|

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सहभागी हुन आम मतदातालाई आह्वान गरेकी छन्।

दोस्रो चरणको निर्वाचनको सन्दर्भमा एक सन्देश जारी गर्दै भण्डारीले लामो समयको संघर्षपछि नेपाली जनताले पाएको संविधान कार्यान्वयन गर्न पनि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी हुन्। नेपालको संविधानले नेपालीको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाबमोजिम हुन लागेको निर्वाचनमा भाग लिन सबै नेपालीलाई राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् आग्रह गरेकी हुन्।

'प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्‍वास लागेको छ', राष्टपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ। निर्वाचनमा सहभागी हुनु केवल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभई आर्थिक सामाजिक रूपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत भएको शुभकामना सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.