नेता गौतमले भने- सम्बन्ध सुधारको गृहकार्य गर्न स्वराजको भ्रमण

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ। बैठकमा पार्टी एकतामा भएको प्रगतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त व्रिफिङ गरेका थिए।

बिहीबार एमाले अध्यक्ष ओलीको भक्तपुरस्थित निवास बालकोटमा बसेको बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिमण्डल गठनमा सहमति जुटाउन बनेको कार्यदलको प्रतिवेदन पनि अनुमोदन गरेको छ।

बैठकमा पार्टी एकताबारे दुई पार्टीबीच निरन्तर छलफल गर्ने सहमति भएको छ। संयोजन समितिमा हुने छलफलपछि निस्किएको निष्कर्षका आधारमा कार्यदल बनाउने बताइएको छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच भएका पछिल्लो चरणका वार्तामा पार्टी एकता प्रक्रिया सकरात्मक रुपमा अगाडि बढेको छ। 'दुई नेताले निरन्तर वार्ता गरिरहेका छन्, यस सम्बन्धमा मोटामोटी निष्कर्ष निस्किसकेपछि कार्यदल बन्छ', उनले भने, 'पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भइरहेको छलफल सकरात्मक दिशातर्फ गइरहेको छ। अझै एक-दुई पटक प्रमुख नेताहरूबीच छलफल गर्ने समझदारी भएको छ।'

बैठकमा सरकारले पछिल्लो समय गरेका निर्णयहरुका बारेमा पनि छलफल भएको थियो। नेता श्रेष्ठले दुई पार्टीले सरकारका पछिल्ला निर्णयहरु लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको भन्दै आपत्ति जनाएको बताए।

स्वराज गृहकार्य गर्न आइन्!

बैठकपछि बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भारतीय विदेशभन्त्री सुष्मा स्वराजको भ्रमणले नयाँ सन्दर्भ सुरुभएको बताए। उनले स्वराजको भ्रमणले दुई देशका सरकार र जनताबीचको सम्बन्धमा सुधार आउने बताए। उनले भने, 'भारतीय विदेशमन्त्री आउनु भएको छ, नयाँ सन्दर्भ सुरु हुँदैछ। दुई देशको सरकार र जनताबीचको सम्बन्ध राम्रो बनाउन गृहकार्य गर्न सुष्मा स्वराज नेपाल आउनुभएको छ।'

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, वर्षमान पुनलगायत सहभागी थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.