|

काठमाडौं : गम्भीर बिरामी भएर बेलायतमा उपचाररत वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार दीप प्रज्वलन गरिएको छ। बिरामी भएपछि दुई हप्ताअघि उपचारको लागि बेलायत पुगेका डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको खबर पाएपछि नेपाली चिकित्सक र देवकोटाका शुभ चिन्तकले उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिको वनकालीमा दीप प्रज्वलन गरेका हुन्।

वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको अगुवाइमा गरिएको दीप प्रज्वलनमा ५० भन्दा बढी चिकित्सक, नागरिक समाजका व्यतित्वहरुको सहभागी थिए। दीप प्रज्वलनपछि डा. रिजालले हजारौं मानिसलाई मृत्युको मुखबाट जोगाएका डाक्टर आफै बिरामी भएर उपचाररत भएको अवस्थामा उनको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए।

'नेपालको चिकित्सा क्षेत्र र स्नायुरोगको उपचारको क्षेत्रका डा. देवकोटा एक नक्षेत्र हुन्, तर आज उनी आफै बिरामी भएर उपचारमा छन्। उनलाई चाँडै नै सञ्चो भएर फेरि विरामीको उपचार गरेको हामी सबैले देख्न पाउँ' उनले भने। रिजालले डा. देवकोटाको स्वास्थ्य अवस्थाको बारेमा आधिकारिक जानकारी नआए पनि उनको समस्या गम्भीर रहेको बताए। 'हामीले थाहा पाउने प्रयास गरिरहेका छौं। तर आधिकारिक रुपमा हामीलाई यही नै भएको हो भनेर जानकारी आएको छैन, जस्तो समस्या भए पनि हाल उहाँ अस्तपालमा भर्ना हुनुभएको छ। जस्तो भए पनि उहाँलाई चाँडै सञ्चो होस्' डा. रिजालले भने।

नेपालमा हुँदा नै बिरामी भएपछि डा. देवकोटा उपचारको लागि बेलायत गएका थिए। देवकोटामा केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको थियो, पछि यसको समस्या बढ्दै गएको र जन्डिसको समेत समस्या देखिएको थियो। डा. देवकोटाको हाल बेलायतको लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार भइरहेको छ। उनको स्वास्थ्य समस्या के हो भन्ने विषयमा परिवारले पनि आधिकारिक जानकारी दिएको छैन।

हेर्नुस् दीप प्रज्वलनको फोटो

फोटोहरु : दिपक केसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.