|

बाँकेः ग्रामीण भेगमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको छ। जिल्ला एथ्लेटिक्स संघ बाँकेले पहिलो पटक बाँकेको खजुरा गाउँपालिका– २, सीतापुरमा दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता गर्न लागेको हो। 

संघले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा १९ वर्षमुनिका छात्र र छात्राको सहभागिता रहने बताए। प्रतियोगितास्थल नेपालगंजबाट आठ किलोमिटर पश्चिममा पर्छ। 

यही पुस १२ देखि १४ गतेसम्म हुने प्रतियोगिताका लागि तयारी तीव्र रूपमा भइरहेको बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष विक्रमजंग थापाले जानकारी दिए। एथ्लेटिक्सका ११ वटा इभेन्ट समावेश गरिएको उक्त प्रतियोगिता संचालनका लागि ट्र्याक निर्माण भइरहेको समेत बताए। ‘ग्रामीण भेगमा पनि राष्ट्रियस्तरका प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश दिन खजुरा गाउँपालिकामा आयोजना गरिएको हो’, उनले भने। 

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगंज रंगशाला पुनः निर्माण भइरहेकाले ट्र्याक बनाउन नसकिने भएपछि खजुराका सीतापुरस्थित शुक्र माविको प्रांगणमा प्रतियोगिता आयोजना गर्न लागिएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए। 

आठौँ राष्ट्रिय प्रतियोगिता गाउँमा समेत संचालन गर्ने वातावरण बनाउन दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता गाउँमा आयोजना गरिएको उनको भनाइ थियो। ‘नेपालगंजस्थित रंगशालामा प्रतियोगिता गर्न असम्भव भएपछि विकल्पको रूपमा सीतापुरस्थित शुक्र माविको खेल मैदान उपयुक्त देखियो’, उनले भने

प्रतियोगितामा ११ इभेन्टका खेल मात्र समावेश
प्रतियोगितामा ट्र्याकतर्फ एक सय मिटर, दुई सय, चार सय, आठ सय, एक हजार ५००, पाँच हजार र चार गुने चार सय मिटर रिले दौड र फिल्डतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटफुट, ज्याभलिन थ्रोका प्रतियोगिता हुने आयोजकले जनाएको छ। 

आर्थिक भार कम गर्न र एथ्लेटिक्सका सबै खेलका लागि खेलाडी नभएकाले प्रतियोगितामा ११ इभेन्टका खेल मात्र हुने प्राविधिक उपसमितिका संयोजक चन्द्रबहादुर गुरुङले जानकारी दिए। 

उनले पाँचवटा विकास क्षेत्रबाट १६ खेलाडी तथा दुई जना अफिसियल गरी ९० जनाको सहभागिता रहने बताए। ‘अन्तर्राष्ट्रिय जगतमा हुने युथ तथा जुनियरतर्फका वल्र्ड च्याम्पियनसीप, युथ एसियन च्याम्पियनसीपलगायत ठूला प्रतियोगिताका लागि छनोट स्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिइएको छ’, उनले भने। 

प्रतियोगिताका लागि मूल र उपसमिति गठन
प्रतियोगिता सफल पार्न खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ। खजुरा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष, इशाका, जनस्वास्थ्य, सुरक्षा निकायका प्रमुख, सहकारी संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, विभिन्न संघसंस्था र क्लबका अध्यक्षहरू मूल समितिको सदस्य रहेका छन्। 

प्रतियोगितालाई चुस्त बनाउन उपसमिति गठन भएका छन्। आयोजक बाँके जिल्ला एथ्लेटिक्स संघका अनुसार प्रचार प्रसार उपसमिति संयोजकमा टीएस ठकुरी, स्वागत सत्कार उपसमितिको संयोजकमा यमबहादुर महतारा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा छविलाल विष्ट, मंच व्यवस्थापन संयोजकमा गेहेन्द्र धिताल र स्वागतद्वार निर्माण तथा सरसफाई उपसमिति संयोजकको जिम्मेवारी नन्दलाल गुर्ताललाई दिइएको छ। 

त्यसैगरी प्राविधिक संयोजकमा चन्द्रबहादुर गुरुङ, मंच सजावट उपसमिति संयोजकमा चित्रा केसी, फिल्ड व्यवस्थापन तथा मर्मत उपसमिति संयोजकमा आतंक बस्नेत, प्राथमिक उपचार संयोजकमा सम्मरबहादुर खत्री, सांस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति संयोजकमा डीबी तामाङ र सचिवालय प्रमुखको जिम्मेवारी यमनारायण महतोले पाएका छन्। बाँके जिल्ला खेलकुद विकास समितिले सहकार्य गरेको उक्त प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.