|

काठमाडौं : दलजित विके श्रीपाली अर्थात कमरेड प्रशान्त। उनी अहिलेका युवा तथा खेलकुद मन्त्री हुन्। माओवादी सेनाका पूर्व डिभिजन कमान्डर उनी १० वर्षे जनयुद्धको क्रममा पटक–पटक 'सहिद' घोषणा भए। दर्जनौं पटक मृतकको सूचीमा परे। सहिदकी पत्नी भनेर सुनकुमारीलाई पनि पार्टी कार्यकर्ता र आफन्तले बारम्बार सहानुभूति र सम्मान प्रकट गरे।

पटक पटकका घटनामा मृत्यु जितेका श्रीपाली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन्। हामीले मन्त्री श्रीपाली र उनकी श्रीमती सुनकुमारीलाई भेट्यौं। जुन भेटमा उनीहरुले विगतमा श्रीपालीको मृत्युसँगको जम्काभेटबारे गम्भीर प्रसंगहरु सुनाए।

श्रीपाली २०५० देखि २०५२ सालसम्म रुकुममा शिक्षक थिए। दलितका छोराछोरीहरु पढ्ने होइन, गोठालो बस्ने हो, श्रम गर्ने हो, दलितहरु पढेर जान्ने भए हामीलाई टेर्दैनन् भन्ने मनसायले थिचोमिचो गर्ने र मार्नेसम्मको प्रयास भएपछि श्रीपालीले बदलाभावले बन्दुक बोकेका थिए।

गाउँमा प्रौढ पढाउने, टाठाबाठाले हडपेका गौचरणहरु सार्वजनिक प्रयोग ल्याउनुपर्छ भन्ने र आफ्नो जग्गा विद्यालयलाई दान दिएपछि उनी गाउँमा आँखाको तारो बनेका थिए। ‘समाजप्रति उत्तरदायी भएर उदारवादी कामहरु गर्न थालेपछि ममाथि आक्रमण सुरु भयो, दलित भएकै कारण ममाथि अन्याय भएको महसुस गरी मैले बन्दुकको सहारा लिएँ’ उनले भने। 

सुनकुमारीसँग लगनगाँठो

श्रीपाली गाउँमा अरुको दमन नसहने र विद्रोही स्वभावका थिए। त्यसै कारण उनी गाउँका गैरदलितहरुको निशानामा थिए। कम्युनिस्ट राजनीतिमा लागेकाले उनका विरोधीहरुले मार्नेसम्मको योजना बनाएका थिए। एक पटक मशालको संगठन विस्तार गरेको भन्दै उनलाई गाउँको एउटा समूहले खुकुरी लिएर लखेट्दै थियो। श्रीपाली ज्यान जोगाउन भाग्दै गर्दा एउटा घरमा पुगे। त्यो घर सुनकुमारीको थियो। सुनकुमारीले श्रीपालीलाई घरको सानो कोठामा लुकाइन्। उनलाई लुकाएका कारण ती मान्छेहरुले सुनकुमारीमाथि हातपात गरे। त्यतिबेलाको घटना सम्झिँदै सुनकुमारीलले भनिन् ‘ती मान्छेहरुले मार्न पनि सक्थे, मार्‍यो भने अर्को समस्या हुन्छ भनेर लुकाइदिएँ।’

अन्दाजी १५ वर्षजतिकी सुनकुमारीसँग त्यतिबेलासम्म श्रीपालीको चिनजान थिएन। ‘आफू यातना खपेर मलाई बचाउनुको पनि कारण हुन सक्छ, म गएर विवाहको प्रस्ताव राख्छु’ श्रीपालीको मनमा लाग्यो। त्यतिबेला श्रीपाली २० वर्ष जतिका थिए। त्यसपछिको एउटा भेटमा उनले सुनकुमारीसँग भने, ‘म तिमीसँग विवाह गर्न चाहन्छु, तिम्रो विचार के छ?’ सुनकुमारीले सहमतिमा जवाफ दिइन्, ‘हुन्छ।’

हुनत सुनकुमारीले पनि श्रीपालीलाई पहिल्यैदेखि मन पराउँदिरहिछन्। ‘उहाँले प्रस्ताव गर्नुपूर्व नै मैले मनमनै मन पराएको थिएँ। त्यतिबेला म भर्खरको केटाकेटी। नपढे पनि मैले बुझेको थिएँ, गाउँमा शिक्षित भनेकै उहाँ। गाउँतिर दलित समुदायमा शिक्षित भनेको कोही हुनुहुन्नथ्यो। त्यसैले मैले निर्णय लिएँ’ दुवै परिवारको सल्लाहमा उनीहरुबीच विवाह भयो। खुशियालीमा १७ दिनसम्म घरमा विवाहको रमझम चल्यो। 

