|

उदयपुर : उदयपुरको भित्री मधेसको चुरे वन क्षेत्रका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन्। सिमसार क्षेत्र लोप हुँदै गएपछि त्रियुगा नदी किनारमा पाइने हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका छन्। 

जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा अहिले खेती गर्न थालिएको छ। सिमसारका जग्गा अतिक्रमणमा परेर सुख्खा र उजाड बनेका छन्। सिमसार क्षेत्रमा पाइने ठूलो संख्याका पशु पंक्षीसमेत त्यही कारणले लोप हुँदै गएको स्थानीयको भनाइ छ। 

त्रियुगा नगरपालिका–४ का ७० वर्षका चक्रमणि पोखरेलले त्रियुगा नदीको सिमसार क्षेत्रमा पाइने सेतो बकुल्ला, सार, मयुर सरल जातका अति नै दुर्लभ चराहरू भेटिन छाडेको बताए। ‘सिमसार क्षेत्रमा पाइने सिम कुखुरालगायतका धेरै चराहरू हराइसके’, उनले भने, ‘सिमसार क्षेत्रमा अहिले खेती गर्न थालिएको छ, किन नहराओस् त?’

नदी किनारका सिमसार क्षेत्र अतिक्रमणमा परेपछि यी चराको वासस्थान नै लोप हुँदै गएको सत्यदेवी मावि भुल्केका प्रधानाध्यापक तिलकबहादुर कटुवालले बताए। ‘सिमसार क्षेत्र नै मासिएका कारण भ्यागुता तथा माछा नै हराउन थालेका छन्’, उनले भने, ‘जुन चरा तथा पंक्षीका आहारा थिए, ती नै हराएपछि यस क्षेत्रका पंक्षी विस्थापित भएका हुन्।’

अहिले त्रियुगा क्षेत्र चरा तथा पंक्षीविहीन शून्य बन्न थालेको छ। चौदण्डी नगरपालिका– ३ हडियाका ७६ वर्षका रामकाजी खनालले सप्तकोसी नदी हुँदै विदेशबाट आएका चरा पनि त्रियुगा क्षेत्रमा मंसिर, पुस र माघ महिनामा आउने गरेको सुनाए। ‘पहिला पहिला हिउँद लागेपछि विभिन्न चारहरू हेर्न पाइन्थ्यो’, उनले भने, ‘अहिले यहाँ पाइने चरा पनि हराइसके, उताबाट आउने पनि देखिँदैनन्।’

त्रियुगा नदी क्षेत्र आसपासमा ठूलो सिमसार भूभाग भएको स्थानीय वृद्धवृद्धाको भनाइ छ। सिमसार अतिक्रमणले सखाप भएकाले यस क्षेत्रमा पाइने पानी हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्ला पनि लोप हुँदै गएका हुन्। स्थानीय स्तरबाट संरक्षण तथा प्रवद्र्धनको कुनै पहल नभएको स्थानीयवासीको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.