विचार

तीज र महिला स्वतन्त्रता
SHARES

भदौ १५, २०७३

    नेपाली महिलाको महान पर्व भनेर चिनिने हरितालिका तीज शायद विश्वकै सबैभन्दा मौलिक र विशिष्ट चाड हो। मौलिक यसकारण कि कुनै पनि देशमा महिलाले मात्रै मनाउने चाडको बारेमा त्यति सुन्न पाइदैन। नेपालको तीज यसकारण पनि विशिष्ट छ कि यसलाई महिलाले वर्षभरि आफूले स्वरबद्ध गरेर राखेका भावना पोख्ने चाडको रुपमा मनाउँछन्। साँवा अक्षरसम्म पनि नचिन्ने महिलाले दिनभरिको घरधन्दाको चटारोबाट समय बचाएर कसैले नदेख्ने नसुन्ने गरी वर्षभरिका आफ्ना भोगाइलाई गीतको रुपमा स्वरबद्ध गरेर राख्छन् र वर्षदिनमा एकचोटि त्यसलाई धीत मर्ने गरी संगिनीहरुको बीचमा गाएर आफ्ना पीडा बाँड्छन्।

    सृजनशीलताभित्र निहीत अभिव्यक्ति स्वतन्त्रता

    युगौंदखि वर्षभरि सासु, ससुरा, आमाजु, नन्द र पतिको दमन सहेका र पतिको घरमा चुपचाप बस्ने महिलाले पनि तीजको दिनमा आफूले भोगेका पीडालाई गीतमार्फत निर्धक्क अभिव्यक्त गर्दै आएका छन्। नेपाली तीजको सबैभन्दा बलियो र सुन्दर पक्ष हो, तीजमा गाइने परम्परागत गीतहरु जसमा उनीहरुले आफ्ना ब्यक्तिगत पीडादेखि समाज, संस्कृति र राजनीतिसमेत समेट्न भ्याएका हुन्छन्। जस्तै–

    सानो सानो काँकरीको चिचिलो

    टिपन सकिन खाइन बरीलै

    सातै गंगा पारी दिनुभयो बाबा

    तरन सकिन आइन बरीलै

     

    टाढाको माइती, भदौको भेलले बढेका खोलानाला, यातायातको पहुँच नभएको समयमा माइत जान नसकेकी चेलीको पीडा आदि माथिको टुक्कामा अभिव्यक्त भएको छ भने तल प्रस्तुत गीतको टुक्कामा महिलाले पढ्न नपाउने चलन भएको समाजमा अंग्रेजी पढेका पतिले सामान्य कुराकानीमा पनि प्रयोग गरिदिने अंग्रेजी शब्द र आफूले अंग्रेजी नजानेका कारण दैनिक जीवनमा आइपर्ने अप्ठयारो र त्यसबाट महिलालाई हुन पुगेको लज्जाबोधलाई देखाइएको छ–

    स्वामीजीले पानी मागे अंग्रेजीमा वाटर

    नबुझेर दिएँ मैले काँचो कटर

     

    दिनभरि घरै बस्ने, चुलोचौकोमा अल्झेका र देश दुनियाँको बारेमा केही चेतना नभएका भनेर टिप्पणी गरिने नेपाली महिला बढेको बजारभाउप्रति समेत कति सचेत थिए भन्ने कुरा २०४७ सालमा सुनिएको यो गीतको टुक्काले बताउँछ–

    ६ रुपियाँको मट्टीतेललाई ११ रुपियाँ बनायो

    शोषक र सामन्तीले धन कमायो

     

    अधिकारका कुरालाई नयाँ पुस्ताले व्याख्या गर्ने तरिका र भाषा अलग होलान् तर अघिल्लो पुस्ताका महिला पनि अधिकारको लागि कम सचेत थिएनन्। जस्तै–

    डाँडैको पिपलु हरर बतास

    उठ बजै ढोका खोल किताब कता छ।

     

