|

उदयपुर : अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ। 

यस्तै युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फार्म खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन्। 

२०५५ सालमा आफ्ना बुबा मेखबहादुर कटुवाल तत्कालीन माओवादी जनयुद्धमा लागेको र २०५६ सालदेखि नै बुबा अहिलेसम्म पनि बेपत्ता भएको र घरको आर्थिक अवस्था कमजोर बनेका कारण २०६६ सालमा १९ वर्षका उमेरमा नै मलेसिया गएको विष्णु बताउँछन्। 

मलेसियामा ३३ महिना एक सुपरमार्केटमा सेल्समेनको काममा लागेको र दैनिक १८ घण्टा काम गर्दा पनि राम्रो तलब नपाएपछि आफू कम्पनी छाडेर अवैधानिक १३ महिना बसेको र सो समयमा धेरै दुःख पाउनु परेको कटुवाल बताउँछन्। 

बल्ल साहुको विदेश गएको रु डेढलाख ऋण तिरेर बाँकी ३० हजार लिएर स्वदेश फर्केपछि गाउँमा नै केही गरौँ भनेर २०७० सालदेखि एक लाख रुपैयाँ ऋणको लगानीबाट कुखुरापालन शुरु गरेका र अहिले रु १८ लाखभन्दा बढीको चारवटा कुखुरा फारम सञ्चालन गर्दै आएको कटुवाल बताउँछन्। अहिले आफ्ना चारवटा कुखुरा फारममा पाँच हजारसम्म कुखुरा रहेको र दैनिक आम्दानी रु १०\१५ हजार हुँदै आएको उनको दाबी छ। 

कटुवाल भन्छन्, 'मलेसिया बस्दा धरानको एकजना साथीसँग त्यहाँको दैनिक दुःख सहनु परेपछि स्वदेशमा नै गएर दुःख गर्ने प्रण गरेर नै दुवै फर्केपछि अहिले धरानको साथीले समेत ठूलो कुखुरा फारम सञ्चालन गर्दै आएको र आफू पनि अबको चार वर्षभित्र उदयपुर जिल्लाकै ठूलो कुखुरा फारम उद्यमी बन्ने लक्ष्य छ।' अबको चार वर्षपछि वार्षिक करोडको कुखुरा बिक्री गर्ने लक्ष्य  रहेको उनी बताउँछन्। 

अहिले आफू चारपाँच लाख ऋणमा रहे पनि २० लाख रुपैयाँबराबरको पूँजीको विकास गरिसकेको दाबी कटुवालको रहेको छ। अहिले सञ्चालन हुँदै आएका आफ्ना चारवटा फारमबाहेक अब अन्य चारवटा नयाँ फारमसमेत थपेर सञ्चालन गर्ने तयारी भइरहेको उनी बताउँछन्। 

नयाँ फारम सञ्चालन गर्न जग्गा पनि भाडामा करार सम्झौता भइसकेको र फारम निर्माण गर्न सुरु गरिसकेका कारण अब वैशाखदेखि पहिलोपटक नयाँ फारममा दुई हजार ५०० कुखुराको बच्चा हाल्ने योजना रहेको उनी बताउँछन्। 

२०७८ सालसम्ममा आफूले एक दर्जनभन्दा बढी फारम सञ्चालन गर्ने र जिल्लाकै एक नम्बर कुखुरापालक उद्यमी बन्ने लक्ष्यका साथ अगाडि बढेका कटुवालले अहिले गाउँका दुईजना युवालाई समेत रोजगार दिएका छन्। 

आफ्नो फारमको कुखुरा स्थानीय बजारदेखि कटारी बजारसम्म बिक्री हुने गरेको र अबको तीन वर्षभित्र जिल्लाका ठूलाठूला सबै बजारमा आफ्नो फारमको पहुँच पुर्याएर एक नम्बर कुखुरापालक उद्यमी बन्दै करोडपति बन्ने स्वप्नका साथ कटुवाल अहिले कुखुरापालनमा आबद्ध रहेका छन्। 

कटुवाल भन्छन्, 'आफू मात्र उद्यमी बन्ने हैन, अरुलाई पनि बन भन्ने सल्लाह र सुझाव दिने आफ्नो लक्ष्य छ, अबको दिनमा गाउँका दर्जनौँ आफूजस्ता युवालाई आफ्नो फारममा रोजगार दिनेसमेत लक्ष्य छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.