|

तनहुँ : सुरक्षित बीउ भण्डारणका लागि तनहुँका किसानहरुलाई सिडविन (धातुका भाँडा) वितरण गरिएको छ। कृषकहरुलाई कृषि उपजको बीउ भण्डारण सहज गराउनका लागि सिडविन वितरण गरिएको हो।

जिल्लाका १० स्थानीय तहका गहुँ, धान लगायतका खाद्य वस्तुको बीउ भण्डारण गर्ने किसानलाई सहज र सुरक्षित बनाउन जिल्ला कृषि विकास कार्यालय तनहुँले किसानहरुलाई मेटलको सिडबिन वितरण गरेको बताएको छ।

कृषि विकास रणनीति तथा समन्वय कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालय तनहुँले मेटलको सिडबिन वितरण गरी किसानलाई सहजता प्रदान गर्न थालेको हो।

लामो कृषकहरुबाट समय देखि विउँको सुरक्षित भण्डारण र संरक्षणसम्बन्धी आउने गरेको गुनासोलाई सुनुवाइ गर्दै सिडविन वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जानकारी दिए।

‘किसानहरुले बीउ सुरक्षित भण्डारणको विषयमा निकै गुनासो गरेकोले बीउ सुरक्षित राख्न सहजता प्रदान गर्न सिडबिन वितरण कार्य अगाडि बढाएका छौँ,’ उनले भने।

कार्यालयले पूर्ण अनुदानमा उक्त सिडबिन जिल्लाका १० वटै स्थानीय तहमा कृषक समूहमार्फत वितरण गरेको हो। गत वर्षहरुमा पनि सिडबिनको माग अत्यधिक रहेको र कृषकको बीउ सुरक्षाको लागि प्रभावकारी बनाउने उद्देश्यले सिडबिन वितरण कार्यक्रम अगाडि बढाएको कृषि विकास कार्यालयले जनाएको छ।

विशेष गरेर गहुँ र धान खेती गर्ने किसानलाई बीउ सुरक्षित राख्नका लागि प्रभावकारी हुने भएकोले सिडबिन वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका लेखापाल गोविन्द प्रसाद सापकोटाले बताए। ‘हामीले किसानलाई अन्न भण्डारणको लागि निःशुल्क रुपमा किसानलाई सिडबिन वितरण गरेका छौँ,’ उनले भने, ‘कार्यालयले ३ लाख ७५ हजार रुपैयाँ बराबरको सिडबिन कृषकलाई वितरण गरेको छ।’

स्थानीय तहअनुसार आवश्यकतालाई मध्यनजर गर्दै किसानलाई निःशुल्क रुपमा शतप्रतिशत अनुदानमा सिडबिन वितरण गरिएको कार्यालयका प्राविधिक सहायक विश्वराज वाग्लेले बताए। सिडबिनले घुन, पुत्ला लाग्नबाट बचाउन र मुसाको क्षति हुनबाट जोगाउन सहयोग गर्ने जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.