    बुहारीले एकाविहानै ढोका खोलेर दैलो पोत्ने संस्कृतिलाई चुनौती दिंदै एउटी बुहारीले विहान उठेर पोतो खोज्नुको सट्टा किताब खोजेको कुरा व्यक्त गरेर शिक्षा प्राप्त गर्न आफू स्वतन्त्र रहेको कुरा गीतमा सरल तर स्पष्ट तरिकाले प्रस्तुत गरिएको छ।

    स्वतन्त्रताको सही अर्थ

    युगौंदेखि तीजलाई स्वतन्त्रताको चाड मानिंदै आएको छ। पार्वतीले जीवनसाथी छान्ने स्वतन्त्रताको प्रयोग गरेर सुरु गरेको तीजले समय अनुसार आफूलाई विभिन्न रुपमा परिमार्जित गर्दै लगेको छ। वर्खामासभरिको रोपाइँको परिश्रमले थाकेकी बुहारीलाई अलिक लामै समयका लागि घरकाले नाइँनास्ती नगरी माइत पठाउने चलनले पनि तीजको उत्सव मनाउने महिलाको स्वतन्त्रतालाई परिवार र समाजले विनाशर्त स्वीकारेको पाइन्छ। पुरुषहरुले झैं चौतारामा जुवातास खेल्ने वा घरमै साथीभाइ भेटेर खानपिनका साथ रमाइलो गर्ने आदि मनोरन्जनको स्वतन्त्रताबाट टाढा रहेका नेपाली महिलाले वर्षदिनमा एकचोटि मात्र पाइने तीजको नाचगानसहितको मनोरन्जनको स्वतन्त्रतालाई सकभर छुटाउन चाहँदैनन्। माइतीघरमा बाल्यकालका साथीसँग केही दिन बिताउँदाको खुशी र वर्षदिनमा एकचोटि शरीर तंग्रिने गरी खाएको दरबाट प्राप्त गरेको तागतले चौतारा, मन्दिर र खोलाका किनारमा घन्किने तीजले आज सहरबजारमा आफूलाई तारे होटेल र पार्टी प्यालेससम्म फैलाइसकेको छ। हिजोसम्म कुनै धर्मविशेषका र जातिविशेषका महिलाले मात्र मनाउने चाड भनिएको तीज आज त्यो घेराबाट फुत्केर सम्पूर्ण नेपाली महिलाको सांस्कृतिक पर्व बनेको छ जुन अत्यन्त खुशीको कुरा हो।

    तर हिजोआज कतैकतै व्यंग्यात्मक टिप्पणीहरु पनि सुनिन थालेका छन् ‘दशैं दश दिन तीज तीस दिन’ वा ‘गाउँका महिलाले माइत जानका लागि तीज आउनुअघि गाई, भैंसीलाई घाँस काट्न थाल्छन् भने सहरकाले आँखीभौं र कपाल’ आदि। एउटै देशमा कतै एकदिनका लागि ‘दर खान माइत जान पनि पाउने हो कि हैन’ भनेर छटपटाउने महिला छन् भने कतै महिनादिन अघिदेखि ‘एकदिनमा कतिठाउँमा पो दर खान जान भ्याउने’ भन्ने चटारोले माइतै जाने फुर्सत समेत नपाउने महिला पनि छन्। वर्षभरि भइरहने पारिवारिक जमघटमा कहिले परिवारका सदस्य त कहिले लोग्नेका साथीका लागि खाना पकाएर टकार्ने र चुपचाप भान्साको कुनामा बसेर खाना थप्न आउने बोलावट कुरेर हैरान बनेका हामी नेपाली महिला यतिखेर शहरबजारमा देखिएको तीजको यो नयाँ स्वरुपप्रति निकै आकर्षित छौं। ‘आफ्ना लागि आफैं पकाउने र खाने हो, त्यसमा नराम्रो मान्नुपर्ने केही छैन’ भनेर हामी आजकल महिनादिनसम्म खाइने दरमा रमाउन र त्यसैलाई स्वतन्त्रताको नाम दिएर बचाउ पनि गर्न थालेका छौं।

