|

धनकुटा : प्रदेश नम्बर– १ को अस्थायी राजधानी विराटनगरलाई तोकिएपछि धनकुटामा आन्दोलन निकै चर्किएको छ। 

बिहीबार बिहान आधा दर्जन सरकारी कार्यालय तोडफोड भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर आन्दोलन रोक्ने प्रयास गरेको छ। प्रशासनले बिहान साढे ११ बजेदेखि अर्काे व्यवस्था नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ।

स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरो प्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। तर यसलाई आन्दोलनकारीले कफ्र्यु नै भएको दाबी गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले आन्दोलन उग्र भएपछि त्यसलाई रोक्न निषेधाज्ञा जारी गरिएको बताए। आन्दोलनका नाममा सरकारी कार्यालय तोडफोड गर्ने, सरकारी कर्मचारीलाई खोजी गर्दै आक्रमणको प्रयास गर्ने, गाडी तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भएर अश्रु ग्यास प्रहार गर्न बाध्य भयो’, उनले भने, ‘अर्काे व्यवस्था नहुन्जेल निषेधाज्ञा जारी रहन्छ।’ 

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अहिले आन्दोलनकारी ठाउँठाउँमा जम्मा भएका छन्। धनकुटा बजारका सबै पसल बन्द छन्। अहिले प्रहरीले धनकुटामा खुला रहेका औषधि पसलसमेत बन्द गराउन थालेको छ।

अवस्था हेरेर आन्दोलन गर्छौं : प्रदर्शनकारी
अहिले धनकुटा बजार क्षेत्र तनावग्रस्त छ। आन्दोलन दबाउन अत्यधिक सुरक्षाकर्मी परिचालन गरिएको छ। बजार सुनसान बनेको छ। स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको भन्दै स्थानीय घरबाट बाहिर निस्किएका छैनन्।

केही आन्दोलनकारीहरू धनकुटा अस्पतालमा जम्मा भएका छन्। बिहीबार बिहान प्रहरीको लाठी चार्जबाट घाइते भएका नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईको उपचार भइरहेकाले उनको स्वास्थ्य अवस्था बुझ्न जम्मा भएको बताइएको छ। धनकुटाबाट प्रदेशसभा क्षेत्र नं.– २ बाट निर्वाचित सांसद ईन्द्रमणि पराजुलीले अहिले जताततै सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शनकारी बाहिर निस्कन नसकेको बताए। तर अब अवस्था हेरेर आन्दोलन गरिने उनले बताए।

कुनकुन कार्यालय भए तोडफोड? 
आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय तोडफोड गरेका छन्। आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा आगो लगाएका थिए। आगलागीबाट टेबल, कुर्सीलगायत फर्निचर जलेका छन्। कार्यालयको झ्यालमा रहेको सिसासमेत फुटेको छ।

आन्दोलनकारीले डिभिजन शहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन्। उक्त कार्यालयमा रहेको को१त १०६४ नम्बरको मोटरसाइकलसमेत जलाएका छन्। उच्च अदालत विराटनगर धनकुटा इजलास, सरकारी वकिल कार्यालयको नयाँ भवनको झ्यालको सिसासमेत आन्दोलनकारीले फुटाएका छन्।

दमकल र एम्बुलेन्स पनि तोडफोड
प्रदेश नं.– १ को राजधानी माग गर्दै सुरु भएको आन्दोलन तीव्र बनेको छ। प्रदर्शनकारी हिंसात्मक बन्दै गएका छन्। आन्दोलनकारीले लगाएको आगो निभाउन गएको धनकुटा नगरपालिकाको दमकल पनि आन्दोलनकारीको निशानामा परेको छ। आन्दोलनकारीले उक्त दमकल पनि तोडफोड गरेका छन्। 

त्यसैगरी आन्दोलनकारीले एम्बुलेन्स पनि तोडफोड गरेका छन्। आन्दोलनाकारीले दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन्।

राणाकालमा प्रशासनिक गौँडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था, सामथ्र्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रदेश राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लावासीले धनकुटालाई छाडेर अन्यत्र प्रदेश राजधानी तोकेको भन्दै आक्रोशित बनेका छन्। 

सरकारले बुधबार अस्थायी राजधानीसम्बन्धमा गरेको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। धनकुटालाई प्रदेश राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उनले बताए।

प्रदेश राजधानी घोषणाका लागि पटक पटक दबाब दिँदै आएका धनकुटावासीले पछिल्लो ३४ दिनयता निरन्तर आन्दोलन गरेर बुधबारदेखि आमहडताल जारी गरेर प्रदेश राजधानी घोषणाको माग गर्दै आएका छन्, जसका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.