|

काठमाडौं : स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले  यसै अवसरमा मुलुकका तीन शहरको सांगीतिक यात्रा गर्ने भएको छ। 

केही समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरू सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५औँ वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको बताएको छ।

पुस २८ गते झापाको दमकबाट सुरु हुने यो यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी शहरहरूको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरूको अभ्यास सुरु गरिसकेको छ। 

यात्राअन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ। त्यहाँस्थित ‘थ्री इन्क भिजन’, जय मिडिया र पूर्वाञ्चल रक्सले आयोजना गर्ने कार्यक्रम साँझ साढे पाँच बजेदेखि सुरु हुने नेपथ्यले जनाएको छ।

झापामा पहिलो शो सम्पन्न भएपछि नेपथ्य टोली नारायणघाट जाने र माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमै बेलुकी छ बजे नेपथ्य कन्सर्ट सुरु हुने बताइएको छ। त्यहाँस्थित ‘दाताज इभेन्ट म्यानेजमेन्ट’ले आयोजनाको जिम्मा लिएको छ। यसअघि पनि दुई वर्ष पहिले नेपथ्यले नदीको यही किनारमा कन्सर्ट आयोजना गरेको थियो।

यसपछि अर्को प्रस्तुति भैरहवामा हुने र त्यहाँस्थित पक्लिहवा हाई स्कुलमा बिहीबार बेलुकी छ बजेदेखि नेपथ्य प्रस्तुति हुने नेपथ्यले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसै दिन सोनाम लोसार पनि परेकाले तामाङ समुदायको नयाँ वर्ष मनाउने अवसर नेपथ्यको कन्सर्टमा हुने बताइएको छ। नेपथ्यले तामाङ भेगबाट ‘भेडाको ऊन जस्तो’लगायत थुप्रै गीतहरू संकलन गरेको छ।

भैरहवामा कार्यक्रम आयोजनाको जिम्मा ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले लिएको छ।

‘द्वन्द्वले मुलुकका विद्यालयहरू बिथोलेपछि हामीले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिका लागि शिक्षा कार्यक्रम गरेका थियौँ’, नेपथ्यका मुख्य गायक एवंअगुवा अमृत गुरुङ भन्छन्, ‘त्यस क्रममा निरन्तर खतरालाई चिर्दै मोफसलका श्रोता दर्शकहरूसँग जोडिएका हामी अहिले पनि कुनै न कुनै हिसाबले भेट्ने कोसिस गरिरहेकै छौँ।’

कन्सर्टमा दर्शकहरूका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरूमध्येबाट प्रस्तुतिका लागि चयन गरेको छ।त्यसबाहेक दशौँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेकोब्याण्डले ताजा गीतहरू पनि आफ्ना श्रोता दर्शकलाई सुनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.