चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा कम खर्च प्रचण्डको

|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिव १० लाख रुपैयाँ खर्च गरेका छन्। पार्टी सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत जिल्ला निर्वाचन कार्यालय चितवनमा पेश गरिएको चुनावी खर्च विवरणमा प्रचण्डले ९ लाख ९४ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको जनाइएको छ।

प्रचण्डसँगै चितवन क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च ९ लाख ३९ हजार ९ सय ४० रुपैयाँ पेश भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए। 

यस्तै, क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६ सय ७३ रुपैयाँ खर्च भएको भन्दै विवरण पेश गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च १६ लाख २९ हजार १ सय ७० रुपैयाँ छ। 

क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको १४ लाख ३९ हजार ८ सय रुपैयाँ चुनावी खर्च पेश गरेका छन्। उनीसँग पराजित शिक्षाराज्य मन्त्री एवं कांंग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजार रुपैयाँको चुनावी खर्च गरेको निर्वाचन कार्यालयमा विवरण छ।

तीन निर्वाचन क्षेत्र रहेको चितवनमा ९५ जनाको उम्मेदवारी परेकोमा अहिलेसम्म ६७ जनाले मात्र निर्वाचन खर्च विवरण पेश गरेका छन्। विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार रहेको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने नियम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.