‘एउटा छोरा युद्धका लागि’

२०५२ फागुन २८ गते श्रीपाली परिवारको माइली छोरीको जन्म भयो। छोरी जन्मेको २४ घण्टा  नबित्दै श्रीपाली बन्दुक बोकेर जंगल पसे। ‘तपाईँ आफैँ कल्पना गर्नुस् त, २४ घण्टाको छोरीलाई छाडेर म कुन मनले युद्धमा होमिए होला?’ उनले प्रश्न गरे। आमा र बुवा दुबैले अबीर लगाएर विदा गरेका थिए। ‘कहिल्यै नझुकेस्, आफ्नो बाटोमा अघि बढ्, तँ युद्धकै लागि भएस्,, जितेर आएस्’ आमाले भनेकी थिइन्।

सासुले एउटा छोरा युद्धका लागि भनेर घोषणा नै गरेपछि श्रीमती सुनकुमारीले पनि दृढता गरिन्, र गहभरी आँसु पारेर भनिन्,‘जितेर आउनुस्, तपाई युद्धकै लागि भयो।’ बुवा, दाइ, भाउजु अनि श्रीमती सबै रोए। तर आमाले उनको अगाडि आँसु खसालिनन्।

बल्ल बग्यो आँसु

युद्धमा होमिँदै गर्दा परिवारमा रुवाबासी भयो तर उनको आँखाबाट आँसु झरेन। यो क्रम तीन वर्ष अघिसम्म पनि जारी रह्यो। जस्तोसुकै पीडा भएपनि आँसु नआएपछि उनले डाक्टरसँग सल्लाह मागे। डाक्टरले उनलाई अपरेशन गर्न सुझाव दिए। अपरेशन गर्ने तयारीमा पनि थिए उनी।

त्यतिबेला उनकी श्रीमती मिर्गौला फेल भएर अस्पतालमा भर्ना भएकी थिइन्। शरीरको कुनै अंग नचल्ने, रातोपिरो अनि बोल्न नसक्ने श्रीमतीको अवस्था देख्दा एक्कासी उनको आँखाबाट आँसु बग्यो। उनले आँसु बगाउनका लागि आँखाको अपरेसन गर्नुपरेन।

 दूरबिनबाट बुबाको दाहसंस्कार 

श्रीपाली युद्धमा होमिएपछि तत्कालीन राज्य पक्षले परिवारलाई निकै दुख दियो। 'बुवा, आमा र श्रीमतीलाई यति धेरै पीडा दियो कि त्यसलाई म शब्दमा भन्न सक्दिनँ’ उनले भावकु बन्दै भने, ‘८१ वर्षको बुवालाई लछारपछार गरी कुटेपछि तीन दिनपछि बुवाको निधन भयो।’ उनले बुवालाई घाइते अवस्थामा ०५३ साल १ जेठमा भेटेका थिए। नाक, मुखबाट रगत आउने गरी कुटपिट भएको थियो। फर्केको दुई दिनपछि मृत्युको खबर आयो। राती १ बजे रातको समयमा श्रीपालीकी पत्नी बुवाको मृत्युको खबर लिएर उनी बस्ने सेल्टरमा आइपुगिन्। बाबुको दाहसंस्कार श्रीपालीले जंगलमा गएर दूरबिनबाट हेरे।

‘प्रचण्ड कमरेडलाई भेट्न पाउँ’ 

२०५३ साल असार २६ गते। मन्त्री श्रीपालीसँग सुतली बम थियो। घरबाट खाना लिएर साथी जेबी र उनी सेल्टर जाँदै थिए। उनीहरु घरनजिक गोठमा मात्रै पुगेका थिए। भुईंमा झरेर बम विष्फोट भइहाल्यो। पत्नी सुनकुमारी नजिकै घाँस काट्दै थिइन्। बम विष्फोटपछि साथी जेबी (जयबीर घर्ती) श्रीपालीकी पत्नीलाई खबर दिन पुगे। त्यतिबेला तिमीलाई जेबीले के भने? श्रीपालीले पत्नीलाई प्रश्न गरे। 

बम पड्केको आवाज आफूले पनि सुनेको बताउँदै उनले भनिन्, ‘भाउजु–भाउजु बम पड्कियो, दाइको मृत्यु भयो, म पार्टीका मान्छेलाई खबर गर्छु भनेर भने।’ जेबीले खबर गर्दा उनले एक मुठा मात्रै घाँस काट्न भ्याएकी थिइन्। घास काट्न छाडेर उनी कान्ला नै कन्ला हाम फाल्दै गइन्। उनी घटनास्थल पुग्दा श्रीपालीको शरीरमा पूरै आगो लागेको थियो।

