नखाइ ब्रत बस्नु्भन्दा फलफूल, दूध, जुस खाने गरौँ।

(सविना खनालले प्रा. डा. उमा कोइरालासँग गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.