|

बैतडी : बैतडीको पाटन र मेलौलीमा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा गत भदौमा किनेका एक्सरे मेसिन अझै प्रयोगमा आएको छैन।  जनशक्तिको अभावमा पाँच महिनादेखि एक्सरे मेसिन प्रयोगमा आउन नसकेको बताइएको छ।

एक्सरे मेसिन जडान गरेको दिनदेखि एक दिन पनि संचालनमा नआएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक लोकेन्द्र ऐरले बताए। ‘एक्सरे मेसिन त किनियो तर संचालन गर्न जनशक्ति नहुँदा एक दिन पनि सेवा दिन सकिएको छैन’, उनले भने।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितहरूलाई लक्षित गर्दै एक्सरे मेसिन आएको भए पनि जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको हो। ‘एक्सरे सञ्चालन गर्ने रेडियोग्राफरको दरबन्दी छैन भने अरू तालिमप्राप्त जनशक्ति पनि छैन’, उनले भने।  

उता, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि ल्याइएको एक्सरे पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ। एक्सरे मेसिन आएको पत्र मात्रै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्यो तर एक्सरे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिए। 

एक्सरे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन। ‘रेडियोग्राफरको दरबन्दी छैन, जनशक्तिकै अभावमा केशरपुरमा पनि सेवा रोकिएको छ’, उनले भने। 

नयाँ एक्सरे मेसिन किनेर पनि सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन्। ‘भएका एक्सरे मेसिनसमेत सञ्चालन नआउँदा सामान्य चोटपटक लागेको बिरामीले जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनुपरेको छ’, दयालले भने। 

अहिले जिल्लाको दशरथचन्द नगरपालिका– ४ मा रहेको जिल्ला अस्पतालबाट मात्रै एक्सरे सेवा दिइने गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ। स्वास्थ्य बीमाअन्तर्गत एक्सरे सेवासमेत राखिएको छ तर जनशक्ति अभावमा सेवा सुरु हुनसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.