|

पर्वत : अनिच्छित गर्भाधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण पर्वतमा गर्भपतन गर्नेहरुको संख्यामा वृद्धि भएको छ।

परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ। राज्यले  बढीमा १२ हप्ता सम्मको  गर्भ गर्भवती महिलाको  इच्छानुसार पतन गराउनुलाई आकस्मिक सेवाको  रुपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रुपमा विकास हुँदै गरेको पाइएको हो।

नेपाल परिवार नियोजन संघ पर्वत शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा झन्डै एक हजारले सुरक्षित गर्भपतन गराएकोमा आर्थिक वर्ष ०७३/७४ मा भने ११ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन्।

परिवार स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन सीमा कुँवर भन्छिन्, ‘१५ देखि ४० वर्ष उमेर समूहका महिलाहरुले गर्भपतन गराउने गरेका छन्। जिल्लाभित्र रहेका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको काम हुने गरेको भए पनि सबैभन्दा बढी जिल्ला अस्पतालमै आएर गर्भपतन गराउने गरेको तथ्यांक छ।’

यद्यपि, गर्भपतन गराउनेहरुमा भने ग्रामीण क्षेत्रकै महिलाहरु बढी रहेको पाइएको छ। उनका अनुसार फलेवास नगरपालिकाको देविस्थान स्वास्थ्य चौकी, पैयुँ गाउँपालिकाको हुवास स्वास्थ्य चौकी लगायतका अन्य ग्रामीण  क्षेत्रमा रहेका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेको संख्या बढेको पाइएको हो।

सरकारी स्वास्थ्य संस्थाबाट गर्भपतन  गराउनेहरुबाहेक अवैधानिक तरिकाले निजी क्लिनिकहरुमा गर्भपतन गराउनेको संख्या पनि उत्तिकै छ। निजी मेडिकल हलहरुले गोप्य रुपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयाभह रहेको देखिन्छ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा भन्छन्, ‘कानुनले  सुरक्षित रुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले  गर्भपतन सेवा दिइरहँदा गर्भपतनलाई परिवार नियोजनको  साधनका रुपमा प्रयोग गर्दा सेवाको  दुरुपयोग भएको  छ। चेतना र स्वास् थ्य शिक्षाको  अभावको कारणभन्दा पनि लापरबाही गरेर नै महिलाहरुले  गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएका छन्।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.