|

बैतडी : मकर संक्रान्ति पर्व विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन्। यस पर्वलाई सुदूरपश्चिमाञ्चलबासी भने नरहरी पर्वको रुपमा मनाउँछन्। संक्रान्तिको अघिल्लो साँझदेखि नै मौलिक परम्परा अनुसार नरहरी पर्व मनाइन्छ। 

सुदूरपश्चिमको बैतडीलगायत नौ जिल्लामा संक्रान्तिको अघिल्लो दिन नै मिठा¬–मिठा परिकार बनाएर राख्ने चलन छ। भोलिपल्ट अर्थात संक्रान्तिका दिन विहानै नदी, तलाउ तथा जलाशयमा मकरस्नान गर्ने परम्परा छ। त्यसपछि अघिल्लो दिन पकाएको मिठा परिकार ‘का कौवा का–का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइ झा’ भनेर कागलाई बोलाएर खुवाउने गरिन्छ। सुदूरपश्चिममा कागले पुस १५ गते तीर्थमा गई स्नान गरी मकर संक्रान्तिका दिन फर्केर रोटी खाने गरेको जनविश्वास रहेको छ । 

परम्परा अनुसार नरहरीका दिन कुनै परिकार बन्दैन। एक दिन अघि नै पकाएको बासी परिकार खाने चलन रहेको सुदूरपश्चिमको संस्कृतिबारे जानकार प्राध्यापक गणेश लेखकको भनाइ छ। लेखक भन्छन् ‘यो परम्परादेखि चलिआएको चलन हो, एक दिन बासी खानेकुरा नै प्रयोग गरिन्छ।’

स्नान, दान तथा पूजा गरिएपछि आ–आफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने चलन छ। यस दिन कागलाई पूजाआजा गरेर खान नदिए पापको भागी भइन्छ भन्ने मान्यता छ। कागले लगेर लुकाएको रोटीलाई मानिसले भेटाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिने विश्वाससमेत छ।

धर्मशास्त्र अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने मान्यता रहेको छ। पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने गरिन्छ।

यस दिन तिलको होम र दान गर्नाले वा खानाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। त्यस्तै नदी तलाउमा गई शुद्ध भई सिदा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास रहँदै आएको छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । सौरमासको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने भएकाले यस समयमा यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिन्छ ।

सुदूरपश्चिमाञ्चलबासीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड मकर संक्रान्तिमा कामको सिलसिलामा घरबाहिर रहेकाहरुपनि घर फर्किने गर्छन् भने विवाहित महिलाहरु माइती घर जाने प्रचलन छ। मकर संक्रान्तिलाई आफन्त एवम् इष्टमित्रहरुसँग भेटघाट गर्ने पर्वको रुपमा पनि लिइन्छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.