आगो बलिरहेको देखेपछि उनले भैसीलाई खुवाउने कुँडो श्रीमानको शरीरमा खन्याइन्। आगो निभ्यो। ‘आगो निभेपछि मैले उहाँले लगाएको ज्याकेट झिकेँ, ज्याकेटमा आगो सल्किरहेको थियो र मैले भैसीलाई खुवाउने कुँडो खुवाएँ’ सुनकुमारीले भनिन्। श्रीपालीलाई डोकोमा बोकेर अस्पताल लगियो। होसमा आएपछि उनको बोली फुट्यो, ‘प्रचण्ड कमरेडलाई भेटेर मर्न पाए हुन्थ्यो।’

एउटी वृद्धा, जसले परालले छोपेर श्रीपालीलाई बचाइन्

उनी सञ्चो भएपछि ०५५ मा माओवादीका नेता पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका टोलीले उनलाई सुदूरपश्चिम पठाउने निर्णय गर्‍यो। उनी कैलाली जिल्ला पुगे। कैलालीका नेता काशीराम चौधरी र उनीसँगै थिए। पार्टी काममा हिँड्दा चौधरीले नै मोटरसाइकल चलाउँथे। तर त्यो दिन श्रीपालीले चलाए। उनीहरु गाउँ मात्रै पसेको थिए। गोली पड्किन थाल्यो। चारैतिर घेरा हालेर सेनाले उनीहरुमाथि आक्रमण थाल्यो। घेरा हालेको थाहा पाएपछि उनीहरु केराघारीमा गएर लुके। त्यहाँबाट थाहा नपाउने गरी फरक पोशाकमा बाहिर निस्के।

‘मैले अगाडि लगाएको कपडा फुकालेर फालेँ र एउटा हाफ कट्टु र कमिज लगाएँ। चौधरीजीले पनि चस्मा, गन्जी र लुङ्गी लगाउनुभयो’ मन्त्री श्रीपालीले सम्झिए, ‘हामी त्यहाँबाट पोशाक बदलेर चोकमा मात्रै पुगेका थियौं।' त्यहाँ २५ जना सेना सिभिल ड्रेसमा बसिरहेका थिए। चारैतिरबाट घेरा हाल्न थाले। एक्कासी गोली बर्सन सुरु भइहाल्यो, चौधरीले हामी बाँच्दैनौँ, जसरी भएपनि भागौं भन्दै थिए, श्रीपाइलीले चिन्ता नलिनुस्, तपाईलाई यहाँको भाषा आउँछ, मलाई आउँदैन भन्न मात्रै भ्याएका थिए, देब्रे छात्तीमा गोली लाग्यो। रगत बग्न थाल्यो। उनले समाए र उठाउन खोजे। त्यतिकैमा श्रीपाइलीको देब्रे खुट्टामा गोली लाग्यो। टाढाबाट आएको गोली भएकाले धेरै असर गरेन। आफूलाई गोली लागेपनि उनी चौधरीलाई उठाउन खोज्दै थिए। चौधरीले भन्दै थिए, ‘म त मर्ने भए, तपाई भाग्नुस् र बाँच्नुस्।’ लगत्तै अर्को गोली उनको टाउकोमा लाग्यो र उनको त्यहीँ मृत्यु भयो। 

श्रीपाली भने त्यहाँबाट हाम फाल्दै खेतको आलीमा पुगे। आफूले लगाइरहेको कमिज फुकालेर फाले। त्यतिबेला उनीसँग ३७ हजार रुपैयाँ थियो। कमिज फाल्दा त्यहाँ भएका पैसा सबै उड्यो र उनी उखु बारीमा पसे। सेनाहरु त्यो पैसा टिप्नतिर लागे। उनी उखुबारी हुँदै एउटा घरमा पुगे। सेनाले उखुबारीभित्र गोली हान्दै थियो। खुट्टामा लागेको गोलीबाट रगत बगेको थियो। 

उनी पुगेको घर सहिद परिवारको रहेछ। घरको आँगनमा उनी ढलेपछि घरकी महिलाले पराल ल्याएर उनीमाथि ठूलो चाङ बनाइन्। श्रीपाइलीको बगेको रगत पछ्याउँदै सेनाहरु त्यो घरमै आइपुगे। उनीहरुले महिलालाई सोधे, ‘भाग्दै आएको एउटा केटो कता गयो?’ ती महिलाले भनिछन्, ‘उतै भागेर गयो।’ रगत यहाँसम्म मात्रै छ नि? सेनाको अर्को प्रश्नमा आमाले आफ्नो काटेको हात देखाउँदै भनिछिन्, ‘मेरो हात काटेर निस्केको रगत हो यो त।’ त्यसपछि सेना फेरि अघि बढ्यो। झण्डै डेढ घण्टा आमाको सुरक्षामा बसेपछि श्रीपाली होसमा आए।

