|

गोरेबहादुर खपाङ्गी मगर, आदर र प्रेमले प्राय सबैबाट सम्वोधन गरिने गोरेदाइ। उहाँसँग मेरो पहिलो भेट हेटौंडा मकवानपुरमा २०३६ मंसिर २६, २७ र २८ मा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम सम्मेलनमा भएको हो। अग्लो खाइलाग्दो शरीर, सरल, सिधा र निस्प्रिय व्यवहार, आत्मीय र प्रेमपूर्वक कुराकानी गर्ने स्वभाव।

थोरै दाह्रीजुंगा तर लामालामा त्यस्तै प्रकारको भेषभुषा। बडो गजव र आकर्षक व्यक्तित्व त्यसमा पनि निमावि तहको एउटा अंग्रेजी पुस्तकको पाठमा मोटोघाटो अग्लो मानिसको चित्र देखाएर लेखेको थियो गोरेदाइ इट्स लट अफ खपाङ्गीजी पनि बडो प्रेमपूर्वक गज्जवले खाने। पञ्चायती सरकारको सम्मेलन गर्न नदिने दवाव र तनावबीच उहाँको मात्रै व्यक्त्तित्वले सम्मेलनका सवै सहभागीहरुलाई तनावमुक्त र प्रफुल्लित बनाएको थियो। खाना खाने बेला गज्जबको रोमाञ्चकारी वातावरण हुन्थ्यो। सामूहिक मेसमा दशौं जनाले हल्ला गर्थे गोरे दाइ इट्स लट अफ। अनि उहाँलाई थप्न तछाडमछाड गर्थे। उहाँ पनि अरे यार भात हैन मासु थपन बडो विनोद प्रिय ढंगले भन्नु हुन्थ्यो।

इतिहासको यो एउटा घटना बिते जस्तै गोरेदाइको जीवन लीला समाप्त भएको केही दिन बितेको छ। अब हामी बीच गोरेदाइ छैनन्, मात्र छन् उहाँसँग बिताएका दिनका स्मरणहरु। हो त्यो सक्रिय शालीन व्यक्तित्व अथक योद्दा प्रचारमा ल्याउन नचाहने तर ज्ञानको अथाह भण्डार। गोरेदाइ अब साँच्चै यो दुनियाँमा छैनन्।

३ वर्ष अगाडि काठमाडौं प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करबाट दुर्घटनामा परेका गोरेदाइलाई घरपरिवारका सदस्य र शुभेच्छुक मित्रहरुको अथक सहयोग, हामीजस्ता धेरैको शुभकामना  र देशभित्र तथा बाहिरका डाक्टरहरुको उपचारले बचाउन सकेन। साँच्चै हो मृत्युलाई टार्न सकिन्न। यो अनिवार्य र शास्वत छ। तर अप्रिय र पीडादायी पनि छ। उहाँको मृत्युको पीडामा हामी छौं।

सुखदु:खका साथी गोरेदाइ

लगभग ३७ वर्षदेखिको चिनजान, सम्पर्क र घनिष्टतम् सम्बन्ध मेरो आफ्नै समस्या र आस्थाले पछि अलिक पातलो भयो। सुरुमा ७/८ बर्ष नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय समितिमा हामी दुवै सदस्य भएर काम गर्यौ। पछि मैले महासचिव भएर काम गरे। तत्कालिन नेकपा मालेको कार्यकर्ता र समर्थक भएर हामीले काम गर्यौ। एउटै कोठाका सहभागी भएर काठमाडौंमा बितायौ। कति छाक भोकैभोकै काठमाडौंका गल्लीगल्ली चाहार्‍यौं। महिनाको तीन सय रुपैयाँ कोठा भाडा तिर्न नसक्दा घरबेटीले भाडा तिर्न पर्दैन घर छोड भने पछि झोलीझाम्टा बोकेर सँगै निस्कियौं। ३/४ महिनापछि सँगै गएर त्यो घरको भाडा बुझायौं अलिकति गहुँको पिठो र साग एक भाडो पानीमा खोले पकाए जसरी पकाएर खायौं। यसरी कति रात बितायौ बितायौं।

विभिन्न पटक, प्रहरी हिरासत, अलगअलग जेलमा जीवन बितायौं। गोरेबहादुर खपाङ्गी अर्थात गोरेदाइ गौरी शंकर मावि रामेछाप सदरमुकामको हेडमास्टर। अंग्रेजी भाषामा वीए, वीएड गरेको। नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत, मैथली र मगर भाषामा अत्यन्त राम्रो दख्खल भएको व्यक्ति। नेवारी भाषा राम्ररी बुझ्ने कामचलाउ रुपमा बोल्न सक्ने र इतिहास दर्शनशास्त्र तथा राजनीति शास्त्रको राम्रो अध्येता। म हिमालय मावि दमक झापाको सामान्य  शिक्षा। जातले मगर र बाहुन हामी। उमेरमा आठ बर्षको अन्तर । म होचो, पातलो र ख्याउटे बाहुन। उहाँ अग्लो, खाइलाग्दो, गोरो र गजवको व्यक्ति। तर जोडी खुव मिलेको थियो।

