|

बुटवल : प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ।  शुक्रबार मुख्यमन्त्रीको कार्यालयसहित अरु मन्त्रालयका कार्यालयसमेत स्थापना गरिएको छ। बुटवलस्थित श्रम कार्यालयका लागि बनाइएको ६ तले भवनमा मुख्यमन्त्रीको कार्यालयसहित ४ मन्त्रालय रहने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए। 

भवनको चौथो र पाँचौँ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहने पाठकले बताए। 

यस्तै सामाजिक विकास मन्त्रालय रामनगरस्थित सीप विकास तालिम केन्द्रको प्रशासनिक भवनमा रहनेछ भने भौतिक पूर्वाधार मन्त्रालय नयाँ बसपार्कस्थित यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ।

हाटबजार लाइनमा रहेको भूमिगत जलस्रोत कार्यालयको भवनमा कृषि तथा सहकारी मन्त्रालयको कार्यालय राखिने भएको छ। मुख्यमन्त्रीको निवास राजस्व अनुसन्धान कार्यालयको भवन मिलनचोकमा हुने भएको छ। अनुसन्धानको कार्यालय नयाँ गाउँमा सारिएको छ। यस्तै, सभामुख, उपसभामुख, मन्त्रीहरुको निवासका लागि भैरहवास्थित भैरहवा लुम्बिनी भूमिगत जलश्रोतको कार्यालयमा राख्ने टुंगो लागेको छ। 

आईतबार बस्ने प्रदेश सभाको पहिलो बैठकका लागि स्थानीय व्यवस्थापन टोली र संघीय संसद् सचिवालयको टोली खटिएको छ। संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले प्रदेश सभा बैठकका लागि सबै तयारीका काम तीव्र गतिमा भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.