|

कालिकोट : डोल्पालाई यही माघभित्र नै राष्ट्रिय सडक सञ्जालसँग जोडेर डोल्पाको सिमानामा खदाङसम्म जीप चलाउने तयारी छ। त्रिवेणीबाट करवगार्ड हुँदै खदाङपारि हरियापानी पुलसम्म सडक निर्माण कार्य पूरा भएकाले माघभित्रै सडक सञ्चालन हुने भएको हो।

नेपाली सेनाले जाजरकोट–डोल्पा सडकखण्ड निर्माणको जिम्मेवारी लिएको छ। डोल्पा र रुकुमको सीमा त्रिवेणीसम्म गत वर्षदेखि जीप सञ्चालन हुँदै आएको छ। जाजरकोटदेखि खदाङ हुँदै सदरमुकाम दुनैसम्म सडक पुर्‍याउन नेपाली सेनाको नेतृत्वमा २०६० सालदेखि जाजरकोट–डोल्पा मोटरबाटो निर्माण हुँदै आएको निर्माण कार्यदलका प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए। ‘सेनाले त्रिवेणीदेखि डोल्पा र रुकुमको सीमा साङलेखोला हुँदै डोल्पाको खदाङगसम्म मोटरबाटो निर्माण गरिसकेको छ’, उनले भने, ‘अब माघभित्रै जीप चलाउने प्रयास गरिरहेका छौं।’

यस खण्डमा जीप सञ्चालन भएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालले जोडिनेछ। सडक सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकलाई सुविधा हुने निर्माण कार्यदलका प्रमुख सेनानी पहाडी बताउँछन्। ‘यातायातका साधन सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको ढुवानीमा सहज हुनेछ।’ उनले भने, ‘आर्थिक गतिविधिमा वृद्धि हुने, यात्रा सहज हुने, उपभोग्य वस्तुको मूल्य सस्तो हुनेछ।’

यस सडकको सिरिबिन्डे–त्रिपुराकोट सडकखण्डको करिब तीन किलोमिटर जति क्षेत्रमा रहेका कडा चट्टान काट्न बाँकी छ। १६ किलोमिटरको यस सडकखण्डका बीचका सजिला ठाउँमा बाटो बनिसकेको छ। बजेट अभाव नभएमा चालू आर्थिक वर्षभित्रै त्रिपुराकोटसम्म बाटो निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.