काठमाडौं : नेपाली कांग्रेसले प्रदेश संसदीय दल गठनको प्रक्रिया अघि बढाउन गृहकार्य सुरु गरेको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले प्रदेश संसदीय दल गठनका सम्बन्धमा गृहकार्य गर्न शीर्ष नेताबीच बैठक सुरु भएको हो।
प्रदेशसभामा कांग्रेसका सांसदहरूको भूमिका र उपस्थिति तथा संसदीय दल गठनलगायतका विषयमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
कांग्रेसले प्रदेशमा संसदीय दल कति सदस्यीय हुने, दलको नेता, पदाधिकारी र कार्यसमितिमा कति सदस्य रहने, उनीहरूको चयन कुन प्रक्रिया र पद्धतिबाट हुनेलगायत विषय समेटेर संसदीय दलको विधान तयारीको विषयमा छलफल भइरहेको हो।
प्रदेशसभाको बैठक बस्न सुरु भए पनि कांग्रेसले कुनै पनि प्रदेशमा संसदीय दल गठन गरेको छैन। प्रदेश- ३ को प्रदेशसभा बैठक बिहीबारबाट सुरु भए पनि सदनमा कुन दल सत्ता पक्ष र कुन दल प्रतिपक्षमा बस्ने भन्ने स्पष्ट भएको छैन। कांग्रेस प्रदेश १, २ र ४ मा दोस्रो दल छ भने ३, ५, ६ र ७ मा तेस्रो पार्टीको हैसियतमा रहेको छ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल संसदीय दलको नेताको हैसियत प्रदेशमन्त्री सरह हुने भएपछि कांग्रेसमा दलको नेता बन्न प्रदेश सांसदहरूको दौडधुप सुरु भएको छ। आकांक्षीको प्रतिस्पर्धा र चाहनालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ।
बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीत्रय अर्जुननरसिंह केसी, डा. रामशरण महत र पूर्णबहादुर खड्काको उपस्थिति छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।