|
फाइल फोटो

बुटवल\हेटौँडा : शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो–डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्।

‘बुटवलमै दुई(चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भने, ‘नयाँ गाउँ÷बेलबासतिर गएर फ्ल्याट लिँदै छु।’ संसद् बैठक सुरु भएपछि केही दिन बिदा नमिल्ने भएकाले पनि बाहिरी जिल्लाका सांसदलाई आवास अनिवार्य छ।

नवलपरासी, कपिलवस्तु र पाल्पासम्मका सांसद घरबाटै आउजाउ गर्नसक्ने सम्भावना भए पनि बुटवलमै बस्ने गरी डेरा खोज्दै छन्। बुटवलमा काठमाडौंमा जस्तो सहजै फ्ल्याट नपाइएको सांसदहरू बताउँछन्।

बुटवल अस्थायी मुकाम हो। संसद्को दुईतिहाइ मतले मात्रै स्थायी मुकामको टुंगो लाग्छ। तर, धेरैजसो सांसद अब स्थायी केन्द्र पनि बुटवलमै हुने विश्वाससाथ बसोवासको व्यवस्था गर्दै छन्। प्रत्यक्ष र समानुुपातिक गरी रुपन्देहीका २० जनाबाहेक ६७ जनाका लागि बुटवलमा डेरा आवश्यक छ।

‘दुई\चार फ्ल्याट हेरेँ तर फाइनल भएको छैन’, अर्घाखाँचीकी समानुपातिक सांसद निर्मला क्षत्रीले भनिन्, ‘स्थायी बसोवास नभएकाहरू सबैले कोठा भाडामा लिनै पर्ने भो!’ फ्ल्याट खोज्दै हिँडेका सांसदले बुटवलका घरधनीले भाडा महँगो बनाएको बताएका छन्। बुटवलमा प्रतिकोठाको चार हजारसम्म भन्न थालेपछि सांसदहरू तिलोत्तमाको शंकरनगर, बुटवलकै नयाँ गाउँ\बेलवासलगायत स्थानमा डेरा खोज्न थालेका छन्।

समानुपातिक सांसद जल्पा भुसाल पनि बुटवलमै बसोवासको व्यवस्था मिलाउने तयारीमा छिन्। आइतबार काठमाडौंबाट भैरहवा आउने विमान नउडेपछि शपथबाट छुटेकी उनले सोमबार मात्रै शपथ लिएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.