एक व्यक्तिको शवदाहमा कति दाउरा खपत?

|
फोटो : Nepalgatha

  • अच्युत रेग्मी

काठमाडौं : पशुपति विकास कोषको तथ्यांक अनुसार पशुपति आर्यघाटमा दैनिक (औषत) ३० जनाको शव आउने गर्छ। दाहासंस्कारका लागि आर्यघाटमा ल्याइएका शवमध्ये आधा विद्युतीय शवदाह र आधा दाउरामा जलाइने गरेको कोषले जनाएको छ।

पशुपति विकास कोषले दाहासंस्कारको लागि आउने लास जलाउन विद्युतीय शवदाह पनि प्रयोग गर्न थालेपछि दाउराको खपत भने निकै घटेको छ। आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थक वर्ष २०७३/२०७४ मा १२ लाख केजी दाउरा खपत भएको हो।

पछिल्लो तीन आर्थिक वर्षमा दाउराको खपत

आर्थिक वर्ष

दाउराको खपत (केजीमा)

२०७१/७२

२२ लाख ७२ हजार

२०७२/७३

२८ लाख १५ हजार ४००

२०७३/७४

१६ लाख ८८ हजार ४००

प्रत्येक वर्ष दाउराको खपत बढ्दै गएको र वातवरणमा पनि नकरात्मक प्रभाव देखिएपछि पशुपति विकास कोषले दुई वटा विद्युतीय शवदाह प्रयोगमा ल्याएको थियो।

विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजकुमार रेग्मीले बताए। विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ। दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ।विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि एक घण्टासम्मको समय लाग्छ भने दाउरामा दुईदेखि तीन घण्टा लाग्ने गरेको छ। विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले बताए।

कति पर्छ दाउराको मूल्य?

पशुपति विकास आर्यघाटमा आवश्‍यक पर्ने दाउरा 'द टिम्बर कर्पोरेशन अफ नेपालले उलव्ध गराउँदै आएको छ। टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने बताउछन्।  कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ। धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो १३ रुपैयाँ र दाहसंस्कारका लागि भने प्रतिकिलो १० रुपैयाँमा दाउरा उपलब्ध गराउँदै आएको उनले बताए।

विशष्टको दाहासंस्कारमा अनिवार्य ३०० केजी दाउरा

पशुपति विकास कोषका अनुसार एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ। मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजी लाग्ने गरेको छ। तर,  पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

आर्थिक वर्ष २०७३/७४ मा झण्डै १७ लाख केजी दाउरा खपत भएको छ। जसको मूल्य २ करोड रुपैयाँ भन्दा बढी पर्न आउछ। चालु आर्थिक वर्षमा भने प्रत्येक महिना दाहराको खपत बढ्दै गएको छ।  कात्तिक मैहिनामा १ लाख ७९ हजार १८० केजी दाउरा खपत भएकोमा मसिरमा २ लाख ४७ हजार ६२० र पुसमा २ लाख २२ हजार २५० केजी दाउरा खपत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.