|

काठमाडौं : काठमाडौंको न्युरोडस्थित महर्जन बिजनेस एसोसियट्स प्रालिले निर्माण गरिरहेको 'महर्जन कम्प्लेक्स' विवादमा तानिएको छ। केही समयअघि संयुक्त राष्ट्रसंघको विशेष संस्था युनेस्कोले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरअगाडि बनिरहेको महर्जन कम्प्लेक्सलाई विश्वसम्पदा क्षेत्र वरिपरि रहेकाले निर्माण नगर्न भन्दै पत्र पठाएको थियो।

तर, पुस ७ गते पुनः 'महर्जन कम्प्लेक्स विश्वसम्पदा क्षेत्रभित्र पर्दैन, निर्माण गर्न सकिन्छ' भनेर युनेस्कोले पत्र पठाएपछि सम्पदाप्रेमी र कम्प्लेक्सधनीबीच विवाद उत्पन्न भएको हो। युनेस्कोले त्यस क्षेत्रमा कम्प्लेक्स निर्माण गर्न सकिने भनेपछि काठमाडौंको मौलिक पहिचानलाई ध्यान दिँदै पुरानो शैलीमा भवन निर्माण गरिएको कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले बताए।

पुरातत्व विभागको मापदण्ड र काठमाडौं महानगरपालिकाको स्वीकृतिमा कम्प्लेक्स बनिरहे पनि यसमा अनावश्यक व्यवधान सिर्जना भएको कम्प्लेक्स धनीहरूले गुनासो गरेका छन्। 'भूमिगत तलासहित ४ तलाको भवनको स्वीकृति लिएर नियमसँगत भवन निर्माण गरिरहेका छौ्ँ,' सञ्चालक कृष्णलाल महर्जनले भने, 'सम्पदासूचीभन्दा बाहिर आफ्नै निजी सम्पत्तिमा भवन निर्माण गर्दा पनि निरन्तर दुःख दिने काम गरियो।' उक्त जमिन किन्न खोजेका र त्यस क्षेत्रमा बहालमा बसिरहेकाहरू त्यहाँबाट हटेपछि उनीहरूले नै दुःख दिने काम गरेकाे कम्प्लेक्सधनीको अाराेप छ।

उक्त कम्प्लेक्सलाई गतवर्षको १९ मंसिरमा काठमाडौं महानगरपालिकाले भूमिगतसहित ४ तलाको निर्माण स्वीकृति दिएको थियो। कम्पलेक्स निर्माण भइरहेको यसै स्थानमा पहिले रहेको क्रिस्टल होटलको उचाइ ५३.३ फिट, भूमिगत तहमा पानी ट्याङ्की र लिफ्ट रहेको कम्प्लेक्सका प्रोप्राइटर कृष्ण महर्जनको भनाइ छ। ८ तलाको क्रिष्टल होटलको भवन रहेको ठाउँमै ४० प्रतिशत भूभाग छोडेर भवन निर्माण गरिएको महर्जन बिजनेस एसोसियट्स प्रालिले बताउँदै आएको छ।

मापदण्डविपरीत पाइएपछि रोक्यौँ : पुरातत्व विभाग

यता, पुरातत्व विभागले भवन निर्माण मापदण्डअनुसार नभएको भन्दै एक वर्ष पहिले रोक्ने आदेश दिएको थियो। भवन निर्माणका लागि अनुमति दिइए पनि जुन मापदण्डअनुसार स्वीकृति दिइएको हो त्यसअनुसार निर्माण कार्य अगाडि बढेको नपाइएपछि अनुगमनपश्चात् रोकिएको पुरातत्व विभागका निर्देशक रामबहादुर कुँवरले बताए।

'हामीले उक्त भवन निर्माणका लागि स्विकृति दिएका हौँ। तर, जुन मापदण्डअनुसार भवन बनाउन दिइएको हो त्यसअनुसार भवन बनेको नपाइएपछि अहिले हामीले मापदण्डविपरीत रहेको ठहर गर्दै रोकेका छौँ' कुँवरले भने। 

विश्व सम्पदा संरक्षित क्षेत्रमा बन्ने घरको उचाइ ३५ फिटभन्दा कम हुनुपर्ने, भूमिगत तह खन्न नपाइने, ३/५ फिटभन्दा ठूला झ्याल राख्न नपाइने, घरको गारोमा इँटा देखिनुपर्नेलगायत मापदण्ड पुरातत्व विभागको भए पनि पुराना संरचना निर्माणको हकमा विभागको स्वीकृतिअनुसार साबिककै उचाइ कायम गर्न सकिने विभागको नियम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.