|

जुम्ला : मंसिर लागेपछि चिसो बढेर हिउँ पर्नुपर्ने कर्णालीमा पुसको मध्य हुनलाग्दा पनि हिउँ नपर्दा कठ्याङ्ग्रिने जाडो बढेको छ। अत्यधिक बढेको जाडोले अहिले यहाँका स्थानीयलाई बिहान र बेलुकाको काम गर्न समस्या भएको छ।

चिसोले गर्दा वृद्धवृद्धा, अशक्त, महिला र बालबालिकालाई बढी समस्या भएको छ। पानी जम्दा धारा आउन छोडेकोऽ पाइप फुट्ने र धारा भाँचिने गरेको स्थानीय सम्झना महत बताउँछिन्। धारामा पानी नआउँदा पानी खान, नुहाउन र कपडा धुन पनि गाह्रो भएको महत दुखेसो गर्छिन्। 'धाराबाट पानी निकाल्न तातोपानी पाइपमा खन्याएर बरफ पगाल्ने गरेका छौं', उनले भनिन्।

कठ्याङ्ग्रिने चिसोबाट बच्न आगो ताप्दै व्यापार गर्ने गरेको स्थानीय व्यापारी हरिमाया न्यौपानेले बताइन्। 'आगो नताप्ने हो भने चिसो घुस्ने र त्यसको असरले न्यूमोनियासम्मका समस्या बढ्न सक्छ', उनले भनिन्,  'त्यसैले आगो बाल्न दाउरा किन्ने गरेका छौं।'

अफसेट प्रिन्ट, फोटोकपी फ्याक्सले पनि काम गर्न छाडेको बुढो मष्टो अपसेटका सञ्चालक कृष्ण बोहोराले बताए। मसी जम्ने, प्रिन्ट भएका पेपरमा मसी लेपिएर आउने गरेको उनले जनाए। चिसोले गाडीमा 'ट्याङ्कीको तेल जम्दा गाडी चलाउन गाह्रो भएको छ।

चिसोले बिहान दाउरा, मल बोक्ने, सोत्तर ओसार्ने र घरधन्दा गर्ने महिला बढी मारमा पर्ने गरेका छन्। चिसोले न्यूमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सूर्यमान लिम्बुले जनाए।

जुम्लाको बिहानको तापक्रम माइनस ३.५ डिग्री सेन्टिग्रेड तापक्रम रहेको र निकै चिसो बढेको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताए। उनले भने, 'अब बादल लाग्नेबित्तिकै पानी पर्छ।' जनवरी १\२ तारिखममा पानी पर्ने उनको भनाइ छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.