|

दाङ : गत आर्थिक वर्ष फागुनदेखि सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन्। राप्ती अञ्चल अस्पतालमा सञ्चालनमा  आएको फार्मेसीले ११ महिनामा करिब साढे ६ लाख रुपैयाँ नाफा गरेको छ।

गत आर्थिक वर्षको फागुनदेखि सञ्चालनमा आएको फार्मेसीले अहिले सम्म ६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको अस्पतालका फार्मेसी ईञ्चार्ज सुलभ अधिकारीले बताए। फार्मेसीमा कार्यरत कर्मचारी, आवश्यक पूर्वाधार निर्माण, यातायात खर्चलगायत खर्च कटाएर यो परिमाणमा आम्दानी गर्न सफल भएको उनले जानकारी दिए।  

अधिकारीका अनुसार आर्थिक वर्ष २०७३\०७४ को फागुनदेखि साउनसम्म दुई लाख ९३ हजार एक सय ८८ रुपैयाँ आम्दानी भएको थियो। त्यस्तै चालु आर्थिक वर्ष २०७४\०७५ को माघ सम्म तीन लाख ४५ हजार नौ सय आठ रुपैयाँ आम्दानी भएको छ। फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत भएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए।

‘अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानी बढेको छ’, फार्मेसी इञ्चार्ज अधिकारीले भने, 'सरकारी अस्पतालको फार्मेसीमा निजीमा भन्दा सस्तोमा औषधी बिक्री गरिन्छ।'

‘औषधीको प्रकार अनुसार १० देखि ४० प्रतिशत सम्म छुटमा पाइन्छ’, अधिकारीले भने, 'अहिले फार्मेसीमा करिब नौ सय प्रकारका उपलब्ध छन्।' उनका अनुसार औषधी टेण्डर प्रक्रियाबाट सहजै औषधि उपलब्ध हुने गरेको छ। सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गरिएको उनले बताए।

अहिले अस्पतालको फार्मेसीमा औषधी किन्नेको भीड लाग्ने गरेको छ। निजी अस्पतालभन्दा सस्तो पाउन औषधी पाइन थालेपछि फार्मेर्सीको काउण्टरमा घुइँचो हुने गरेको ईञ्चार्ज अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा फार्मेसी अनिवार्य गरेपछि अञ्चल अस्पतालले पनि फार्मेसी सञ्चालनमा ल्याएको थियो।

कर्मचारी अपुग
अहिले फार्मेसी सञ्चलनका लागि ४ जना कर्मचारी मात्रै कार्यरत रहेको उनले बताए।  उनका अनुसार एक जना फार्मेसी ईञ्चार्ज र अन्य तीन जना फार्मेसी असिस्टेण्ट
कार्यरत छन्। तर ती कर्मचारी फार्मेसी सञ्चालनका लागि अपुग रहेको उनले जानकारी दिए। उनले अझै एक जना फार्मेसी असिस्टेण्ट आवश्यक रहेको बताए।

मंगलबार रातिबाहेक अन्य बार २४  घण्टा सेवा प्रदान गरिरहेको र एक कर्मचारी थपिए सातै बार २४ घण्टा सेवा प्रदान गर्न सहज हुने उनको भनाइ छ।

डाक्टर सुत्ने र स्टोर कोठा एउटै
अहिले फार्मेसी सञ्चालनका लागि दुई वटा कोठा भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी ईञ्चार्ज सुलभ अधिकारीले बताए। औषधी स्टोरका लागि दुई वटा कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठाहरु आवश्यक भएको जानकारी दिए। ‘अहिले डाक्टर सुत्ने र स्टोर गर्ने कोठा एउटै छ’ उनले भने‘ हामीलाई अझै केही स्टोर रुम आवश्यक छन्।’अस्पताल विकास समितिका अध्यक्ष देवकोटाले स्टोर कोठाका लागि थप भवन निर्माण गर्न पहल थाल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.