|

सुनसरी : सुनसरीको इटहरीमा आइतबारदेखि ४२ औं राखेप च्याम्पियनसिप एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरे। एथ्लेटिक्समा नेपालका पाँच विकास क्षेत्र एवं तीन विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी धावकहरु सहित १८७ जना एथ्लेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता रहेको छ।

आइतबार पहिलो दिन भएको आठवटा प्रतिस्पर्धामा नेपाली सेनाले बर्चश्व कायम गरेको छ। सेनाले ५ वटा स्वर्ण, ६ राजत प्राप्त गरेको छ भने सशस्त्र प्रहरीले २ स्वर्ण, ४ कास्य पदक प्राप्त गरेको छ।

आइतबार सम्पन्न १० हजार मिटरको दौडमा सशस्त्र प्रहरीका धावक गोपीचन्द पार्कीले स्वर्ण, नेपाल आर्मीका गजेन्द्र राईले रजत र आर्मीकै टीकाराज कवालले कास्य पदक प्राप्त गरेका छन्। महिला तर्फको दौडमा आर्मीकै विश्वरुपा बुढाले स्वर्ण, आर्मीकै रेसु बस्नेतले रजत र सशस्त्र प्रहरीकी विन्दा श्रेष्ठले कास्य पदक प्राप्त गरेकी छिन्।

पुरुषतर्फको हाइजम्प खेलमा आर्मीका सूर्यबहादुर खत्री स्वर्ण, आर्मीकै प्रेमवहादुर सिंहले रजत र नेपाल प्रहरीका गोपाल चौधरीले कास्य पदक पदक प्राप्त गरेका छन्। त्यसैगरी पुरुषतर्फका हेम्बर थ्रो खेलमा आर्मीका जीवन चौधरीले स्वर्ण, आर्मीकै विनोद राईले रजत र पश्चिमाञ्चलका विनोद बस्नेतले कास्य पदक हात पारेका छन्।

आइतबार नै भएको ८ सय मिटर पुरुष दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण, आर्मीकै उमेश मर्साङ्गी मगरले रजत र सशस्त्रका हिम्मत घर्तीले कास्य पदक जितेका छन्। महिला तर्फको ८ सय मिटर दौडमा आर्मी ओलम्पियन सरस्वती भट्टराईले स्वर्ण, आर्मीकै सानुमाया कार्कीले रजत र सशस्त्र प्रहरीकी जानुका थापाले कास्य पदक पाएकी छन्। 

त्यस्तै पुरुष तर्फको १ सय मिटर दौडमा आर्मीका यामसाजन सुनवारले स्वर्ण, मध्यमाञ्चलका आशिष खत्रीले रजत र सशस्त्र प्रहरीका आशिष चौधरीले कास्य पदक प्राप्त गरेका छन्। एक सय मिटर दौड अन्तर्गत महिलाको दौडमा सशस्त्रकी सरस्वती चौधरीले स्वर्ण, आर्मीकी कृष्ण चौधरीले रजत तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले कास्य पदक प्राप्त गरिन्। प्रतियोगिता पर्सी मंगलबारसम्म चल्नेछ।

योग खेलकुद प्रतियोगिता हुने

नेपालमा पहिलो पटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुने भएको छ। नेपाल योग खेलकुद संघले सुनसरीको इटहरीमा आगामी माघ ४ र ५ गते प्रतियोगिता गर्ने संघका कोषाध्यक्ष एवं प्रतियोगी छनोट समितिका संयोजक मणिराज कुँवरले जानकारी दिए। पहिलो चरणमा ११ देखि १७ वर्ष, दोस्रो चरणमा १८ देखि ४९ वर्षसम्म र तेस्रो चरणमा ५० वर्षभन्दा माथिकाको छुट्टाछुट्टै प्रतियोगिता हुने उनले बताए।

प्रतियोगितामा लागि महिला र पुरुषको एकल र समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा १ सय ५० समूह सम्मलाई सहभागी गराइने संघले जनाएको छ। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहे पनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ। आठवटै चरण योगका अंग भन्ने प्रचार प्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.