एकताको आधार तयार गरेर सरकार गठन गर्नुपर्ने निष्कर्ष

|

काठमाडौं: वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रमा पार्टी एकता सुनिश्चित भएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउनुपर्ने आवाज उठेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकमा बोल्ने नेताहरूले 'पार्टी एकताको आधार तय गरेर' सरकार निर्माणतर्फ अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलो पटक बसेको केन्द्रीय कार्यालय बैठकले वाम गठबन्धनमा आवद्ध दलहरूलाई पार्टी एकताका लागि जनताले अनुमोदन गरेर मत दिएकाले पार्टी एकतामा लाग्नु अबको सही मार्ग भएको निष्कर्ष निकालेको हो।

दिउँसो १२ बजेदेखि तीन घण्टासम्म बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले वाम गठबन्धनलाई पार्टी एकता गर्ने भनेपछि बहुमत दिएकाले त्यहीअनुरुप अगाडि बढ्नुपर्ने पक्षमा धारणा राखेको अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै एक नेताले जानकारी दिए।

प्रचण्डपछि बोलेका नेताहरूले 'पार्टी एकताको आधा तयार गरेर' मात्रै सरकार गठनमा लाग्नुपर्ने धारणा राखेको स्रोतले बतायो। एकतापछिको पार्टीको नेतृत्व र प्रधानमन्त्रीबारे सरकार गठन पहिल्यै निर्क्योल गर्नुपर्ने पक्षमा अधिकांश नेताले धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

एमालेका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नै संसदीय दलको नेता, प्रधानमन्त्री र एकतापछि पार्टीको अध्यक्ष बन्नुपर्ने धारणा राखिरहेका बेला माओवादी पक्षबाट सरकार गठनअघि नै पार्टी एकतापछिको नेतृत्वबारे टुंगो लगाउनुपर्ने धारणा आएको हो।

पार्टी बैठकमा सरकार सञ्चालन र एकतापछिको पार्टी सञ्चालनबारे एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको 'भद्र सहमति'को पालनाबारे पनि कुरा उठेको ती नेताले बताए। भद्र सहमति के भएको थियो भन्नेबारे बताउन नचाहे पनि सरकारको नेतृत्व र पार्टी नेतृत्व मिलेर गर्नेबारे रहेको ती नेताले बताए।

पार्टी एकतालाई जनता र कार्यकर्ताले अनुमोदन गरिसकेकाले अब कसैले रोक्न खोजेर नरोकिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 'पार्टी एकता गर्ने कामलाई अगाडि बढाउने र सरकार बनाउने कुरालाई पनि सँगसँगै लैजानुपर्छ। यसलाई जनताले अनुमोदन गरिसकेका छन्', पार्टी एकताबारे उनले भनिन्, 'लाखौँ जनताले अनुमोदन गरेका छन् र दुवै पार्टीका कार्यकर्ताले अनुमोदन गरिसकेका छन्, कसैले रोकेर रोकिँदैन। (सरकार गठन प्रक्रियासँगै) पार्टी एकताको कुरा पनि मूलभूत कुरामा टुंगिन्छ।'

पार्टीहरू एकअर्कामा विलय नभई एकता हुन लागेकोले सबै पदबारे सहजै सहमति हुने उनको विश्वास थियो। उनले पार्टी एकता कुनै लेनदेनको विषय नभएको बताइन्।

 यस्तो रह्यो चुनावको ब्रिफिङ

लामो समयपछि बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचन परिणामबारे समेत छलफल भएको थियो। प्रत्यक्षमा एक भएर गएपछि ४० सिटभन्दा बढी जित्ने आशा गरेको तर त्यसो हुन नसकेको कुरा बैठकमा उठेको थियो। एमालेका अधिकांश नेता विजयी भए पनि माओवादीका भने सोहीअनुरुप विजयी हुन नसकेको कुरा बैठकमा उठेको एक नेताले बताए।

त्यस्तै, समानुपातिकमा कम मत आएको बारे पनि बैठकको छलफलको विषय बनेको नेता पर्शुराम तामाङले बताए। उनका अनुसार चुनावी रणनीति तय नभएकाले नै मत कम आएको भन्ने विषयमा बहस भएको थियो।

समानुपातिकमा माओवादी १३ प्रतिशतमा झर्नुमा प्रत्यक्षमा कम उम्मेदवार हुनु रहेको प्रवक्ता पम्फा भुसालले बताइन्। '६० प्रतिशत निर्वाचन क्षेत्रमा त उम्मेदवार थिएनन्, जहाँ भोट माग्ने कुरा सहज भएन', समानुपातिकमा माओवादीको मत कम आएको बारे भुसालले भनिन्, 'मतदाता शिक्षा उचित ढंगले न निर्वाचन आयोगले दिन सक्यो, न हामीले नै दिनसक्यौँ। स्थानीय तह निर्वाचनमा हामी १६ प्रतिशतभन्दा बढी थियौँ, अहिले १३ प्रतिशतमा झरेको छ।'

राष्ट्रियसभा गठन विवाद सहमतिबाट समाधान गर्ने

निर्वाचनपछिको राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठनबारे पनि छलफल भएको थियो।

राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणालीबाट गर्ने कि बहुमतीयबाट गर्ने भन्नेबारेको विवाद शीर्ष नेताको सहमतिबाट समाधान गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ। त्यसका लागि नेपाली कांग्रेससँग छलफल गर्नुपर्नेमा जोड दिइएको थियो। प्रवक्ता भुसालले भनिन्, 'राष्ट्रियसभाको निर्वाचन राजनीतिक विषय हो, राष्ट्रिय पार्टीका शीर्ष नेता बसेर राजनीतिक ढंगले हल गर्नुपर्छ।'

वामदेव र नारायणकाजीलाई समेट्नेबारे छलफल

प्रतिनिधिसभा सदस्यमा बर्दिया क्षेत्र नम्बर- १ बाट पराजित एमाले नेता वामदेव गौतम र गोरखा- २ बाट पराजित माओवादी नेता नारायणकाजी श्रेष्ठको पराजयबारे पनि बैठकमा छलफल भएको थियो। वाम गठबन्धन निर्माण गर्न र पार्टी एकताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुवैलाई पराजित गर्न पार्टीहरूभित्र अन्तर्घात भएको र पार्टीबाहिरका शक्ति पनि लागेको कुरा बैठकमा उठेको स्रोतले बतायो। निर्वाचनका क्रममा अन्य क्षेत्रमा भएका अन्तर्घातका विषयबारे पनि बैठकमा छलफल भएको बताइएको छ।

वाम गठबन्धन बनाउन मूख्य भूमिका खेलेका गौतम र श्रेष्ठलाई नयाँ भूमिका दिनुपर्नेबारेमा पनि छलफल भएको कार्यालय सदस्य मणि थापाले जानकारी दिए। 'उहाँहरूलाई महत्त्वपूर्ण भूमिका दिनका लागि गठबन्धनले नै निर्णय गर्नुपर्छ भन्ने कुरा उठेको छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.