हाम्रो मुख्य खाना संगठन र आन्दोलनै थियो। भात त पाए खाने नभए भोकै पनि चल्ने हाम्रो चलन नै भएको थियो। त्यो बेला राँगाको मासु र भात टन्न खान पाउँदा हामीलाई वडादशैँ भए जस्तो लाग्थ्यो। न उहाँ न म खान नपाउने परिवारका सदस्य थियौँ। सबै काम छोडेर घरमै बस्दा पनि बिहानबेलुका अघाउन्जी दालभात तरकारी, दुध दहीमोही खान सक्ने नै हाम्रो सामाजिक अवस्था थियो।

मैले परिवारको रेखदेख गर्नुपर्ने केही थिएन। श्रीमती सरकारी स्कूलबाट हटाइएपछि बोर्डिङ स्कूलमा पढाउथिन्। एउटा सन्तान सानै थियो। घरमा खान लाउनमा यस सम्बन्धमा मेरो खासै चिन्ता र चासो पनि थिएन। तर गोरेदाइको चार जना छोराछोरी स्कूल-कलेज पढ्दै थिए। उहाँकी श्रीमती हाम्रो भाउजू जो साह्रै असल र सहृदयी हुनुहुन्छ। सामान्य गृहिणी मात्र। मेरोभन्दा पारिवारिक जवाफदेही उहाँको बढी थियो। ढुक्कै घरखेती गरेर बस्ने अवस्था पनि थिएन। पञ्चायती सरकारले हेड मास्टरबाट उहालाई हटाएपछि स्थिति बिग्रदै गएको थियो। आन्दोलन र संगठनको जिम्मेवारी बढिरहेको थियो।

२०४२ सालको शिक्षक आन्दोलनमा जेल परे। उहाँ अर्ध-भूमिगत भएर आन्दोलन र संगठनमा लागि रहनुभएको थियो। त्यो बेला म झण्डै तीन वर्ष जेल परे। राष्ट्रिय पञ्चायतको २०४३ सालमा सम्पन्न निर्वाचनलाई नेकपा (माले)ले उपयोग गर्ने नीति लियो। गोरेदाइलाई महोत्तरीबाट यही नीति अनुरुप उम्मेदवार बनाइयो। उहाँ विजयी त हुनु भएन। तर राम्रो मत प्राप्त गर्नुभएको थियो। पार्टीको भन्दा बढी लोकप्रियता गोरेदाइको भएको कारण नै हो चुनावमा उठेपछि उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहनुभएन।

जनपक्षीय मञ्च, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च र लांघाली संघको सञ्चालन र नेकपा मालेनिकट अंग्रेजी बुलेटिन अपडेटको सम्पादन र प्रकाशन कार्यमा लाग्नु भयो। जेलमुक्त भएपछि उहाँसँगको भेटघाट र सम्पर्क निरन्तर भइरह्यो। तर, जिम्मेवारी र कार्यक्षेत्र फरक फरक रह्यो। यसैबीच प्रगतिवादी साहित्यकार तथा नेकपा मालेका नेता मोदनाथ प्रश्रित र प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका महासचिव सुशील प्याकुरेलसँग अनेक सवालमा उहाँको मतभिन्नता र अन्तरविरोध बढेको मैले थाहा पाउन थाले।

उहाँका पीडा र असन्तुष्टि सुन्न थाले। यसको समाधानमा खासै उपाय मसँग थिएनन्। मैले कार्यक्षेत्र फरक भए पनि गोरे दाइ र म हिजो शिक्षक आन्दोलन र शिक्षक संगठनको अगुवा तथा सँगै काम गरेको नाताले नेकपा मालेको भूमिगत नेता क. विवेक अर्थात नेकपा एमालेको पूर्वमहासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई उहाँका सबै समस्या र विचार बताएँ। साथै समयमै पार्टीले यसको समधान गरोस् भन्ने आग्रह गरें। तर, कहाँ कहाँ के के भो उहाँले न्याय पाउनु भएन। अनि विस्तारै जातीय आन्दोलनतिर तानिनु भयो।

