|

काठमाडौं : सरकारले विशिष्ट व्यक्ति (भीभीआईपी)हरुको उपचार खर्चका लागि वर्षेनी करोडौं रुपैयाँ खर्चने गरेको छ। ती भीभीआईपीको उपचारका लागि स्वदेशमा होइन विदेशमा त्यो रकम खर्च हुने गरेको छ। तीनै भीभीआईपीको उपचारका लागि भनेर वीर अस्पतालमा विशेष कक्ष छ। तर उपयोगहीन।

पछिल्ला वर्षहरु मात्र सरकारले भीभीआईपी र भीआईपीको उपचारका लागि ६ करोड रुपैयाँभन्दा बढी निकासा गरिसकेको छ। का‌ंग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई एक करोड ९१ लाख रुपैयाँभन्दा बढी अमेरिकामा उपचार गर्नका लागि दिइएको थियो। एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि राज्य कोषबाट एक करोड २६ लाख रुपैयाँ बुझिसकेका छन्। त्यो पनि विदेशमै गएर उपचार गर्न। पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहलाई उपचार गर्न ५० लाख रुपैयाँ दिइएको थियो। अहिले पूर्वराष्ट्रपति रामवरण यादवलाई सरकारले अमेरिकामा उपचारका लागि ६० लाख र भत्ता ‍सहितको रकम निकासा गरेको छ। 

भीभीआईपीको विदेशमा उपचार हुने क्रम जारी रहँदा थाहाखबर भने वीर अस्पतालमा अतिविशिष्टको उपचारका लागि खोलिएको कक्ष पुगेको थियो।

सर्वसाधारणले सिटामोल नपाएको, सामान्य प्रसुति सेवा नभएर अकालमा मृत्युवरण गरिरहेको तीतो यथार्थबीच वीर अस्पतालमा भीभीआईपीका लागि भनेर खोलिएको उपचार कक्ष कस्तो छ त? भव्य र सुविधा सम्पन्न तर बेवारिसे। 

पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि अमेरिका जाने तरखरमा छन्। पूर्वप्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य उपचारका लागि थाइल्यान्डमा छन्। यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपचारका लागि सिंगापुर पुगेका छन्। तर, वीर अस्पतालको भीभीआईपी उपचार कक्ष भने 'भीभीआईपी' कुरिरहेको छ।

नेपालकै पुरानो वीर अस्पतालमा पञ्चायतकालमा राजपरिवारका सदस्यहरुले भीभीआईपी कक्षमा रहेर उपचार गराउने गर्थे। २०६२/०६३ को जनआन्दोलन पछि भीभीआईपी उपचार कक्ष प्रयोगविहीन बनेको छ। गणतन्त्र स्थापनायता कुनै भीभीआईपीले यस कक्षबाट उपचार सेवा लिएका छैनन्। अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार २०६२/०६३ पछि प्रयोगविहीन भएको यो उपचार कक्ष २०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनको बेलामा सञ्चालनमा ल्याउने प्रयास भएको थियो। २७ लाख खर्च गरेर मर्मत पनि गरियो। तर त्यसबेलादेखि अहिलेसम्म त्यसको प्रयोग भएको छैन। उनले भने, 'सरकारको निर्णय भएसँगै हामीले यस कक्षको सम्पूर्ण तयारी गरेका छौं। तर, अहिलेसम्म प्रयोग भएको छैन। बेला-बेलामा सरसफाइ गरेर राखिन्छ तर, उपयोग भने भएको छैन।' भीआईपी उपचार कक्षको भने यदाकदा प्रयोग हुने गरेको छ।

नेपालमै उपचार गराए पनि वीर अस्पताल रोजाइमा पर्ने गरेको छैन। प्राय: सबै नेपालका नाम चलेका निजी अस्पतालमा धाउने गर्छन्। केही समयअघि सभामुख ओनसरी घर्तीमगर विरामी हुँदा ललितपुरको सुमेरु अस्पतालमा उपचार गराएकी थिइन्।

को-को पर्छन् भीभीआईपी र भीआईपीमा?

वीर अस्पतालमा रहेको विशिष्ट उपचार कक्ष दुई प्रकारका छन्। एउटा भीभीआईपीका लागि र अर्को भीआईपीका लागि। भीभीआईपीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख पर्छन् भने भीआईपीमा मन्त्रीहरू, सांसद, पार्टीका शीर्ष नेताहरू, संवैधानिक अंगका प्रमुख, पूर्व मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरू पर्छन्।

विशिष्ट उपचार कक्षमा के छ सुविधा?

विशिष्ट उपचार कक्ष अन्तर्गत भीभीआईपी कक्षमा विरामीको कोठा र अन्य  ८ वटा कोठा छन्। भीभीआईपीका लागि विरामीको कोठासहित भान्सा, सुरक्षाकर्मी बस्ने कोठा, स्वकीय सचिव, कुरुवा, पाहुनाकक्ष गरी ८ वटा कोठा छुट्याइएको छ। यस्तै, विरामी जाच्ने चिकित्सक र नर्सहरूका लागि छुट्टै कोठाको व्यवस्था छ। सबै कोठामा एट्याच बाथरुम पनि रहेको छ। अस्पतालले यो सुविधाबापत दिनको २४ हजार शुल्क तोकेको छ।

यस्तै, भीआईपीका लागि मेडिकल सुविधा समान रहे पनि स्वकीय सचिवका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छैन।

पछिल्लो २ वर्षमा क-कसले लिए उपचार सेवा?

वीर अस्पतालकाअनुसार पछिल्लो दुई वर्षमा मात्र ४ जना भीआईपीले उपचार गराएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल एक हप्तासम्म अस्पतालमा रहेर उपचार गराएका थिए। यसैगरी ३ महिला सासंदहरू कमलादेवी महतो, अम्विका खवास चौधरी र कमला शर्माले  पनि वीर अस्पतालको विशिष्ट उपचार कक्षको उपयोग गरे। तर भीभीआईपी भने कोही त्यहाँ पुगेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.