|

काठमाडौं : व्यस्त र प्रतिस्पर्धाको समयमा मानिसलाई धेरै विषयले तनावयुक्त बनाएको हुन्छ। लामो समयसम्म तनावमा बस्दा मानिसलाई कुनै कुरामा एकाग्रता नहुने, कुनै विषयमा ध्यान नहुनुका साथै मानसिक समस्या पनि देखापर्न सक्छ। यसबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको ध्यान हो। 

ध्यान गर्नाले आफूलाई तनावमुक्त र कुनै विषयमा एकाग्र राख्न सकिन्छ। ध्यान गर्दा ब्रेनमा मानिसलाई तनावयुक्त गराउने सेरोटोनाइट नामक रसायनको उत्पादन हुने हुँदा यसले तनावमुक्त राख्नुका साथै कुनै कुराप्रति एकाग्रता कायम गर्न सिकाउने हुँदा पछिल्लो समय ध्यान गर्नेहरुको संख्या बढ्दै गएको छ।

 के हो ध्यान?

ध्यानलाई धेरैले आ-आफ्नै व्याख्या गरेको पाइन्छ। कुनै विषयमा एकाग्रता कायम गर्नुनै ध्यान हो। ध्यानले मनमा भएका नकारात्मक कुराहरुलाई सकारात्मक रुपमा रुपान्तरण गरी मनलाई शान्त राख्ने काम गर्छ।

ध्यान किन गर्ने?

ध्यानले मानिसलाई कुनै कुरा प्रति एकाग्रता हुन सहयोग गर्नुका साथै तनावमुक्त बनाउने गर्छ। यस्तै तनावको बेलामा मस्तिष्कमा कोटीसिल नामक केमीकल उत्पादन हुने गर्छ। जसले मस्तिष्कलाई कमजोर बनाउने गर्छ। तर ध्यानको बेलामा हाम्रो मस्तिष्कमा सेरोटोनोलाइट भन्ने रसायन निस्कने गर्छ। जसले मानिसलाई तनावमुक्त गराउन ठूलो सहयोग गर्छ। ध्यानले मानिसलाई तनावमुक्त गराउने हुँदा मानिसमा रक्तचाप, मुटुमा कुनै पनि प्रकारको समस्या देखा पर्न दिदैन। यसका साथै ध्यानले शरीरको मोटाबोलिजलाई समेत राम्रो गराउने गर्छ।

ध्यान कसरी गर्ने? 

धेरैले ध्यान भन्ने वित्तिकै आँखा चिम्लिएर पलेटी बसेर गर्ने चलन छ। तर ध्यान जस्तोसकै अवस्थामा पनि गर्न सकिन्छ। ध्यान आँखा चिम्लिएरै गर्नुपर्छ भन्ने पनि छैन। ध्यान गर्न पलेटी मारेर बस्नुपर्छ भन्ने पनि छैन।

शरीरको अवस्था हेरी सहज तरिकाले कुर्सी या म्याटमा बसेर पनि ध्यान गर्न सकिन्छ। तर ध्यान गर्दा हाम्रो मेरुदण्डलाई भने सिधा राख्नुपर्छ। ध्यान यतिनै समय गर्नुपर्छ भन्ने निश्चित समय अवधि नहुने हुँदा आफूलाई मिल्ने समयमा जति समय पनि गर्न सकिन्छ। दैनिक कम्तीमा पनि ५ मिनेट ध्यान गर्नु स्वास्थ्यको लागि लाभदायक मानिन्छ। तर ध्यान जति धेरै समय गर्न सक्यो त्यति नै मानिसमा तनाव कम हुने, कुनै पनि विषयमा एकाग्र हुन सहयोग पुग्ने हुन्छ। 

ध्यान कुन बेला गर्ने?

धेरैले ध्यान विहानको समयमा गर्ने गर्छन्। तर विहान मात्रै गर्नुपर्छ भन्ने छैन। बिहान, बेलुका र राति अथवा एकान्त स्थानमा कुनै पनि समय ध्यान गर्न सकिन्छ। तर अन्य समयको तुलनामा बिहानको समयमा गर्नु उत्तम मानिन्छ।

सुरुका दिनमा ध्यान गर्दा मन एकाग्र हुन नसकेमा श्वासप्रश्वासलाई गणना गर्ने काम गर्नुपर्छ। जसले ध्यानलाई केन्द्रित गर्न सहयोग गर्छ। यसरी गणना गर्दै जाँदा केही दिनमा गणना हराउँछ र श्वासप्रश्वास मात्र बाँकी रहन्छ, मानिसको मनमा शान्तभावको विकास हुन्छ। जसले गर्दा मानिसलाई तनावमुक्त बनाउनका साथै नकारात्मक भावनाक विकास हुन दिंदैन।

आफ्नो जीवनलाई सुखमय बनाउन जुनसुकै व्यक्तिले ध्यान गर्नु उपयुक्त हुन्छ। अझ जसको मन स्थिर रहदैन, मन चञ्चल छ, कुनै कुरामा एकाग्रता छैन र तनावयुक्त जीवनयापन गरिरहेका छन्। त्यस्ता व्यक्तिहरुलाई ध्यान आवश्यक छ।

योग र ध्यानबीच के भिन्नता छ?

धेरैले योग र ध्यानलाई एउटै हो भन्ने ठान्छन्। तर योग र ध्यानमा धेरै भिन्नता छ। योग एक किसिमको शारीरिक व्यायाम हो। यसको नियमित साधनाले शरीरका समस्त अंगप्रत्यंग र ग्रन्थीको व्यायाम हुन्छ, अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन्। नियमित रूपमा योगको साधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ। फलस्वरूप मानिस निरोगी बन्न सहयोग पुग्छ। योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। नियमित ध्यान गर्नाले मानिसलाई कुनै विषयप्रति एकाग्र हुन सहयोग गर्नुका साथै तनावमुक्त बनाउने हुनाले मानिसलाई मानसिकरुपमा स्वस्थ राख्न सहयोग गर्छ।

ध्यानगुरु विकास खनालसंग गरेको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.