बहुदलीय प्रजातन्त्रको पुनःस्थपना पछि जनमुक्ति पार्टी गठन गरी त्यसको महासचिव भएर जातीय मुद्दा बेजोडसँग उठाउँदै राजनीतिक वृत्तमा वेग्लै पहिचान बनाउनुभयो। हामी बीच  राजनीतिक धार र पार्टी अलगअलग भए पनि व्यक्तिगत तथा पारिवारिक मित्रता पूर्ववत रह्यो। खानपिन, धर्मधाम, दुःख-सुखमा हामी अभिन्न मित्र नै रह्यौ। कति साथीहरुलाई यो बेठीक पनि लाग्थ्यो।

पछि मैले खासगरी मसँगै बस्ने कान्छी बहिनी रिता क्यान्सरले निकै साह्रै भएपछि ललितपुर कुमारीपाटीको डेरा छोडेर काठमाडौं जोरपाटी आउनुपर्‍यो। अनि उहाँ र मेरो भेटघाट पातलो भयो। बहिनीलाई गाह्रो हुँदै गयो। यहीबीच २०७० बैशाखमा उहाँ दुर्घटनामा पर्नुभयो । म २-४ पटक अस्पतालमा हेर्न गए। यता बहिनीको देहावसान भयो। यसपछि म माथि केही समस्याहरु थपिए। म आफैं पनि बिरामी भएँ। यसले गर्दा मैले उहाँलाई गर्नुपर्ने जति सहयोग गर्न सकिन। यो मेरा लागि धेरै पीडा र पश्चातापको विषय भएको छ।

जातीय आन्दोलन र गोरेदाइ

मैले बुझेको, भोगेको गोरेदाइ। जातीय आन्दोलनमा लाग्नु भयो तर विभाजन र विखण्डनको पक्षमा हैन। अराजक आत्मनिर्णय र वखण्डनमा जानेखालको स्वायत्तताको पक्षामा हैन, जनजाति र उत्पीडितहरुको पूर्ण अधिकार र राष्ट्रिय एकताको पक्षमा । जनजातिलाई पाँचथर, नुवाकोट, कास्की र पाल्पाको लोकल नेता बनाउन हैन, सिंहदरबारमा शासन गर्न सक्ने हैसियत बनाउन। पिछडिएका जातजाति र सीमान्ताकृत समूहलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन उहाँले त्यो समूहलाई जगाउनु भयो।

तर पछि उहाँलाई त्यही समूहका तथाकथित हर्ताकर्ताहरुले पाखा लगाए। एउटा योग्य, होनाहार, देशभक्त अनि निस्कंलक योद्धालाई कम्युनिस्ट आन्दोलनले किनारा लगायो। आफैंले प्रारम्भ गरी जवर्जस्त स्थानमा पुर्‍याएको जातीय आन्दोलनले उहाँका असल विचारलाई कालो पोती उहाँलाई धपायो। मलाई लाग्छ गोरेदाइ कर्मयोगी हो, प्रेरणाको स्रोत हो र परिवर्तनको संवाहक हो। तर जस कहिल्यै नपाउने अपजसे मान्छे पनि हो। यसो हुनुमा उहाँको प्रष्टवादिता र जालझेल षडयन्त्र गर्न नजान्ने सुधो प्रवृति नै हो।

लामो सहकार्यमा मैले गोरेदाइको जीवन अभाव र संघर्षै संघर्षमा बितेको देखें। तर थाके र हारेको कहिल्यै देखिन। सरल र सादा जीवन गोरेदाइको पर्याय थियो। भोकभोकै कति दिन रात बिताउने, च्यातिएको सर्ट र पेन्ट लगाएर हिडने तर कसैसँग टाउको ननिहुर्‍याउने गोरेदाइको वास्तविक पहिचान हो। अथाह अध्ययन र ज्ञानको भण्डार भएर पनि अहंरहित उपस्थिति र निर्वोध प्रस्तुति उहाँको अनुपम विशेषता हो।

गोरेदाइ राजकीय सत्तासँग अनवरत संघर्ष गरेउ, त्यसले तिमीलाई हराएन। मृत्युसँग पनि कठिन संघर्ष गरेउ, तर तिमी हारेउ गोरेदाइ, हारेउ। २०७३ भाद्र १३ गते दिनको ११ बजे तिम्रो पार्थिव शरीरमा फूलमाला चढाउन उभिएको छु, छातिभरि तिमीप्रतिको अगाध श्रद्धा र दिमागभरि तिमीसँग बिताएका अनेक क्षणहरु सम्झदै। गोरेदाइ तिमी महान थियौं र महान नै रहन्छौं। म तिम्रो त्यो उचाइमा कहिल्यै पुग्न सक्दिन। माफ गर है। अल विदा गोरेदाइ अल विदा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.