|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेकपा एमाले र माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको विषय चर्को रूपमा उठ्न थालेको छ। विशेषगरी दुई पार्टीबीच पार्टी एकता, राष्ट्रिय निर्वाचन र प्रदेश सरकार गठनको विषयलाई लिएर वाम नेताहरूबीच भेटघाट तथा छलफल बाक्लिएको छ। खासगरी पछिल्लो समय एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच 'वान टु वान' भेटवार्ता बाक्लिँदै गएको छ।

पछिल्लो पटक बसेको पार्टी एकता संयोजन समितिको बैठकले पनि पार्टी एकता गर्न दुई अध्यक्षलाई थप छलफल गर्न जिम्मा दिएको छ। ओली र प्रचण्डबीच भेटवार्ता बाक्लिँदै गएपछि पार्टी एकता हुने कुरामा थप विश्वास बढ्दै गएको देखिन्छ।

दुई पार्टीबीच पार्टी एकताको चर्चासँगै अबको नेतृत्व एमाले र माओवादीका दुई अध्यक्षमध्ये कसले लिने भन्‍ने चर्चा पनि चल्न थालेको छ। पार्टी एकीकरणपश्चात् केपी ओलीले सरकारको नेतृत्व र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व लिनुपर्ने माग खासगरी माओवादी पक्षका नेताहरूको देखिन्छ।

एमालेका केही नेताहरू अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीले लिनुपर्ने बताउँदै आएका छन्। तर यस विषयमा माथिल्लो तहका नेताहरूबीच छलफल भएको देखिन्छ। दुवै पार्टीका कार्यकर्ता भने निर्वाचनमा गठबन्धन गरेदेखि नै दुई पार्टीबीच एकीकरण हुनेमा ढुक्क देखिन्छन्। 

पार्टी एकीकरणका सन्दर्भमा अहिले दुईवटा कार्यदलले काम गर्दै आएका छन्। एउटा ओली-प्रचण्ड सम्मिलित पार्टी एकता संयोजन समिति र अर्को एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठन भएको कार्यदल। शीर्ष नेताहरूको तहमा पार्टीको नीति, सिद्धान्त कस्तो बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ भने अर्को कार्यदलले भावी सरकारका नीति कार्यक्रम कस्तो बनाउने? आर्थिक विकासका सबै कार्यक्रमहरू कस्तो बनाउने भनेर काम भइरहेको छ। सँगै राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकार निर्माणका कामहरू पनि भइरहेका छन्।

सामूहिक नेतृत्वमा जाने

एमाले नेता रवीन्द्र अधिकारी पार्टी एकीकरणका सन्दर्भमा अध्यक्ष तहमा र तल्लो तहमा छलफल भइरहेको बताउँछन्। सैद्धान्तिक विषयमा अहिले मिल्ने कुरा अहिले नै मिलाएर जाने र बाँकी कुरा महाधिवेशनमा लैजाने अधिकारीको भनाइ छ। 'हामी अध्यक्षको तहमा र तल्लो स्तरमा पनि छलफल गरिरहेका छौँ', अधिकारी भन्छन्, 'मिल्ने कुरा अहिले मिलाउँछौँ र नमिलेका कुरा महाधिवेशनमा लैजान्छौँ।'

नेतृत्वको सन्दर्भमा पनि छलफल भइरहेको भन्दै उनले दुई पार्टी मिलेर बन्ने पार्टी सामूहिक नेतृत्वको हुने बताए। पदहरूका सन्दर्भमा एउटा अध्यक्ष र अर्को सर्वोच्च नेता बनाएर पनि जान सकिने उनको भनाइ छ। 'नेतृत्वका सन्दर्भमा पनि छलफल भइरहेको छ। एउटा पद अध्यक्ष र अर्को सर्वोच्च नेता हुनसक्छ', उनले भने, 'सर्वोच्च नेता पहिलो भएर अध्यक्ष दोस्रो (सेकेण्ड म्यान) हुन पनि सक्छ।' नेता अधिकारीले सर्वोच्च नेताको बरियता एक नम्बरमा पनि हुनसक्ने बताए।

सबै कुरा दुई पार्टीबीचको छलफलबाट नै टुंगिने भन्दै मर्यादाक्रम तलमाथि भए पनि दुवै पदको हैसियत समान बनाउन पनि सकिने अधिकारी बताउँछन्। उनी भन्छन्, 'अहिलेका दुई पार्टीका अध्यक्षमध्ये एक अध्यक्ष, अर्को सर्वोच्च नेता अथवा सहअध्यक्ष हुनसक्छ। त्यसको मर्यादाक्रम मात्रै तलमाथि हो। अधिकार बराबरी बनाउन सकिन्छ।'

यो पनि पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.