    तर आफूलाई शिक्षित ठान्ने हामीले बिर्सनु के हुँदैन भने शिक्षित व्यक्तिले कुनै पनि विषयको राम्ररी अध्ययन गर्छ, पर्वहरुको मौलिकताको पनि। स्वास्थ्य र शरीरप्रति निकै सचेत हामीलाई अब कम्तीमा यति थाहा हुनैपर्ने बेला भएको छ, महिना दिनसम्म चिल्ला र मसालेदार खाना दैनिक रुपमा खाँदा शरीरले पचाउन सक्दैन। अर्कोतिर एकदिनमा मान्छेको शरीरलाई कम्तीमा ३ लिटर पानी चाहिन्छ र दिनभरी पानी समेत नपिई ब्रत बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्छ। एकातिर हामी दरको नाम दिएर शरीरलाई चाहिने भन्दा बढी गरिष्ठ खाना हप्तौंसम्म खान्छौं, अर्कोतिर एक दिनभरि शरीरलाई चाहिने मात्रामा पानी समेत नपिई आफ्नो स्वास्थ्यसँग खेलवाड गर्छौ। सुधार हुनुपर्ने यस्ता कुराहरु भने हामीले यथावतै राखेका छौं। भावनात्मक रुपमै हेर्ने हो भने पनि वर्षदिनमा एकचोटि आमाले पकाएको दरको पोषण र मिठासको तुलना तारे होटल वा पार्टी प्यालेसमा सयौंलाई एकमुष्ट पकाइएको खानासँग हुनै सक्दैन। न पकाउने व्यक्तिमा त्यो आत्मीयता पाइन्छ, न खानेमा नै। महिना दिनसम्म प्रत्येक दिनजसो नयाँ कपडा र महंगो मेनुमा रकम खर्चेर खाएको दरले हामीलाई कति आर्थिक भार दिन्छ र उक्त रकमलाई हामी कस्ताकस्ता सृजनात्मक काममा खर्चन सक्छौं यो पनि सोचनीय विषय हुनसक्छ। बरु हामीले वर्षभरि हुने पारिवारिक जमघट र रमाइलाहरु नै समावेशी होउन्, महिला लगायत परिवारका सबै सदस्यले त्यसमा खुलस्त र बराबर रुपमा भाग लिन पाउन् र ‘तीसदिन तीज मनाउनेहरु’ भन्ने कटाक्षबाट आफूलाई मुक्त राख्नेतर्फ पो पहल गर्नुपर्ने हो कि?

    स्वतन्त्रताको अर्थ हो बन्धनमुक्त हुनु। बन्धनमुक्ति भनेको आफूलाई रंगविशेष, पोशाकविशेष वा गहनाविशेषको घेरा वा परिधिबाट मुक्त राख्न सक्नु पनि हो। हामीभन्दा अघिल्लो पुस्ताका महिला कुनै विशेष गहना वा विशेष रंगका लुगाविना नै आफूसँग जे छ त्यही लगाएर चौतारामा दिनभरि नाच्थे। जुन कुरामा आजको पुस्ता चुक्दै गएको आभास हुन थालेको छ। गहना र लुगाको यही घेराले कतिपय महिलालाई तीजमा स्वतन्त्र रुपले साथीसंगीको जमघटमा जान र नाच्न गाउनबाट रोकेको तीतो यथार्थ हामीबीचमै कुरुप स्वरुपमा उभिन थालिसकेको छ, जुन स्वयं तीजकै मान्यताको विरुद्ध छ।

    अधिकारप्रति सचेत हामी नयाँ पुस्ताका महिला जसलाई आफूमाथि लगाइने कुनै पनि गलत आरोप स्वीकार्य छैन, त्यस्तोमा हामी तीजको मौलिकता बिगारेको आरोप चुपचाप कसरी सहन सक्छौं? धार्मिक, सामाजिक वा सांस्कृतिक कुनै पनि व्याख्यामार्फत स्थापित गरिएको भएपनि तीज स्वतन्त्रताको प्रतीक हो र यसको मौलिक सुन्दरतालाई जोगाइराख्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ। निर्धक्क भएर तीज मनाऔं, स्वतन्त्र भएर नाचौं गाऔं। संस्कृति जोगाऔं तर विकृति नभित्र्याऔं।

सावित्री गौतम

गौतम पोखरामा कार्यरत स‌ंचारकर्मी हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]