|

नेपालको पहिलो गणतान्त्रिक शहीद दुर्गानन्द झालाई शनिबार उनको पैतृक जिल्ला धनुषामा स्मरण गरिएको छ। उनको बलिदानी दिवसको अवसरमा विभिन्न स्थानमा उनको चर्चा र कार्यक्रम गरिएको छ।

प्रजातन्त्रलाई समाप्त गरेको झोकमा नेपाल विद्यार्थी संघका नेता दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्र माथि ९ माघ ०१८ मा जनकपुरको जानकी मन्दिरमा बम प्रहार गरेको अभियोगमा २०२० साल १५ माघ ०२० मा काठमाडौंको केन्द्रीय कारागारमा गोली हानी उनको हत्या भएको दिनको स्मृतिमा बलिदानी दिवस मनाउने गरिन्छ।

१९९९ साल वैशाख १४ मा शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो। पं. भोलानाथ झाका तीन भाई छोराहरूमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो। आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगावस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो।

घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दा पढ्दै ०१७ मा काशीदेवी झासँग उनको विवाह भएको थियो। जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशी देवीसँग भएको  थियो। एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लागेकाले घरमा एक्लै श्रीमती र वृद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो।

शहीद दुर्गानन्दको परिवारमा ०६० भदौमा वृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धांगिनी काशीदेवी झा मात्र बाँचेकी छन्। सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निःस्वार्थ त्याग र बलिदानालाई बिर्सने छैनन्। ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशी देवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे।

जटहीभन्दा करिब ३ किमी टाढा रहेको भारतको उमगाँव हाइस्कुलमा म्याट्रिकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रवासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशी देवीसँग उनको भेट महिनामा एकाध चोटिभन्दा बढी हुन सकेन। दाम्पत्य जीवन सुरु भएको १० महिना नबित्दै दुर्गानन्दसँग काशीलाई सधैँका निम्ति टाढिनुप¥यो।

५० वर्षअघिको हाम्रो समाजमा बालअवस्थादेखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन सक्छ, यसको तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ। दुर्गानन्दसित अन्तिमपटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशी देवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीँ उनी सितको अन्तिम भेट हो भन्ने कुराको जानकारीसमेत थिएन।

१ पुस ०१७ मा राजा महेन्द्रले चालेको निरंकुश कदमविरुद्ध नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो। भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भतग सिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनःस्थितिमा पुगे।

मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ। आफ्ना आमा बाबुका एक मात्र सन्तान र नवविवाहित युवक भएर पनि दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए। उमगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरूका सम्पर्कमा उनी आए। यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरू ठाउँ ठाउँमा राजाको ‘कु’विरुद्ध उत्रेका थिए।

१९ माघ ०१८ मा राजा महेन्द्रको जनकपुर सवारी हुँदा उनी चढेको गाडीमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो। जसको अगुवाइ दुर्गानन्द झाले गरेका थिए। नेपालमा राजा भनेको भगवान् विष्णुको अवतार हो भनेर जनजनमा पढाइएको थियो। राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैन थियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहसको आवश्यकता पर्थ्यो। हजारौँ सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुरधामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरू हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे। भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए।

यता, नेपालमा बम काण्डको अनुसन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहुँ कुटपिट गरी बम प्रहार गरेको स्वीकार गराउन दुष्‍प्रयास भइरहेको थियो। पक्राउ परेकाहरूलाई निर्मम यातना दिन थालियो। बम प्रहार गरी सीमापारि नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एकदिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए।

आफ्नो कारण निर्दोष नागरिकहरूले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए। राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेसनसम्ममा कसैले केही गरेन।

यसैबीच, एसपी मानबहादुर राई दर्जनौँ प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे। त्यहाँ रेल गाडीबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो। भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकोप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो। गिरफ्तारी दिएलगत्तै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्युदण्डको सजाय तोकी १५ माघ ०२० मा उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो।

फाँसीमा झुन्ड्याउनुभन्दा एकदिनअगाडि मात्र साल १४ माघमा उनकी आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिइयो। केहीबेरको भेटमा उनले आमालाई भने, नरुनुहोस् आमा, कुनै दिन तपार्इंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन्। श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए।

भोलिपल्ट १५ माघ राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुन्डयाउँदै उतार्दै गरिन्छ। त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो। सरकारले एक विशेष अदालत गठन गर्‍यो। सफाइको मौकासमेत नदिएर ०१९ साल १९ भदौ ०१९ मा मृत्युदण्डको निर्णय सुनायो। त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो।

त्यसैले मुलुकी ऐन २०२० भदौ १ मा संशोधन गरियो। विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो। १५ माघ ०२० मा  महान् क्रान्तिकारी दुर्गानन्द झालाई मध्यरातमा सुन्धारा जेलमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर हत्याराहरू पनि छक्क परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.