श्रीपालीले हलो जोत्दा सेना मुकदर्शक

होसमा आएपछि उनी खेतमा गएर हलो जोत्न थाले। त्यहाँका चिनेकै साथी खेत जोत्दै थिए। श्रीपाली त्यहाँ पुगेर झण्डै साढे २ बजेसम्म गोरु जोते। उनी त्यहाँका स्थानीय किसान बनेर हलो जोतुन्जेल सेना हेरिरहे। उनलाई सेनाले चिनेनन्। साढे २ बजेपछि सेना बाटो लाग्यो। उनी जोगिए।

रेडियोले भन्यो, ‘आतंककारीका नाइके प्रशान्तसहित २१ जनाको मृत्यु’

सेना फर्किएपछि उनी साथीको घरमा गए र कपडा फेरे। अनि उपचारका लागि मेडिकल पुगे। मेडिकल पुग्दा रेडियो नेपालबाट दिउँसो ३ बजेको समाचार प्रशारण हुँदै थियो। उनी एकछिन उभिएर समाचार सुने। रेडियोमा समाचार बज्यो ‘आतंकावादीका नाइके प्रशान्तसहित २१ जनाभन्दा बढी मारिए।’ आफ्नो मृत्युको खबर आफै सुन्दा उनी अचम्ममा परे।

श्रीमानलाई श्रद्धाञ्जली दिन कैलाली पुग्दा... 

पतिको 'मुत्यु' को खबर सुनकुमारीको कानमा पुग्यो। रेडियोमा पटक पटक प्रशारण भएको समाचारपछि उनले विश्वास पनि गरिन्। पार्टी कार्यकर्ताले श्रीपालीको मृत्युको खबर पत्नीलाई नदिने आन्तरिक सल्लाह भएको थाहा पाएपछि उनी झन् आत्तिइन्। राती ९ बजेतिर ‘म्याडम जाउँ हिड्नुस्, सहिद परिवारका सबैलाई बोलाएको छ’ भन्दै पार्टी कार्यकर्ताले बोलाएपछि उनी कैलाली आइन्। ‘सहिदहरुलाई गाड्न र श्रद्धाञ्जली दिन भनेर मसहित साथीहरुलाई बोलाए ल्यायो, श्रीमानको मृत्युको खबरपछि म पनि आएँ’ सुनकुमारीले भनिन्। 

घटनास्थल पुग्दा सुनकुमारी अचेत थिइन्। बेहोस अवस्थामै पति बोलेको जस्तो अनुभूति भयो उनलाई। त्यतिबेला कमान्डरको हैसियतले श्रीपाली मृतकलाई अन्तिम श्रद्धान्जली दिँदै थिए। श्रीमती सुनकुमारीले गहिरिएर सोचिन्, अगाडि भाषण गरेका मान्छे मेरै पति हो। त्यसपछि उनको आँखाबाट खुसीको आँसु झर्‍यो।  

पटक पटक पति मृत्युको खबर, तीनपटक सम्मान

करिब पाँच पटक पति मृत्युको खबर पाइन् सुनकुमारीले। परिवारमा रुवाबासी चल्यो। सहानुभुति प्रकट गर्न पार्टी कार्यकर्ता तीनपटक घरमै पुगे। श्रीपालीका दाइले भाइको मृत्यु भयो भन्ने खबरले खरानी समेत धसे। 

‘एकपटक मेरो मृत्युको खबर गाउँमा पुगेको रहेछ, मलाई थाहा नै थिएन, कस्तो संयोग त्यहीबेला मैले साथीलाई चिठी लेखेर घरमा पठाएको थिएँ’ मन्त्री श्रीपालीले भने, ‘त्यतिबेला मेरो हातले लेखेको पत्र उनको हातमा नपरेको भए सायद मेरो हल्लै हल्लामा काजकिरिया हुने थियो।’ 

त्यसपछि बर्दियामा भएको आक्रमणमा मृत्यु भएको खबर पनि परिवारमा पुग्यो। त्यतिबेला पनि पत्नीलाई पार्टीले सहानुभूति प्रकट गरेको थियो। पालैपालो खेलकुदमन्त्री श्रीपाली दाम्पतीले जीवनका अनुभव सुनाएपछि अन्तिममा सुनकुमारीलाई हामीले सोध्यौ, ‘श्रीमानले के गरोस् भन्ने चाहनुभएको छ?’ आफ्नो परिवारको जीवन नाफाको भएको भन्दै उनले थपिन्, ‘चाहेकै जस्तो खेलकुद मन्त्री हुनुभयो। पैसा कमाउनु पर्दैन। नाम कमाउनुस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.