|

बाँकेः विवाह भएको २० वर्षपछि मात्र खजुरा गाउँपालिका– ८, रनियापुरकी समसुल पठानिनले नेपाली नागरिकताको प्रमाणपत्र पाइन्। 

उनका पतिले नागरिकता बनाउन चासो नदिएका कारण उनले विवाह भएको २० वर्षपछि मात्र नेपाली नागरिक भएको प्रमाणपत्र पाइन्। उनले नागरिकता लिने बेला छोरा १६ वर्षका थिए। नागरिकता लिएको छ महिनापछि छोराले पनि नागरिकता लिएको उनले बताइन्। 

रनियापुरकी सावरा बेगमका पति पनि तीन छोरी र एक छोराको जन्मपछि मात्र पत्नीको नागरिकता बनाउन मञ्जुर भए। पतिले चासो नदिएपछि नागरिकता बनाउन आफूले पनि वास्ता नगरेको सावराले बताइन्। नागरिकताको महत्त्वको बारेमा नबुझेका कारण वास्ता नगरेको उनको भनाइ छ। ‘छोराछोरी ठूला भएपछि मात्र नागरिकता बनाउन श्रीमान मञ्जुर हुनुभयो’, उनले भनिन्, ‘श्रीमानले कारण त खोल्नुभएन तर उहाँको कुरा बुझ्दा मप्रति विश्वास नभएर नागरिकता बनाउन चासो नदिएको जस्तो लाग्छ।’ 

नागरिकता नहुँदा घरमा असजिलो महसुस भएको उनले सुनाइन्। ‘खै किन हो, परिवारको सदस्य जस्तो लाग्दैनथ्यो, के नभएको, नपुगेको जस्तो महसुस हुन्थ्यो’, उनले भनिन्। 

श्रीमतीको नागरिकता बनाइदिएपछि अंश दिनुपर्छ भन्ने बुझाइका कारण ग्रामीण भेगका मुस्लिम समुदायका पुरुषले विवाह भएको लामो समयसम्म पनि श्रीमतीको नागरिकता बनाउन इच्छुक नहुने गरेको रनियापुरकी साहिरा खानले बताइन्। नागरिकता नबन्दै उनका श्रीमानले तलाक (सम्बन्ध बिच्छेद) गरेको उनको भनाइ छ। श्रीमानको नामबाट नागरिकता नभएकै कारण उनले सम्बन्ध बिच्छेद भए पनि अंश पाइनन्। ‘विवाह भएको कुनै कागज थिएन, अंशका लागि दाबी गर्ने कागज नभएपछि केही नलिईकन सम्बन्ध बिच्छेद भयो’, उनले भनिन्। उनी अहिले माइतीमा बस्दै आएकी छन्। अंश दाबी गर्नका लागि कागज नभएपछि चुप लागेर बसेको उनले सुनाइन्। 

महिलाले थाले नागरिकता र विवाह दर्ता अभियान
पछिल्लो समय रनियापुरका मुस्लिम महिलाले विवाह हुनासाथ विवाह दर्ता र त्यही आधारमा नागरिकताको प्रमाणपत्र लिने अभियान थालेका छन्। आफ्नी श्रीमतीको नागरिकता बनाउन नचाहने पुरुषलाई भेटेर विवाह दर्ता र नागरिकता बनाइदिन सुझाव दिन महिलाहरू घरमै पुग्ने गरेका छन्। बच्चाको जन्म दर्ता गराउन दबाबसमेत महिलाले दिने गरेका छन्।

रनियापुरकी ८० वर्षकी नन्दारानी चमारको नागरिकता बनाउन सफल भएको वडा सदस्यसमेत रहेकी महिला अधिकारकर्मी समसुल पठानिनले बताइन्। नन्दारानीका श्रीमानले नागरिकता बनाउन नचाहेको बताउँदै उनले नागरिकता बनाउँदा हुने फाइदाका बारेमा सम्झाई बुझाई गरेपछि उनका श्रीमान मञ्जुर भएको सुनाइन्। जन्म मिति थाहा नभएकाले अन्दाजको भरमा जन्म मिति राखेर नागरिकता बनाइदिएको उनको भनाइ छ।

नन्दारानीको नागरिकता बनेपछि अहिले बुढाबुढी शान्तिका साथ बसेको उनले बताइन्। अंश लिएर अर्कैसँग भाग्छे भन्ने डरले नन्दारानीका श्रीमानले नागरिकता बनाउन आनाकानी गरेको वडा सदस्य समसुलले जानकारी दिइन्। ‘नागरिकता बनेपछि दुवैको स्नेह झनै बढेको छ, पछिल्लो समय मिलेर बसेका छन्’, उनले भनिन्। 

आफ्नो नागरिकता विवाह भएको २० वर्षपछि बनाउन सफल भएकी उनले आफ्नी बुहारीको विवाह दर्ता भने छिट्टै गरिदिइन्। सुरुवात आफ्नैबाट गर्नुपर्छ भन्ने लागेर विवाह हुनासाथ छोरा र बुहारीलाई विवाह दर्ता गराउन पठाएको उनले बताइन्। 

अभियानपछि सकारात्मक बन्दै पुरुष
गाउँमा केही महिलाले समूह गठन गरेर अधिकारका लागि सचेतना अभियान थालेपछि विवाह, जन्म र मृत्यु दर्ता गराउनेको संख्या बढेको छ। अधिकारका लागिसमेत मुस्लिम महिला जागरुक भएका छन्। घरको चौघेरामा सीमित महिला जागरुक भएपछि विभिन्न तालिम, गोष्ठी, सभामा गएर आफ्ना कुरा राख्न सक्ने भएका छन्। 

महिला जागरुक भएपछि कार्यक्रममा सहभागी हुन पुरुषले पनि सघाउन थालेका छन्। श्रीमानको सहयोग र सल्लाहमा समूहमा बसेका मीना खाँले बताइन्। उनले कार्यक्रम, तालिम र सभामा जान श्रीमानले रोकतोक नगरेको बताइन्। राम्रो काममा मात्र जान्छिन् भन्ने लागेपछि कार्यक्रममा जान सजिलै स्वीकृति दिन थालेको स्पष्ट पारिन्। ‘कार्यक्रममा जान लागेको छु भन्दा परिवारका सदस्यले जाऊ, छिट्टै आउनु भन्नुहुन्छ’, उनले भनिन्। 

समूहमा बसेपछि कार्यक्रममा सहभागी हुन काठमाडौंसम्म पुगेको नजिना खातुन अन्सारीले बताइन्। उनले कार्यक्रममा सहभागी भएपछि ज्ञानका धेरै कुरा बुझ्न पाएको बताइन्। ‘पहिले भान्साबाहेक केहीको ज्ञान थिएन, अहिले अधिकारका साथै देश, विदेशमा भएका गतिविधिसमेत जान्न, बुझ्न पाइएको छ’, उनले भनिन्, ‘कार्यक्रममा सिकेको कुरा घरमा पनि सुनाउँछु, बुझाउँछु, श्रीमान पनि दंग पर्नुहुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.