शक्तिखोर र दमक विशेष प्राथमिकतामा

|

चितवन : नेपालका विभिन्न एक दर्जन स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेको छ। ती क्षेत्रमा निर्माणको काम तीब्र पारिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक चरणको आवश्यक काम सकेर अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम थालिएको छ। मुख्यगरी सामरिक महत्त्वका हिसाबले चितवनको शक्तिखोर, झापाको दकम अग्रस्थानमा रहेकाले यी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बस्नेतले बताए।

‘हाम्रो पहिलो लक्ष्य चितवन र झापा हो, त्यससँगै बाँकेको नौबस्ता र मकवानपुर हेटौँडाको मयुरधापलाई समेत प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौँ’, बस्नेतले भने।

वि.सं. २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। त्यसपछि अहिले यी चार ठाउँमा प्रारम्भिक काम सकेर डीपीआर र ईआईए गर्ने प्रक्रिया थालिएको र अन्य क्षेत्रमा अध्ययन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

नेपालको झापा जिल्लाको दमकमा दुई हजार २२० विगाहा, सर्लाहीको मूर्तियामा चार हजार विगाहा, मकवानपुर हेटौँडाको मयुरधापमा २०० विगाहा, चितवनको शक्तिखोरमा एक हजार ७४१ विगाहा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदै छ। 

यस्तै, रूपन्देहीको मोतीपुरमा ८१३ विगाहा, बाँकेको नौबस्तामा ३३८ विगाहा, कैलालीको लम्कीमा एक हजार १०० विगाहा, कञ्चनपुरको दैवीमा ९०० विगाहामा औद्योगिक क्षेत्र बनाइने अध्यक्ष बस्नेतले बताए।

सुर्खेतको साटाखानीमा एक हजार १०० विगाहा, दाङको लक्ष्मीपुरको ५०० विगाहा, गोर्खाको च्याङ्लीफाँटमा एक हजार २०० रोपनीमा औद्योगिक क्षेत्र निर्माणका लागि काम हुँदै छ।

पछिल्लो समयमा काभ्रेको पनौतीमा ७०० रोपनी र कञ्चनपुरको दोधारा चाँदनीमा ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन सुरु गरिएको छ।
चालू आर्थिक वर्षमा डीपीआर र ईआईए सक्ने गरी काम भइरहेको भन्दै उनले चार वर्षमा पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य रहेको बताए।

चितवनमा यस्तो छ निर्माणको तयारी 
चितवनको शक्तिखोरस्थित पूर्व माओवादी लडाकुको शिविर क्षेत्रको एक हजार ७४१ विगाहा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको छ। 

शक्तिखोरस्थित निर्माणाधीन औद्योगिक क्षेत्रका प्रमुख देवनारायण सापकोटाले जग्गा छुट्याउने र नापी नक्सा तयार पार्ने, रेखांकनको काम सकिएको जानकारी दिए। 

गत पुस २० गते नै डीपीआर र ईआईएका लागि सार्वजनिक सूचनासमेत जारी भएकाले माघको पहिलो साताबाटै काम सुरु हुँदै छ। तीन महिनामा डीपीआर र ईआईएको काम सक्ने गरी तयारी थालिएको छ। यसरी दुईवटा काम सकिएपछि बजेट व्यवस्थापन र निर्माणको काम थालिनेछ। चितवनमा २५ प्रतिशत मात्रै रूख काटिने र त्यसमा पनि कुकाठ पर्नेछन्। अरू सबै खाली जमिन भएकाले पनि चितवनमा सहज छ। 

चितवनको शक्तिखोर र झापाको दमकको औद्योगिक क्षेत्रको विकासका लागि चीनको टोलीले समेत सहयोग गर्ने वचन दिएको भन्दै अध्यक्ष बस्नेतले पहिले जग्गाहरू सरकारी मातहतमा ल्याउनुपर्ने आवश्यकता रहेको औँल्याए। 

चीनले प्राविधिक र आर्थिक सहयोगको वचनसमेत दिएको छ। चितवन देशकै मध्यविन्दुमा र केरुङ तथा ठोरीको बीच भागमा पर्ने भएकाले पनि प्राविधिज्ञहरूले यो ठाउँलाई उपयुक्त मानेका छन्।

अबको चार वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ।  शुक्रबार चितवनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालकै मध्यविन्दुमा रहेकाले चितवनको शक्तिखोर देशकै नमुना औद्योगिक क्षेत्र हुने उल्लेख गरे।

उनले चितवन आर्थिक विकासको राजधानी हुने दाबीसमेत गरे। चितवन उद्योग संघका नवनिर्वाचित अध्यक्ष भेषराज दवाडीले चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै महत्त्वपूर्ण क्षेत्र हुने विश्वास व्यक्त गरे।

यस्तो बन्दै छ नेपालका औद्योगिक क्षेत्र 
२०१६ सालमा बनेको जस्तो औद्योगिक क्षेत्र नभई अहिलेको वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेतको दाबी छ। कुल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ। नेपालमा अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बन्ने लिमिटेडका अध्यक्ष बस्नेत बताउँछन्। 

उनका अनुसार निर्माणमा विदेशी प्राविधिज्ञहरूको समेत सहयोग रहनेछ। २५ प्रतिशत क्षेत्रमा पार्क हुन्छ। क्षेत्रभित्रै स्कुल, खेलमैदान, अस्पताल बनाइनेछ।

औद्योगिक क्षेत्रभित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेतको भनाइ छ। आवासीय रूपमा मजदुरहरू रहने व्यवस्था हुनेछ। यी औद्योगिक क्षेत्र निर्माण भएपछि नेपालमा औद्योगिक क्रान्ति हुने  विश्वास लिइएको बस्नेत बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.